सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

झ्याप्ले खोलामा अवरुद्ध सडक खुल्यो, १७ सय सवारी काठमाडौँ  भित्रिए

सोमबार, १४ असोज २०८१, १६ : १९
सोमबार, १४ असोज २०८१

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय ७ सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरूसहित लिएर सयौँ सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए ।

त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौँबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

‘आजदेखि उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरिने छन्,’ उनले भने,‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको छ ।’

त्यसैगरी गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाएका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढी, पहिरो, डुबान तथा विपदमा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन् ।

‘आज साँझसम्म काभ्रेपलान्चोकको बिपी राजमार्ग अन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्छ,’ प्रवक्ता तिवारीले भने,‘अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्धार निरन्तर गरिरहेको छ ।’

प्रवक्ता तिवारीले मौसम पूर्णरुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

‘बिस्तारै सडक खुल्ने र खुलाउनेक्रममा छ,’ उनले भने,‘अझै पहिरो लगायत जोखिम टरिसकेको छैन ।’

अवरुद्ध सडक सुचारु गर्न सरोकारवाल निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको उनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप