सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

समयले नै मलाई हिरो बनायो

सोमबार, १४ असोज २०८१, ०८ : ४५
सोमबार, १४ असोज २०८१

काठमाडौँ । फिल्म चले सिङ्गो युनिटले जस लिने, नचले कलाकारलाई दोष थुपार्ने परम्परा फिल्म उद्योगमा छ । अभिनेता जितु नेपाल त्यो दोष आफूमाथि नपरोस् भन्ने चाहन्छन् । त्यसैले उनी फिल्म ‘ज्वाइँ साब’को प्रचारमा भरपुर मेहनत गरिरहेका छन् ।

‘ज्वाइँ साब’ उनको केन्द्रीय भूमिका (हिरो) रहेको दोस्रो फिल्म हो । यो फिल्म फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी उत्साहित छन् ।

आफूमाथि लगानी गरेका निर्माता निराश हुन नपरोस् भन्ने सोचेर कता–कता डर पनि लागिरहेको जितु बताउँछन् । विषयबस्तु अनुसार कलाकार फिट भए कि भएनन्, अभिनय राम्रो भयो कि भएन भन्ने चिन्ता फिल्म निर्माणकै समयमै लिनुपर्ने उनको धारणा छ ।

जितु फिल्मको प्रचारमा विभिन्न मिडिया, सार्वजनिक कार्यक्रममा दौडिरहेका छन् । फिल्मको प्रचारका लागि सार्वजनिक गरिएको टिजर, गीत लगायतले सामाजिक सञ्जाल तताइरहेको छ ।

‘अहिले फिल्मको प्रचार मिडिया र सामाजिक सञ्जालमा राम्रो भएको छ । सबैले चासो दिएका छन्’, जितुले भने, ‘प्रचारका लागि हामी मोफसल निस्कन सकेका छैनौँ । मौसम पनि खराब छ । मोफसल निस्कने प्रयास भइरहेको छ ।’

जितु हिरोको रूपमा पहिलो पटक फिल्म ‘ह्यारीकी प्यारी’मा देखिएका थिए । यद्यपि फिल्म व्यावसायिक रूपमा त्यति सफल भएन । त्यसैले जितुलाई यो फिल्म सफल बनाउनुपर्ने प्रेसर छ ।

‘ह्यारीकी प्यारी’ अर्कै जनराको फिल्म रहेको जितुले बताए । त्यसमा मुख्य कलाकारमा आफूमात्र रहेको तर ‘ज्वाइँ साब’मा हिमेश पन्त, बुद्धि तामाङ, नीति शाह पनि रहनु सकारात्मक पक्ष भएको उनको भनाइ छ ।

रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल लगायत थुप्रै कलाकारले गर्दा फिल्म फ्यामिली प्याकेज बनेको र यस फिल्मबाट दर्शक निराश नहुने विश्वास लिएको जितु बताउँछन् ।

बसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’को प्रस्तुतकर्ता राजकुमार पण्डित, मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ हुन् ।

  • ‘म ज्वाइँ साब’

‘ज्वाइँ साब’को नामबाटै अनुमान गर्न सकिन्छ फिल्ममा ज्वाइँ र ससुरालीको कथा छ भन्ने । फिल्म पूर्ण कमेडी र सबैका घरको कथामा बनेको जितु बताउँछन् ।

‘फिल्ममा मेरो गम्भीर भूमिका छ । अलिकति पीडित, दुःख पाएको समाजभित्रकै एउटा पात्र’, उनले भने, ‘विभिन्न परिवेशले मलाई ज्वाइँ हुन बाध्य बनाउँछ ।’

फिल्मको थिमबारे जितुले भने, ‘मानिस केही चिज पाउन मरिहत्ते गर्छ तर पाउँदैन । अब चाहिँदैन भनेपछि त्यो कुरा प्राप्त गर्छ ।’

फिल्ममा कमेडी, भावुकता र सन्देश रहेको खुलाउने उनी  फिल्मको हिरोमा आफू सुहाउने भएकाले रोजाइमा परेको धारणा राख्छन् ।

जितुका अनुसार फिल्मले ज्वाइँलाई हेर्ने परम्परागत दृष्टि त पस्किन्छ नै, त्यसको अलावा ससुरालीप्रति ज्वाइँको दायित्व पनि झल्काउँछ ।

फिल्ममा जितुको जोडीमा अभिनेत्री नीति शाह छिन् । नीतिसँग शारीरिक रूपमा आफ्नो जोडी नसुहाउने पनि उनले बुझेका छन् । तर नमिलेकै जोडी भएकाले पनि फिल्म बनेको उनले खुलाए ।

फिल्मको कथामा नीतिसँग आफू परफेक्ट सुहाएको उनले पाएका छन् । जसको एक उदाहरण फिल्मको गीत ‘कसम बत्ती’को हो रे । ‘गीतको चर्चाले पनि हाम्रो जोडी राम्रो देखिएको अनुमान गर्न सकिन्छ,’ जितुले भने ।

  • समयको हिरो

पहिलो फिल्ममै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीसँग जोडी बाँधेका उनी दोस्रो फिल्ममा नीति पर्नु आफ्नो भाग्य ठान्छन् । पहिलेदेखिको संघर्ष र भाग्यले यस्तो अवसर मिलेको उनको बुझाइ छ । यो सबै दर्शकको मायाको प्रतिफल पनि ठान्छन् उनी ।

कमेडी कलाकारबाट फिल्मको हिरोमा जम्प गरेका जितुले कमेडी विषयलाई लिएर फिल्म बनेकै कारण आफूले यस्तो अवसर पाएको बताए । उनले भोलिका दिनमा पनि कमेडी नै गर्ने सोच रहेको प्रस्ट पारे ।

उनले भने, ‘कलाकारितामा लामो समयदेखिको मेहनत देखेर भगवानले मलाई प्रतिफलका रूपमा हिरोको भूमिका दिलाएका हुन् ।’

आफू एउटा कलाकार रहेका कारण जस्तोसूकै भूमिकामा अभिनय गर्न सक्नुपर्ने उनको भनाइ छ । ‘फिल्मको हिरो अहिले विषयबस्तु हो । जसले नयाँ र फरक कलाकारलाई मुख्य भूमिकामा उभ्याइरहेको छ,’ उनले भने ।

कमेडी कलाकारको रूपमा भन्दा हिरोको रूपमा अभिनय गर्न गाह्रो भएको उनको अनुभव छ । आगामी दिनमा जस्तोजस्तो भूमिका आइपर्छ, त्यस्तै रूपमा अगाडि बढ्ने उनको योजना छ ।

  • एउटै मितिमा तीन फिल्म

अहिलेसम्मको रिलिज तालिका अनुसार फूलपातीमा जितुको ‘ज्वाइँ साब’को अलावा ‘१२ गाउँ’ र ‘छक्का पन्जा ५’ पनि रिलिज हुँदैछ । यो मितिमा फिल्म प्रदर्शन गर्ने घोषणा सबैभन्दा पहिले ‘छक्का पन्जा ५’ले गरेको थियो । त्यही भएर पनि ‘छक्का पन्जा ५’सँग भिडाउन ‘ज्वाइँ साब’ ल्याएको आरोप जितुमाथि छ ।

कतिपयले दीपकराज गिरी र दीपाश्री निरौलाले आफ्नो क्याम्पबाट जितुलाई हटाएका कारण जानाजान जितुले फिल्म जुधाएको आरोप पनि लगाइरहेका छन् । जितु फिल्म जुध्नमा आफ्नो हात नभएको बताउँछन् ।

फिल्मको निर्माता, निर्देशक आफू नभएकाले फिल्म कहिले रिलिज गर्ने भन्ने अधिकार आफूमा नरहेको उनले बताए ।

‘दसैँमा धेरै बिदा छ । फिल्म रिलिजका लागि राम्रो मानिन्छ’, जितुले भने, ‘निर्माता निर्देशकले लगानी उठाउने सम्भावना देखेर यो मितिमा ल्याएको हुनसक्छ ।’

सुरक्षित हुन निर्माताले राम्रो मिति रोज्नु स्वाभाविक हुने उनको भनाइ छ । उनले भने, ‘अहिलेमात्र फिल्म जुध्न लागेको हो र ?’

जितुले आफु अहिलेको अवस्थामा आइपुग्न दीपक–दीपा र ‘छक्का पन्जा’को महत्त्वपूर्ण योगदान रहेको बिर्सिएका छैनन् । ‘भोलिका दिनमा फेरि त्यो टिमसँग सहकार्य हुनसक्ने उनको भनाइ छ । छक्का पन्जा टिमसँग आफूलाई व्यक्तिले भन्दा पनि समयले अलग बनाएको उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप