सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

मापसेमा परे पप ब्यान्ड बीटीएसका गायक, साढे १ करोड वन जरिवाना

सोमबार, १४ असोज २०८१, १२ : ११
सोमबार, १४ असोज २०८१

सोल । दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका सदस्य सुगा अर्थात् मिन यून–गीलाई १ करोड ५० लाख वन (११ हजार ५०० अमेरिकी डलर) जरिवाना तिराइएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर विद्युतीय स्कुटर चलाएको आरोपमा उनलाई सो रकम जरिवाना तिराइएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । सोलस्थित घर नजिकै स्कुटरबाट लडेर उठ्दै गरेको अवस्थामा अगस्टमा प्रहरीहरूले गायकलाई भेटेका थिए ।

रक्सी खाएर स्कुटर चलाएको पाएपछि उनीमाथि अभियोग लगाइएको थियो । त्यतिबेला उनको रगतमा शून्य दशमलव २२७ प्रतिशत अल्कोहल भेटिएको थियो । यो भनेको शून्य दशमलव शून्य ८ प्रतिशतको थ्रेसहोल्डभन्दा निकै धेरै थियो । यो घटनापछि गायक सुगाको लाइसेन्स खारेज गरिएको थियो । नजिकै त हो नि भन्ने सोचेर स्कुटर चलाएको र यस क्रममा आफूले नशाको सुरमा सवारी साधन चलाउन हुँदैन भन्ने कुरा बिर्सिएको उनको भनाइ थियो ।

यस घटनामा कसैलाई घाउ चोट नलागेको र कसैको सम्पत्ति क्षति नभएको भएपनि यसको सारा जिम्मा आफूले लिने भन्दै गायकले माफी मागेका थिए । यो घटनापछि सुगाले चर्को आलोचना खेप्नु परेको थियो । कतिले त उनलाई बीटीएस छाड्न समेत भनेका थिए । गएको शुक्रबार सोलको एउटा जिल्ला अदालतले गायकलाई सो जरिवाना तिराएको हो । ३१ वर्षिय गायक यतिबेला सेनामा सामाजिक सर्भिस एजेन्टका रुपमा काम गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप