सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डको ऐतिहासिक जित

सोमबार, १४ असोज २०८१, ११ : १६
सोमबार, १४ असोज २०८१

काठमाडौँ । आयरल्यान्डले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । आयरल्यान्डले आइतबार राति आबुधाबीमा खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकामाथि १० रनको रोमाञ्चक जित हासिल गर्यो ।

आयरल्यान्डले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको यो पहिलो पटक हो । यसअघि दक्षिण अफ्रिकी टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डलाई लगातार ६ पटक हराएको थियो । आयरल्यान्डको जितसँगै दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि १–१ को बराबरीमा सकिएको छ । पहिलो खेलमा दक्षिण अफ्रिका आठ विकेटले विजयी भएको थियो । अब यी दुई राष्ट्रबिच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलिने छ ।

दोस्रो टी–२० अन्तर्राष्ट्रियमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८५ रनमात्र बनाउन सक्यो ।

आयरल्यान्डको ऐतिहासिक जितमा ओपनर ब्याट्सम्यान रोस अडायरले सतकीय पाली खेले । उनले केवल ५८ बलको सामना गरी नौ छक्का र पाँच चौकाको मद्दतले एक सय रन बनाए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो सतक पनि हो ।

यसैगरी, अर्का ओपनर पल स्टर्लिङले पनि अर्धसतकीय योगदान गरे । टोलीका कप्तानसमेत रहेका स्टर्लिङले ३१ बलको सामना गरी एक छक्का र सात चौकाको मद्दतले ५२ रन बनाए । चौथो नम्बरका ब्याट्सम्यान जर्ज डकरेल पनि अविजित २० रन बनाएका थिए ।

जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्ड्रिक्स र तेस्रो नम्बरका ब्याट्सम्यान म्याथ्यू ब्रिजकेले अर्धसतीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । रिजाले ३२ बलमा एक छक्का र ६ चौकाको मद्दतले ५१ रन बनाएका थिए ।

म्याथ्यूले पनि ४१ बलको सामना गरी दुई छक्का र तीन चौकाको मद्दतले ५१ रन नै बनाए । अर्का ओपनर ब्याट्सम्यान रायन रिकेल्टनले पनि ३६ रन बनाएका थिए । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

आयरल्यान्डका बलरहरुले पनि उत्कृष्ट प्रदर्शन गरे । मार्क अडायर एक्लैले चार विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिएका थिए । अलराउन्ड प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याच पनि घोषित भएका थिए । प्लेयर अफ दि सिरिजको पुरस्कार पनि उनले नै पाए । ग्रह्याम ह्युमले पनि तीन विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप