प्रचण्डको ‘माइलस्टोन’ सम्बन्धी दाबीमाथि नेताहरू नै छैनन् विश्वस्त
काठमाडौँ । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँपछि बस्ने केन्द्रीय समिति बैठक ‘माइलस्टोन’ (कोशेढुंगा) हुने दाबी गरे । अनेरास्ववियुको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी बैठक ऐतिहासिक हुने दाबी गरेका हुन् ।
अध्यक्ष प्रचण्डले पछिल्लो समय देखा परेका समस्याविरुद्ध सदन र सडकबाट आन्दोलन गर्ने तयारी गरिरहेकाले संसदमा आफू सिंह भएर कांग्रेस–एमाले गठबन्धन सरकारविरुद्ध उभिएको बताए । दलाल प्रतिक्रियावादी शक्तिविरुद्ध बाघ बनेर प्रतिरोध गर्न उनले विद्यार्थीलाई निर्देशनसमेत दिए ।
‘हामी छिटै पार्टीको केन्द्रीय समितिको आधिकारिक र औपचारिक बैठक बस्दैछौँ । त्यो बैठक हाम्रो पार्टी इतिहासमा माइलस्टोन (कोशेढुंगा) हुनुपर्छ भन्ने सङ्कल्पसहित देशभरिका परामर्श बैठक गरेका छौँ’, सम्मेलनमा उनले भनेका थिए, ‘अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति असामान्य बन्दै गएको छ । दलाल प्रतिक्रियावादी शक्तिविरुद्ध प्रतिरोध गर्न सडक मोर्चा प्रभावकारी हुने भएकाले तपाईँहरू सडकको बाघ बन्नोस् । म सिंह भएर संसदमा निक्लेको छु ।’
प्रचण्डको उक्त अभिव्यक्तिपछि सम्मेलन हलमा विद्यार्थी प्रतिनिधिहरूले ताली बजाए । अझै हौसिँदै प्रचण्डले ‘अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रचण्ड नभए अब केही हुँदैन’ भन्ने मानोविज्ञान आफूले पाएको दाबी गरेका थिए । अब केही समयमै पार्टी एकताको नयाँ समाचार पाउने दाबी गर्दै उनले सोही अनुसार कार्ययोजना र कार्यक्रम बनाउन विद्यार्थीलाई निर्देशन दिएका थिए ।
- प्रचण्डको ‘माइलस्टोन’माथि नेताहरूकै आशङ्का
सातै प्रदेशमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठक सम्पन्न गरेर काठमाडौँ फर्किएका प्रचण्ड निकै उत्साहित देखिएका छन् । केन्द्रीय पदाधिकारी, स्थायी समिति, प्रदेशस्तरीय परामर्श समिति बैठकमा अधिकांशको मत प्रचण्डको विकल्प खोल्ने बेला नभएको भन्ने थियो ।
प्रचण्डकै नेतृत्वमा समाजवादी क्रान्तिमा जानेगरी कार्ययोजना र कार्यक्रम बनाउन उनीहरूले सुझाव दिएका थिए । शान्ति प्रक्रियामा आएपछि लामो समय सत्तामा केन्द्रित हुँदा उत्पीडित, सर्वहारा श्रमिक तथा किसान वर्ग छोडेर दलाल पुँजीपति वर्गको सेवा गरेको प्रचण्डमाथि आरोप लाग्दै आएको छ ।
२०७० को निर्वाचनपछि सानो आकारमा पार्टी खुम्चिँदै जाँदासमेत चेत नखुलेकोमा परामर्श समितिको बैठकमा नेतृत्वको कडा आलोचना भएको थियो । वर्ग भुलेर कहिले कांग्रेस र कहिले एमालेसँग मिलेर साढे दश वर्ष प्रचण्ड सत्तामा रहँदा पार्टी बिग्रिएको अधिकांश नेता तथा कार्यकर्ताको आरोप थियो ।
पार्टी बलियो बनाउने भए पहिला नेतृत्व रूपान्तरण हुनुपर्ने, वर्ग केन्द्रित समाजवादी कार्ययोजना र कार्यक्रम ल्याउन सुझाव दिएका थिए । साउनको अन्तिम साता बसेको पार्टीको स्थायी समिति बैठकमा माओवादी आन्दोलनको कमजोरी, पार्टी निर्माण तथा नेतृत्वको विकल्प सम्बन्धमा उपमहासचिव जनार्दन शर्माले १४ बुँदे प्रतिवेदन नै पेस गरेका थिए ।
केन्द्रीय पदाधिकारीदेखि सबै प्रदेशको परामर्श समिति बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रचण्डले ‘कि सकिने, कि सच्चिने’ अवस्थामा माओवादी आन्दोलन रहेकाले अब पुरानो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको उपमहासचिव हरिबोल गजुरेलले बताए । तर अझै उनको बोली अनुसार व्यवहारमा विश्वास गर्ने अवस्था नरहेको गजुरेल बताउँछन् ।
‘पहिलाको जस्तै कुरामात्र उठ्ने हो कि कार्यान्वयन हुन्छ भनेर प्रश्न उठेका थिए । जवाफमा अध्यक्षले पहिलाको जस्तो हुँदैन भन्नुभएको छ । देश र पार्टी सङ्कटमा छ । हिजोको तरिकाले देश चल्दैन र पार्टी पनि चल्न सक्दैन,’ रातोपाटीसँग गजुरेलले भने ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण नेपालको राजनीति जुन ठाउँमा उभिएको, त्यसले समग्र वामपन्थी, कम्युनिस्ट अझै माओवादी आन्दोलन पेचिलो मोडमा रहेकाले फेरि एकपटक उनलाई विश्वास गर्नुपर्ने उपमहासचिव गजुरेलको भनाइ छ ।
माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पनि पार्टीभित्र अहिले प्रचण्डको विकल्प नभएको तर्क गरे । विचारको संश्लेषण गरी समाजवादी लक्ष्य पूरा गर्न आगामी केन्द्रीय समिति बैठक महत्त्वपूर्ण हुने उनले दाबी गरे । प्रचण्डकै नेतृत्वमा सम्पूर्ण वामपन्थी शक्तिहरू गोलबन्द हुने परिस्थिति बन्दै गएको सापकोटाले जिकिर गरे ।
‘पार्टी निर्माण र विचारको संश्लेषण गर्न परामर्श समिति बैठकमा महत्त्वपूर्ण सुझाव आएका छन् । यसपटक हामीले जनवादी केन्द्रियताको आधारमा पार्टी निर्माण र विचारको विकासबारे विस्तृत बहस गरेका छौँ’, उनले भने, ‘प्रचण्डको विकल्प कसैले पनि खोजेका छैनन् । उहाँकै नेतृत्वमा सम्पूर्ण सम्पूर्ण वामपन्थी शक्ति गोलबन्द हुने परिस्थिति बन्दै गएको छ । समाजवादी कार्यदिशा कार्यान्वयनका लागि अब बस्ने केन्द्रीय समिति बैठक महत्त्वपूर्ण हुनेछ ।’
प्रचण्ड तिनै पात्र हुन्, जो ०४६ को राजनीतिक परिवर्तनबाट सर्वहारा श्रमिक र किसान वर्गको राज्यसत्ता स्थापित नहुने निष्कर्षमा पुगे । ०५२ सालमा तत्कालीन शाही सत्ताविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गरे । ०६२ मा दीर्घकालीन जनयुद्ध अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा उनी अवतरण गरे । जनयुद्धको जगमा भएको १९ दिने दोस्रो जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढल्यो । संविधान सभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । सङ्घीयता, गणतन्त्र, समावेशी लोकतन्त्र लगायत प्राप्त उपलब्धि माओवादी आन्दोलनको उपज भएको प्रचण्डले दाबी गर्दै आएका छन् । सबैतिरबाट पार्टी रेडजोनमा रहेकाले जनतामा फर्किनुको विकल्प नभएको गजुरेलले बताए ।
कांग्रेस र एमाले मिलेर रातारात आफ्नो नेतृत्वको सरकार ढालेपछि आत्तिएका प्रचण्ड बाध्यताबस फेरि जनतामा फर्किन सक्ने गजुरेलको अनुमान छ । युद्धकालमा जस्तै पेचिलो मोडमा माओवादी आन्दोलन पुगेकाले समाजवादी कार्ययोजना र कार्यक्रममा ढाल्नुको विकल्प नभएको उनले दाबी गरे ।
‘यसपटक उहाँ पूर्व–पश्चिम, उत्तर–दक्षिण सबै ठाउँमा पुग्नुभयो । स्थानीय नेता तथा कार्यकर्ताका कुरा प्रत्यक्ष सुन्नुभयो । हामीले पनि पटकपटक ध्यान केन्द्रित गर्यौँ । सबैको कुरा सुनेपछि उहाँ उत्साहित हुनुभएको छ । यस्ता बहसले नेतृत्वलाई झकझकाउँछ । पूर्व–पश्चिम सबैतिर घुमेपछि आउने चेतना हो’, प्रचण्डबारे गजुरेलले भने ।
यद्यपि नेतृत्वको टिमबारे समग्र कार्ययोजना निष्कर्षमा नपुगिसकेकाले अहिले केही भन्न नसक्ने अवस्था रहेको गजुरेलको भनाइ छ । योजना बनेपछि टिम कस्तो बन्छ वा बनाउनुपर्छ भन्नेबारे बहस हुने उनले स्पष्ट पारे ।
अब एकता प्रक्रियामा अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले सबै माओवादी घटकहरूलाई सम्बोधन गर्नु माओवादीको दायित्व भएको उनको भनाइ छ । त्यसका लागि विप्लव र महिन्द्र राय यादव नेतृत्वको पार्टीसँग छिटै एकता हुने र अन्य वामपन्थी शक्तिसँग सहकार्य हुने गजुरेलले दाबी गरे ।
- कहाँ बिग्रियो माओवादी ?
पार्टी नेतृत्वको दलाल पुँजीवादी शक्तिसँगको सङ्गत र शान्ति प्रक्रियामा आएपछि पनि युद्धकालीन पार्टी संरचनाका कारण माओवादी बिग्रिएको उपमहासचिव गजुरेलको तर्क छ ।
‘शान्ति प्रक्रियामा आएपछि लामो समय दलाल पुँजीपति वर्गसँगको सङ्गत र परिवेशले केही कमजोरी पनि भएका छन् । अब हामी वर्गतिर फर्किन पर्छ । माओवादीको कमजोरीबारे प्रचण्डले संसदमा बोलिसकेका छन् । त्यसका आधारमा उहाँ रुपान्तरणतिर लागिरहनुभएको छ’, उनले भने । छिटै माओवादी आन्दोलन धारशायी भएकोमा थप व्याख्या गर्दै गजुरेलले भने, ‘हामी बिग्रिएको युद्धकालीन संरचनाले हो । त्यसलाई यथावत राखेर अगाडि बढ्यौँ । ब्लण्डर कहाँ भयो भने समाजवादउन्मुख संविधान बनेर समाजवादी कार्यदिशा बनिसकेपछि गाउँबाट सहर सुरु भयो । पूर्व वा मधेस सिफ्ट भयो है भनेर घोषणा गर्यौँ । त्यहीअनुसार कार्ययोजना र कार्यक्रम बनाउनुपर्ने थियो । तर हाम्रो प्राथमिकता पुरानै आधार क्षेत्र भयो । सहर बजारमा हामी छैनौँ अब ।’
सहरमा संगठन बलियो बनाउन नेतृत्वले दुई कुरामा ध्यान दिनुपर्ने उनले बताए । ‘पहिलो कुरा सहर, पूर्वीक्षेत्र, मधेस पार्टी निर्माणको केन्द्र हो । यो क्षेत्रमा मजदुर प्रमुख हो । किसान सहायक हो । हिजो जनयुद्धमा किसान प्रमुख थियो । सहरिया मजदुर वर्ग सहायक थिए,’ उनले भने, ‘समाजवादमा जान सहरिया साना पुँजीपति र श्रमिकहरू मुख्य हुन् । बौद्धिकमा मध्यम वर्ग आवश्यक छ । त्यसलाई प्राथमिकता दिनुपर्छ ।’
सोही अनुसार कार्ययोजना र कार्यक्रम बनाउनुपर्नेमा जुन वर्गलाई लिएर हिँड्नुपर्थ्यो, त्यही बाटो भुलेपछि कहाँबाट रुपान्तरण हुन्छ भन्ने उनको प्रश्न छ ।
दोस्रोमा एमालेसँग पार्टी एकता गर्दा चुकेको गजुरेलको भनाइ छ । ‘गठबन्धन गर्नसम्म ठिक थियो । त्यतिबेला माओवादीको हाइट पनि थियो । प्रचण्डको हाइट पनि ह्वात्तै बढेको थियो । एकता गरेपछि हामीमाथि प्रश्न उठ्यो,’ उनले भने, ‘माओवादीले आफ्नो पहिचान गुमायो भन्ने भयो । त्यो एकता पनि टिकेन । पछिल्लो समय पनि सम्बन्ध बिग्रियो । यसमा रियलाइज गर्नुपर्छ ।’
गठबन्धनका लागि जतिबेला पनि तयार हुन सकिने तर पार्टी एकता गर्नुचाहिँ गलत थियो भन्ने गजुरेलको तर्क छ । ‘यति गर्न सकिएमा माओवादी बलियो हुन्छ । एमालेसँग सहकार्य गर्दा पहिचानको मुद्दा ओझेलमा पर्यो,’ उनले भने, ‘ऊ पहिचान विरोधी शक्ति हो । ऊ यसबारे सुन्न पनि चाहँदैन । हिजो हाम्रो स्वायत्त मोर्चा थिए, ती अहिले पेण्डुलम भए ।’