सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेट : २३३ रनमा समेटियो बंगलादेश, मोमिनुल हकको शतक

सोमबार, १४ असोज २०८१, १३ : ४४
सोमबार, १४ असोज २०८१

काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली बङ्गलादेशले आफ्नो पहिलो पालीमा दुई सय ३३ रन बनाएको छ । दोस्रो टेस्टको चौथो दिन सोमबार बंगलादेशी टोली ७४.२ ओभरमा दुई सय रन ३३ बनाउँदै अलआउट भएको हो ।

भारतको कानपुरमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले तीन विकेटको नोक्सानीमा एक सय सात रनको स्थितिबाट चौथो दिनको खेल अघि बढाएको थियो । पहिलो दिन शुक्रबार केवल ३५ ओभरको खेल सम्भव भएको थियो ।

त्यसपछि दोस्रो र तेस्रो दिनको खेल वर्षाका कारण रद्द भएको थियो । चौथो दिन सोमबार बंगलादेशी टोलीका लागि मोमिनुल हकले शतक बनाए । उनले टोलीका लागि अविजित एक सय सात रनको योगदान गरे ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले एक सय ९४ बलको सामना गरी एक छक्का र १७ चौका पनि हिर्काएका थिए । ३३ वर्षीय अनुभवी ब्याट्सम्यान मोमिनुल हकले टेस्ट क्रिकेटमा बनाएको यो १३औँ शतक हो । उनले टेस्ट क्रिकेटमा १९ अर्धसतक पनि प्रहार गरेका छन् ।

मोमिनुल हकले अविजित ४० र मुसफिकर रहिमले अविजित ६ रनको स्थितिबाट चौथो दिनको खेल अगाडि बढाएका थिए । मुसफिकर रहिम भने ११ रन बनाउँदै आउट भए । बङ्गलादेशले पालीको निराशाजनक सुरुवात गरेको थियो ।

केवल २९ रनको कुल स्कोरमा बङ्गलादेशले आफ्ना दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । ओपनर जाकिर हसन खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । अर्का ओपनर सादमन इस्लामले भने टोलीको खातामा २४ रन थपेका थिए ।

चौथो नम्बरका क्रिज समाल्न आएका कप्तान नजमुल होसैन सान्टो पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी ३१ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान लिटन दासले १३ रन बनाए भने सकिब अल हसन पनि नौ रनमै पेभेलियन फर्किए । मेहदी हसन मिराजले टोलीको खातामा २० रन थपे । तैजुल इस्लाम पाँच र हसन महमुद एक रनमा आउट भए ।

घरेलु टोली भारतका बलर जसप्रित बुमराहले तीन विकेट लिए । आकाश दीप र रविचन्द्रन आश्विन र मोहम्मद सिराजले पनि दुई–दुई विकेट हात पारे । रवीन्द्र जडेजाले पनि एक विकेट लिए । दुई टेस्टको शृङ्खलामा भारत १–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो टेस्टमा भारत दुई सय ८० रनले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप