सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
भलिबल

एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करण आजदेखि

काठमाडौँ र ललितपुरबिच उद्घाटन खेल
सोमबार, १४ असोज २०८१, १० : ११
सोमबार, १४ असोज २०८१

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ ।

प्रतियोगिता असोज १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन तीनवटा खेल हुनेछ । उद्घाटन खेल काठमाडौँ स्पाइकर्स र ललितपुर क्विन्सबिच खेलिने छ । उक्त खेल दिउँसो १५ः४५ बजे सुरु हुनेछ । राष्ट्रिय महिला भलिबल टोलीकी प्रभावशाली खेलाडी उषा भण्डारी काठमाडौँ र सलिना श्रेष्ठ ललितपुरका मार्की खेलाडी हुन् ।

पहिलो दिन नै मधेस युनाइटेड र कर्णाली यश्विजबिच दोस्रो हुनेछ । मधेस र कर्णालीबिचको खेल १७ः४५ बजे सुरु हुनेछ । पहिलो दिनको तेस्रो खेल चितवन शक्ति र गण्डकी थन्डर्सबिच खेलिने छ । उक्त खेल १७ः४५ बजे सुरु हुनेछ ।

त्यसअघि प्रतियोगिताको भव्य उद्घाटन समारोह गरिने छ । महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीमा गण्डकी थन्डर्स, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, कर्णाली यश्विज र मधेस युनाइटेड रहेका छन् ।

प्रतियोगिताको एक दिनअघि आइतबार सहभागी टोलीका कप्तान र प्रशिक्षकहरू ट्रफीसहित तस्बिर सार्वजनिक भएका थिए । प्रतियोगितामा सहभागी टोलीहरूले आफ्नो तयारी पुरा भएको जानकारी पनि दिएका छन् ।

प्रतियोगिताको फाइनल खेल असोज १९ गते खेलिने छ । फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ । सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने प्रावधान छ ।

प्रतियोगिता इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्फिनिटी ड्रिम्सले प्रतियोगिताका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग आयोजना गरेवापत इन्फिनिटीले संघलाई प्रत्येक वर्ष २५ लाख रुपैयाँ उपलब्ध गराउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप