सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

डेढ दशकदेखि काजगमै सीमित कर्णालीको सिमेन्ट उद्योग

सोमबार, १४ असोज २०८१, १४ : १७
सोमबार, १४ असोज २०८१

सुर्खेत । नेपालका चर्चित व्यवसायी अजय सुमार्गीले पश्चिम सुर्खेतको चौकुनेमा सिमेन्ट उद्योग स्थापनाको घोषणासहित चुनढुंगा उत्खननको अनुमति लिएको डेढ दशक भइसकेको छ । तर अहिलेसम्म उद्योग स्थापनाले मूर्त रूप लिन सकेको छैन ।

२०६६ सालमा कारखाना सञ्चालनका लागि सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री इण्डष्ट्रिज प्रालिले खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खननको इजाजत लिएको थियो ।

विकासका दृष्टिकोणले निकै पछि परेको पश्चिम सुर्खेतबासी त्यसबेला सिमेन्ट कारखाना बन्ने भएपछि निकै उत्साहित थिए । मौसमी रोजगारीका लागि कालापहाड जाने गरेका स्थानीयबासी गाउँघरमै उद्योग खुल्ने भएपछि गुजाराकै लागि परदेश जानुपर्ने बाध्यता अन्त्य हुने आशमा बसे ।

कारखाना सञ्चालनमा आएपश्चात गाउँमा सडक, विद्युत्का सुविधासँगै रोजगारीका अवसर पाउने आसा पश्चिम सुर्खेतका जनतालाई थियो ।

कम्पनीले कारखाना सञ्चालनमा आएपछि २५ सय जनाले प्रत्यक्ष रोजगारी पाउने आश्वासनसमेत दिएको थियो । ०६६ सम्म पश्चिम सुर्खेत अहिलेको जस्तो थिएन । पूर्ण रूपमा वीरेन्द्रनगरसँग निर्भर थियो । गाउँमा सडकको सहज पहुँच थिएन भने विद्युत त पुग्ने कुरै थिएन ।

१५ वर्षको अवधिमा स्थानीय सरकार बने, प्रदेश संरचना निर्माण भयो । गाउँमा सडकको विकास भयो, विद्युत् पुगिसक्यो । तर पनि सुमार्गीले स्थापना गर्ने भनेको उद्योगको पूर्वाधारसमेत तयार हुन सकेको छैन ।

सुमार्गीले खानी क्षेत्र कब्जा गरेर राखेको भन्दै यतिबेला स्थानीय आक्रोशित छन् । उनले जनतालाई उल्लु बनाएर आयोजना ‘होल्ड’ गर्ने काम गरिरहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विक (विवश) बताउँछन् ।

अध्यक्ष विकका अनुसार अहिलेसम्म चौकुने गाउँपालिकाको मुकाम गुटु बजारमा एक जनाको घर भाडामा लिएर सुमार्गीले कार्यालयका लागि एउटा सानो बोर्ड राखेका छन् । तर त्यहाँ कोही कर्मचारी बस्दैनन् ।

त्यस बाहेक एउटा डोजर लगेर झण्डै ३ महिनाजति सिमेन्ट उत्पादनका लागि प्रस्तावित ठाउँ चौकुनै गाउँपालिका–६, को खानीक्षेत्र डाँडासम्म करिब १ किलोमिटर बाटो खनेको छ । हाल उक्त डोजर त्यही डाँडामा रहे पनि थप कुनै काम अघि नबढाएको अध्यक्ष विकले बताए ।

खानी क्षेत्र मुकाम गुटुदेखि उत्तर क्षेत्रमा पर्दछ । त्यहाँका चौकुने, कुवा, खोप्री, थरालगाउँ काफलगैरा, ओटपोखरी लगायतका ठाउँमा करिब ११ हजार रोपनीमा खानी क्षेत्र फैलिएको छ । कारखाना सञ्चालनका लागि कम्पनीले १ हजार ४ सय रोपनी बराबर जग्गा अधिग्रहण गर्नुपर्ने छ ।

तर अहिलेसम्म ०.५ प्रतिशत बाहेक जग्गा अधिग्रहणको कामसमेत नगरी आयोजना ‘होल्ड’ गरिरहेको अध्यक्ष विक बताउँछन् ।

‘काम गर्ने भन्दा पनि ठेक्का लगाइरहने र आयोजना होल्ड गर्ने नियतमात्रै देखियो,’ अध्यक्ष विकले रातोपाटीसँग भने, ‘हामी त सुमार्गीजीसँग आजित भइसक्यौंँ ।’

कम्पनीले सुरुमा देखाएको आश्वासनमा परेर नागरिकले जमिन खरिद–बिक्री गर्न रोके । ‘गाउँमा यति ठुलो उद्योग सञ्चालनमा आउन थालेपछि सबैले सहयोग गर्नुपर्छ भनेर सुमार्गीको आश्वासनमा परियो,’ स्थानीय जीवन देवकोटाले भने, ‘अहिलेसम्म कम्पनीले जग्गा किन्ने कामसमेत गरेन ।’

०७३ तिर स्थानीय रामबहादुर बयकको संयोजकत्वमा खानी क्षेत्र सरोकार समिति नै गठन गरेर स्थानीय विरोधमा उत्रिएपछि सुमार्गी आफैँ आएर चुनढुंगा उत्खनन् गर्ने आश्वासन दिएका थिए । त्यसपछि उनी कहिल्यै चौकुने फर्किएका छैनन् ।

cement

करिब ८ अर्ब लागत अनुमान रहेको यो आयोजना लागत, उत्पादन र क्षेत्रफलका हिसाबले देशकै ठुलो सिमेन्ट कारखाना हुने अपेक्षा थियो । खानी विभागले २०३५ देखि २०३९ सालसम्म चौकुनेको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो ।

राजनीतिको आडमा ठेक्का नवीकरण

राजनीतिक आडमै अजय सुमार्गीले काम नै नगरी खानी उत्खननको ठेक्का नवीकरण गर्दै आएको चर्चा छ । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकट मानिन्छन् ।

१५ वर्षमा धेरै पटक सुमार्गीले चौकुने खानीमा आएर अध्ययन अवलोकन गरेका छन् । पटक–पटक चौकुनेका नागरिक र पालिकालाई कारखाना सञ्चालन गर्ने आश्वासन उनले दिइरहे ।

अनुमति पाएको लामो समयसम्म प्रगति शून्य भएपछि खानी तथा भुगर्भ विभागले ०७४ मा उनको लाइसेन्स रद्द गरिदिएको थियो । त्यसविरुद्ध उनी अदालत गए । उच्च अदालत पाटनको आदेशले उनले पुनः लाइसेन्स नवीकरण गराए ।

सुर्खेतका व्यवसायी, राजनीतिक दलका नेताहरूले सुमार्गीले चौकुनेको खानी क्षेत्र कब्जा गरेर बसेको, काम अघि नबढाएको भन्दै पटक–पटक केन्द्र सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

०७६ मा एक पटक सुर्खेत आएर पत्रकार सम्मेलन गर्दै सुमार्गीले ०७७ भदौबाट प्रतिदिन ६ सय टन सिमेन्ट उत्पादन हुने दाबी गरेका थिए । तर त्यसपछि उनी न सुर्खेत आए, न उत्पादनको काम अघि बढ्यो ।

ठेक्का रद्द गर्ने पालिकाको चेतावनी

पटक–पटक भेटेर मौखिक, लिखित तरिकाले ताकेता गर्दा पनि काम अघि नबढाएपछि मुक्तिश्री इण्डष्ट्रिज प्रालिलाई पालिकाको तर्फबाट सेवासुविधा नदिने निष्कर्ष चौकुने गाउँपालिकाले निकालेको छ ।

पूर्ण रुपमा कारखाना सञ्चालन गर्ने उद्देश्य नराखेसम्म, उद्योगको काम अघि नबढाएसम्म गाउँपालिकाले दिने सेवा, सुविधा नदिने निर्णय भएको अध्यक्ष खड्ग विक (विवश) ले रातोपाटीलाई बताए ।

काम नगर्ने हो भने ठेक्का रद्द गर्नुपर्ने चेतावनी गाउँपालिकाको छ । भदौ ११ गते मात्रै चौकुने गाउँपालिकाले कम्पनीलाई अलपत्र कारखाना सञ्चालन गर्ने, नगर्ने सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अहिलेसम्म कारखाना सञ्चालन नगरेको र सञ्चालन नगर्ने नियतले अन्योलतामा पारेको देखिन्छ ।’

111

यति ठुलो आयोजना सञ्चालन हुन नसक्दा चौकुने गाउँपालिका लगायत आसपासका नागरिकको रोजगारी खोसिनुका साथै अन्य विकासमा समेत नकरात्मक असर परेको पत्रमा उल्लेख छ ।

उद्योग सञ्चालनमा ल्याउन सकिने अवस्था छ वा छैन ? यसको यथाशीघ्र तथ्यसहित जानकारी दिन र सञ्चालन गर्न सम्भव छ भने उद्योगलाई आवश्यक पर्ने दर्ता जग्गाको हकमा सरकारी नियम अनुसार अधिग्रहण प्रक्रियामा जान आग्रह गरिएको छ । साथै सरकारी ऐलानी जग्गाको हकमा एकमुस्ट जग्गा प्राप्तिको प्रक्रियामा जान हुन अनुरोध गरिएको छ ।

जवाफमा मुक्तिश्रीका अध्यक्ष अजय सुमार्गीले ९० रोपनी जग्गा खरिद गरेको, खानी सञ्चालनका लागि थप ३ सय रोपनी र सिमेन्ट कारखाना स्थापना तथा सञ्चालनका ५ सय रोपनी आवश्यक परेको भन्दै सहजीकरणका लागि सहयोग मागेका छन् ।

यद्यपि कम्पनीका तर्फबाट अहिलेसम्म चौकुनेमा कोही आएका छैनन् । यस विषयमा बुझ्न खोज्दा मुक्तिश्रीका प्रोजेक्ट कोर्डिनेटर लोकबहादुर अधिकारीले खानीको जग्गा लिने काम भइरहेको बताए । उनले भने, ‘त्यसपछि लाइनस्टोन निकाल्ने हो । त्यसपछि कारखानको प्लान्टको लागि प्रक्रिया अघि बढ्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप