सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
एन्फाको सिस्नेरी क्याम्प

देशका लागि फुटबल खेल्ने सपना बोकेका ६ जना एकसाथ अस्ताए

सोमबार, १४ असोज २०८१, १५ : ३८
सोमबार, १४ असोज २०८१

मकवानपुर । देशका लागि फुटबल खेल्ने सपना सँगालेर इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित बत्सलादेवी माद्यमिक विद्यालयमा अध्ययन र प्रशिक्षण लिँदै आएका ६ किशोरको पहिरोमा पुरिएर मृत्यु भयो ।

सो विद्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले १४ वर्ष मुनिका बालबालिकालाई आवासीय सुविधासहित फुटबल सिकाउने उद्देश्य अनुसार गत जेठबाट सो क्याम्प सुरु गरेको हो ।

फुटबलका दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य दिनभर सोही विद्यालयमा अध्ययन तथा बिहान–बेलुका अभ्यास गर्ने गरी ४० जना विद्यार्थीलाई क्याम्पमा राखिएको थियो । सिभिल इञ्जिनियरिङ विषयसमेत अध्यापन हुँदै आएको उक्त विद्यालयमा एन्फाले ३० जना छात्रलाई अध्ययन तथा फुटबल प्रशिक्षण गराउने गरी आवासीय सुविधा उपलब्ध गराएर क्पाम्प चलाएका थियो ।

२०४९ बाट सो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहँदै आएका संविधान सभा सदस्य एवं एमाले नेता सुवासचन्द्र ठकुरीको संयोजकत्वमा सो क्याम्प चलाइएको थियो । गत चैत ३० मा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवासचन्द्र ठकुरीले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

वार्षिक २६ लाख रुपैयाँ खर्च गर्नेगरी एन्फाले ४ वर्षसम्मका लागि विद्यालयसँग सम्झौता गरेको थियो । एन्फाले सो क्पाम्पका लागि एक प्रशिक्षक, एक सहायक प्रशिक्षक, एक वार्डेनको व्यवस्थासमेत गरेको थियो ।

यसका लागि बागमती प्रदेश सरकारको ८३ लाख रुपैयाँ लगानीमा विद्यालय परिसरमा छात्रावाससमेत निर्माण गरेको थियो ।

विद्यालयको भौगोलिक अवस्थिति

कुलेखानीबाट केही किलोमिटर अघि बढेपछि पुगिन्छ टेकर सिस्नेरी । टेकर नपुग्दै केही अगाडि पर्छ बत्सलादेवी माद्यमिक विद्यालय । मुख्य सडकबाट करिब १०० मिटर तल छ विद्यालयको ग्राउण्ड, जहाँ एन्फाले राखेका ४० जना विद्यार्थी दैनिक प्रशिक्षण गर्दछन् ।

ग्राउण्डसँगै विद्यालय भवन छ । सो विद्यालयमा १२ कक्षासम्म अध्यापन गराइन्छ । विद्यालयमा ६, ७ र ८ कक्षामा अंग्रेजी र नेपाली माध्यमबाट अध्यापन गराइन्छ भने कक्षा ९ देखि १२ सम्म नेपाली मध्यमबाट अध्यापन गराइन्छ । ९ देखि १२ कक्षासम्म प्राविधिक शिक्षाको समेत व्यवस्था गरिएको छ । सिभिल इन्जिनियरिङ कोर्ष अध्यापन गराइने उक्त विद्यालयको छेउमै आवास गृह छ ।

IMG-20240930-WA0074

विद्यालय भवन र आवास गृहको पछाडिबाट बग्छ कुलेखानी जलाशयको पानी । वर्षा र कुलेखानी जलाशय खोल्दामात्र सो खोलाले बेग लिन्छ । अन्यथा सो खोला सामान्य नै रहन्छ । विद्यालयको ग्राउण्डको कुनामा रहेको बाटोबाट आवतजावत गर्नुपर्ने हुन्छ ।

शनिबारको त्यो घटना, जहाँ ६ जना एक साथ पुरिए

एन्फाको सिस्नेरी क्याम्पमा रहेका ४० मध्ये ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । बाढीबाट जोगिन सुरक्षित स्थानको खोजीमा निस्किएका उनीहरूलाई सडकमाथि निस्कने क्रममा पहिरोले पुरेको थियो ।

प्रहरीका अनुसार ६ जना पुरिएको पहिरोमा सामान्य माटोको ढिस्को तथा रुखका केही जरामात्र छ । बिहीबारदेखि नै सो क्षेत्रमा वर्षा भइरहेको थियो । शुक्रबार दिउँसोसम्म सामान्य रहेको सो विद्यालयमा साँझबाट भने असहज वातावरण सिर्जना भएको सहायक प्रधानाध्यापक सुदर्शन घिमिरेले बताए ।

शुक्रबारको वर्षाले कुलेखानी जलाशय भरिने क्रममा रहेको र बाँध खोल्न सकिने भन्दै नेपाल विद्युत प्राधिकरण, कुलेखानी जलविद्युत आयोजना (प्रथम)ले सूचना जारी गर्‍यो । कुलेखानी बाँध खुल्दै छ भनेर इन्द्रसरोवर गाउँपालिका २ र ३ का नागरिकलाई सुरक्षित स्थानमा बस्न प्राधिकरणले सूचना समेत सम्प्रेषण गरेको उनले बताए । सो सूचना पश्चात् खोला छेउको होस्टल र विद्यालयमा रहेका विद्यार्थीहरू डराएको अनुभूति सहायक प्रधानाध्यापक घिमिरेले गरे ।

सो दिन विद्यालयमै बसेका उनी राति ११ बजेसम्म विद्यार्थीहरू माझ रहे । केही हुँदैन भनेर विद्यार्थीलाई सुत्न पठाएर उनी आफू पनि सुते । होस्टलमा ४० विद्यार्थी, सहायक प्रधानाध्यापक घिमिरे, एन्फाका मुख्य प्रशिक्षक मुुकुन्द थापा, वार्डेन शेरबहादुर मल्ल ठकुरी, गेट पाले लगायत थिए । विद्यालयका प्रधानाध्यापक अमृत दाहाल भने टेकरस्थित आफ्नो भाडाको कोठामा बसेका थिए ।

शनिबार बिहान झिसमिसेमै सहायक प्रधानाध्यपकको घरमा पहिरोले पानी पसेको खबर आयो । हतारिँदै घिमिरे विद्यालय नजिकैको टेकरस्थित घर पुगे । घरको पछाडि रहेको कुलोबाट पसेको तर्काएर बिहान ७ बजेको समयमा उनी पुनः विद्यालय फर्किए । उनी विद्यालय नपुग्दै पहिरो झरिसकेको थियो ।

‘बिहान ५ बजेको समयमा प्राधिकरणले कुलेखानी जलाशय भरिएको भनेर बाँध खोलिसकेको थियो । खोला चर्कोसँग सुसाइरहेको थियो,’ घिमिरेले भने, ‘खोलाको वेग हेर्न वार्डेन विद्यालयको पछाडि गएका रहेछन् । त्यही बेला विद्यार्थीहरू बाढीको डरले सुरक्षित हुन सडकतर्फ भागेछन् ।’

पहिरो खसेको स्थान काटेर २६ जना सडकमा पुगेको घिमिरेले बताए ।

७ जना विद्यार्थी पहिरोभन्दा केही पर थिए । बिचमा रहेका ५ जनालाई माटोको ढिस्कोले पुरेको थियो । पहिरोसँगैको माटोले अर्का एक विद्यार्थीको आधा शरीर पुरिएको थियो । घिमिरे, वार्डेन र पालेले तानेर उनलाई निकालेका थिए । विद्यालयमा भएको एउटा साबेलको मद्दतले पुरिएका विद्यार्थीको उद्धार गर्ने प्रयत्न गरिए पनि सम्भव भएन ।

सहायक प्रधानाध्यापक घिमिरेले बाँकी रहेका विद्यार्थीलाई टेकरस्थित आफ्नो घरमा लगेर राखे । उनले पहिरोबारे गाउँलेलाई खबर गरे । स्थानीयको सहयोगमा उद्धारको प्रयास गरे पनि पानी परिरहेकाले सम्भव भएन । उद्धारमा खटिएका थप एक जनालाई सोही स्थानमा खसेको पहिरोले आधा भाग पुर्‍यो । सबै मिलेर उनलाई पनि निकाले ।

उद्धारका प्रहरीका साथै सशस्त्र प्रहरीको कुलेखानी जलाशयको विपद् गणमा खबर गरिएको घिमिरेले बताए । ‘त्यतिबेलासम्म सिस्नेरी बजार डुबाइसकेको रहेछ । प्रहरी चौकी नै बगाएछ । प्रहरी नै माथि डाँडामा गएर बसेका रहेछन् । खोला र पहिरो छिचोल्न प्रहरीलाई कठिन भएछ । १० किलोमिटर दुरीमा रहेको सशस्त्र प्रहरी पनि पहिरोका कारण आउन सकेन,’ घिमिरेले भने ।

घिमिरेका अनुसार सिस्नेरीको प्रहरी घटनास्थलमा आइपुग्दा २ बजेको थियो । पहिरो पन्छाएर ६ जनाको शव निकालिएको उनको भनाइ छ ।

खेलाडी बस्दै आएको होस्टलमा बाढी पहिरोले कुनै असर नगरेको सहायक प्रधानाध्यापक घिमिरेले बताए । विद्यार्थीहरू सधैँ हिँड्ने बाटोबाटै सुरक्षित स्थानतर्फ गइरहेको बेलामा पहिरोमा परेको उनको भनाइ छ । होस्टल पछाडिको पर्खालबाट ५० मिटर अगाडिसम्म खोला आएको उनले बताए ।

सो घटनामा हेटौंडाका अनुपम घलान, मकवानपुरगढीका साइमन योञ्जन र इन्द्रसरोवरका दिवस बानियाँ तथा सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौँका रियान्स आचार्य र बाराका विकल रेग्मीको मृत्यु भएको थियो ।मृतकहरुको सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप