सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
बैठक

सिंहदरबारमा बैठक नै बैठक, एउटै प्रकृतिका निर्णय

सोमबार, १४ असोज २०८१, १४ : ३८
सोमबार, १४ असोज २०८१

काठमाडौँ  । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले बाढी पहिरो र डुबानमा झन्डै २ सय जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ताको सूचीमा छन् । विपद्पछिको उद्धार र राहतमा सरकारले चुस्त दुरुस्त ढङ्गले राज्य संयन्त्र परिचालन गर्न नसकेको आलोचना भइरहँदा सिंहदरबारमा भने दैनिक तीन चार वटा बैठक बसेर उस्तै र उही प्रकृतिका निर्णय गर्ने क्रम जारी छ ।

बैठक नै पिच्छे उस्तै र उही प्रकृतिका निर्णय गर्नुले पनि सरकारी संयन्त्रबिचको समन्वयको अभावलाई झल्काएको छ । लगातार बैठक बस्ने र निर्णय गर्ने क्रम जारी रहे पनि बाढी पहिरो र डुबानबाट काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा भएको जनधनको यकिन क्षतिको विवरण सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । बरु एक सातामा क्षतिको विवरण सङ्कलन गर्ने सरकारी निकायको भनाइ आइरहेको छ ।

sarbadalia-meeting

सोमबार दिनभर सिंहदरबारमा चार वटा बैठक बस्ने भएका छन् । ती बैठकको प्रधानमन्त्रीदेखि गृहमन्त्री र मुख्यसचिव सम्मले नेतृत्व गर्दैछन् । सोमबार बिहान सिंहदरबारमा पहिलो बैठक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण समितिको बस्यो ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकले बाढी पहिरो लगायतका मनसुनजन्य विपद्‌मा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने, विपतबाट प्रभावित भएकाहरूलाई आवासको प्रबन्ध गर्ने लगायतका निर्णय गर्‍यो ।

यसका साथै सहायताका लागि विकास साझेदारहरूलाई अनुरोध गर्ने निर्णय समेत सोही बैठकले गरेको छ । समितिका एक सदस्यका अनुसार संयुक्त राष्ट्रसङ्घ, रेडक्रस लगायत नेपालभित्र क्रियाशील विकास साझेदारहरूले उपलब्ध गराउने कोष परिचालन गर्ने उद्देश्य अनुसार सो निर्णय गरिएको हो ।

bipad-bebasthapan-meeting

सो बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृतक सरह मानेर परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ जोखिम न्यूनीकरण समितिको बैठक लगत्तै सोमबार नै मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा अर्को बैठक बस्यो ।

मुख्यसचिव अर्यालको अध्यक्षतामा बसेको बैठकले विपद्बाट भएको क्षति व्यवस्थापन गर्न तथा राहत र पीडितको पुनर्स्थापनाका लागि भौतिक लगायत विभिन्न मन्त्रालयका पाँच वटा टोली विपद् प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गर्‍यो । सोही बैठकले प्रधानमन्त्री राहत कोषमा नेपाल सरकारका सचिवहरूको पाँच दिनको तलब जम्मा गर्ने र अन्य मन्त्रालयले पनि आ–आफ्नो तर्फबाट सहयोग कोषमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार नै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको तेस्रो बैठक पनि बस्दैछ । दिउँसो २ बजेपछि बस्ने उक्त बैठकले के निर्णय गर्छ त्यो भने आउन बाँकी नै छ ।

devendra-meeting

केन्द्रीय सुरक्षा समितिको बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाबाट फर्केर सिंहदरबारमै मन्त्रिपरिषद्को बैठक बस्दैछ । आइतबार पनि सिंहदरबारमा दिनभरजसो विभिन्न बैठकहरू बसेका थिए । जसमा सर्वदलीय बैठकदेखि केन्द्रीय सुरक्षा समिति र अन्तर मन्त्रालयका सचिव र मन्त्रीहरूको बैठक बसेको थियो ।

आइतबारको केन्द्रीय सुरक्षा समितिको बैठकले बाढी पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, अवरुद्ध सेवा सञ्चालनसहित घाइतेहरूको निःशुल्क उपचार गर्ने लगायतका निर्णय गरेको थियो । त्यसअघि सिंहदरबारमै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा दलहरूको सर्वदलीय बैठक बसेको थियो ।

सर्वदलीय बैठकले खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै नौ बुँदे निर्णय गरेको थियो । सर्वदलीय बैठकमा पनि विपतमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने, घरबारविहीन भएकाहरूलाई आवासको प्रबन्ध गर्ने, लगायतका निर्णय गरेको थियो । शनिवार पनि सिंहदरबारमा विभिन्न बैठक बसेका थिए । शनिवारको बैठकमा पनि आइतबार र सोमबारका बैठकले भन्दा भिन्न निर्णय गरेका थिएनन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप