सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘खर्च कम गर्न नयाँ नोट छापिएन, सफा नोटले काम चलाउनुपर्छ’

सोमबार, १४ असोज २०८१, १४ : ४९
सोमबार, १४ असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंङ्कले नोट छपाइमा हुने लागत कम गर्ने र नोट व्यवस्थापनलाई सहज गर्ने उद्देश्यले यसपालि दसैँदेखि नयाँ नोटको सट्टामा सफा नोटको नीति ल्याएको बताएको छ । 

सोमबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल राष्ट्र बैंकका सह प्रवक्ता डिल्लीराम पोखरेलले नोट सटिङ गर्दा चलाउनयोग्य नोट धेरै हुने भएकाले सफा नोटको प्रयोगलाई अधिकतम बढाउनका साथै सटिङ, छपाइको लागतलाई कम गर्ने उद्देश्यले सफा नोटको व्यवस्था गरेको जानकारी दिए । 

‘पहिला नयाँ नोट मात्र सटही हुन्थ्यो दसैँमा । तर राष्ट्र बैंकले सफा नोट नीति अवलम्बन गरेको छ । बजारमा भएको नोटहरूलाई वित्तीय संस्था र राष्ट्रिय बैंकमा ल्याइसकेपछि सटिङ गर्छाै र चलाउन मिल्ने नोट एकतिर साथै नचल्ने अर्कोतिर राख्छौं । अयोग्य नोटहरू जलन गर्दछौं । सटिङ गरेका चलाउनयोग्य नोटहरू प्रशस्त मात्रमा छन,’ उनले भने,‘त्यसैले यस पटकदेखि अब योग्य सफा नोटहरूलाई किन प्रयोग नगर्ने भनेर यसपटकदेखि तीनै नोटहरू प्रयोग गरौँ भन्ने हो । जसका कारण नोट व्यवस्थापनलाई सहज हुनेभयो र नोट छपाइमा लाग्ने लागत पनि घट्ने भयो । मुख्य त भएका सफा नोटहरू अधिकतम प्रयोग गरौँ भन्ने उद्देश्यले सफा नोट सटहीको नीति ल्याएको हो ।’ 

उनले दसैँमा आम जनतामा नयाँ नोट चलाउने बानी परेपछि खिन्न लाग्नु स्वाभाविक रहेको भन्दै बिस्तारै सबैलाई बानी पर्दै जाने बताए । 

राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आज हिजो आइतबारदेखि सफा तथा सुकिला बैंक नोट सटही सुविधा सुरु गरेको हो । सोमबार पनि सफा नोट सटहीका लागि बिहानदेखि नै सवैसाधारणको भीड लागेको छ । 

दसैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेर नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने व्यस्था मिलाएको हो ।

साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । विगतका वर्षका एकपटक प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप