सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

कोरोना र एमपक्सपछि नयाँ भाइरसको आतङ्क

सोमबार, १४ असोज २०८१, १३ : ५४
सोमबार, १४ असोज २०८१

काठमाडौँ । सन् २०२० देखि सारा विश्व कोभिड–१९ को महामारीसँग जुधिरहेको छ । अहिलेसम्म यो भाइरसले ७० करोडभन्दा बढी मानिसलाई आफ्नो सिकार बनाइसकेको छ । कोरोना भाइरसपछि विश्वभर मंकीपक्स अर्थात् एमपक्सले मान्छेको ज्यान लियो । यो आजभोलि प्रमुख स्वास्थ्य जोखिम बनेको छ । कोरोना र एमपक्सकैबिच नयाँ सङ्क्रामक रोगले स्वास्थ्य विज्ञहरूको चिन्ता बढाएको छ ।

पूर्वी अफ्रिकी देश रुवान्डामा मारबर्ग भाइरसको प्रकोप देखिएको छ । अहिलेसम्म त्यहाँ २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसका कारण ६ जनाको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदनअनुसार रुवान्डाका ३० मध्ये सात जिल्लामा भाइरसको सङ्क्रमण देखिएको छ ।

२६ मध्ये २० जना गम्भीर छन् । सबैलाई आइसोलेसनमा राखिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका करिब १६० जनाको निगरानी भइरहेको छ । अफ्रिकी देशहरूमा यसको बढ्दो खतराबारे विश्व स्वास्थ्य विशेषज्ञहरूले अलर्ट जारी गरेका छन् । मारबर्ग भाइरसलाई कयौँ मामिलामा चुनौतीपूर्ण भनिएको छ ।

यसको मृत्यु दर ८८ प्रतिशतसम्म छ जुन विज्ञहरूका लागि सबैभन्दा ठुलो चिन्ताको विषय बनेको छ । यो भाइरस इबोला परिवारको भएको विश्वास गरिएको छ ।  यसअघि पनि यसका सङ्क्रमित भेटिएका थिए । कोरोना भाइरस जस्तै यो चमेरोबाट मानिसमा सर्छ । सङ्क्रमित व्यक्तिको शरीरको तरल पदार्थको सम्पर्कमा आएका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने जोखिम हुन्छ ।

भाइरसलाई रोक्न र सङ्क्रमितमा देखिन सक्ने जटिलतालाई न्यूनीकरण गर्ने प्रयासमा सतर्क रहन डब्लुएचओले सबैलाई अपिल गरेको छ । क्लिनिकल हेरचाह र सङ्क्रमण रोकथाम र नियन्त्रणमा गम्भीर ध्यान दिनुपर्ने विज्ञहरूले बताइरहेका छन् । डब्ल्यूएचओका अनुसार हाल यो भाइरसको न त कुनै खास उपचार छ न त यसलाई रोक्न कुनै खोप नै बनेको छ ।

औषधि र इम्युनोथेरापीहरू विकास गर्ने प्रयास भइरहेका छन् । रुवान्डाको स्वास्थ्य मन्त्रालयले सङ्क्रमण फैलिन नदिन उपायहरूसँगै कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई बढाउँदै गइरहेको छ । सङ्क्रमणबाट बच्न मानिसहरूलाई सामाजिक दूरीको पालना गरिरहन सल्लाह दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप