सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
छिमेक

स्थापनाको ७५ वर्षमा चीन कसरी बन्यो शक्ति राष्ट्र ?

सोमबार, १४ असोज २०८१, ०७ : ४३
सोमबार, १४ असोज २०८१

काठमाडौँ । यस वर्षको जुनमा सम्पन्न शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको ७०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले भनेका थिए, ‘चीनको शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्ने सङ्कल्प परिवर्तन हुने छैन । हामी कहिल्यै उपनिवेशिक लुटमारको बाटो लिने छैनौँ, न त बलियो हुँदा प्रभुत्व खोज्ने गलत बाटो लिनेछौँ । हामी सधैँ शान्तिपूर्ण विकासको सही बाटोमा अडिग रहनेछौँ ।’

चीनका राष्ट्रपति सीका यी भनाइ विगत ७५ वर्षमा चीनले गरेको प्रगतिको अभिव्यक्ति पनि हो । चीनले आगामी अक्टोबर १ मा जनवादी गणतन्त्र स्थापना गरेको ७५ वर्ष पूरा गर्दैछ । यो ७५ वर्षमा चीनले गरेको प्रगतिबारे चौतर्फी चर्चा भइरहेको छ । ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा चीनले विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।

GYjR83Na8AAqh4t

नेपालस्थित चिनियाँ दूतावासले पनि विभिन्न कार्यक्रम गरी चीन स्थापना भएको ७५ औँ दिवस मनाइरहेको छ । सो अवसरमा असोज ११ गते चिनियाँ दूतावासले आयोजना गरेको कार्यक्रममा चीनका राजदूत चेन सोङले चिनियाँ कम्युनिस्ट पार्टीले विगत ७५ वर्षमा प्रमुख चुनौती, जोखिम, अवरोध र अन्तर्विरोधबाट चिनियाँ जनतालाई मार्गदर्शन गरेको उल्लेख गर्दै यसले चीनको सुरक्षा र विकासको स्थिरताका साथै प्रतिस्पर्धात्मकता, विकास र दिगोपनमा पनि निरन्तर सुधार गरेको धारणा राखेका थिए ।

चीनमा एक लाख ६० हजार किलोमिटर रेलमार्गको सपना साकार भएको उल्लेख गर्दै उनले नयाँ युगको प्रारम्भदेखि हालसम्म चीनले गरिबीविरुद्धको ऐतिहासिक लडाइँ जितेको दाबी पनि गरे ।  

राजदूत चेन सोङले राखेको भनाइजस्तै ग्लोबल टाइम्सले प्रकाशन गरेको एउटा रिपोर्टमा ७५ वर्षमा चीनले आफूलाई एक गरिब र पछौटे देशबाट मध्यम समृद्ध समाजको रूपमा रूपान्तरण गरेको उल्लेख छ । चीनको जीडीपी सन् १९५२ मा ६७.९ अर्ब युआन (९.६७ अर्ब डलर) बाट २०२३ मा १२६ ट्रिलियन युआन पुगेको छ, जसले विश्व अर्थतन्त्रको लगभग १७ प्रतिशत ओगटेको छ । राष्ट्रिय आर्थिक उत्पादन २२३ गुणाले बढेको छ भने प्रतिव्यक्ति जीडीपी १९५२ मा ११९ युआनबाट २०२३ मा ८९ हजार युआनभन्दा बढी भएको छ ।

GYjR85DasAIWE8I

  • संयुक्त राष्ट्र संघमा चीन

संयुक्त राष्ट्र संघ महासभामा सेप्टेम्बर २३ का दिन आयोजित ‘भविष्य शिखर सम्मेलन’मा चिनियाँ विदेशमन्त्री वाङ यीले विगत केही दशकदेखि, चीनले शान्ति र सुरक्षालाई कायम राख्न महत्त्वपूर्ण प्रस्ताव र पहल अघि सारेको उल्लेख गरे । उनले भने, ‘पाँच सिद्धान्तहरूको आधारमा सहअस्तित्व, मानवताको साझा भविष्य निर्माणको अवधारणा र तीन प्रमुख विश्वव्यापी पहलहरू जसले विश्व शान्ति र सुरक्षामा चिनियाँ बुद्धिमता र समाधानहरू योगदान गरेको छ र विभिन्न देशका नेताहरूबाट सकारात्मक प्रतिक्रिया र समर्थन प्राप्त गरेको छ ।’

चीन संयुक्त राष्ट्र शान्ति स्थापना मूल्याङ्कन र नियमित बजेटको मुख्य योगदानकर्ता पनि हो । संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्यहरूमध्ये सबैभन्दा ठुलो सैन्य बल योगदान गर्ने देश पनि हो चीन ।

जनमुक्ति सेनाले संयुक्त राष्ट्र चार्टरका उद्देश्य र सिद्धान्तहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै आएको ग्लोबल टाइम्सको रिपोर्टमा उल्लेख छ ।

  • चीनको कूटनीति

पछिल्लो ७५ वर्षमा चीनले नेपालगायत विभिन्न देशसँग कूटनीतिक सम्बन्धहरूको दायरा बढाएको छ । चीनले १८३ देशसँग सम्बन्ध स्थापित गरिसकेको छ । चीन र अफ्रिकी नेताहरूले बेइजिङमा हालै चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलन पनि सफलतापूर्वक सम्पन्न गरे ।

चीन र नेपालबिच पौराणिककालदेखिको सम्बन्ध छ । पछिल्लो समय नेपालसँग चीनको सम्बन्ध अझ विस्तार भएको छ । नेपालसँग देखिने गरी चीनको सम्बन्ध विस्तार भएको हो । चीन स्थापनाको ७५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत सोङले भने, ‘चीन सधैँ बलियो र स्वतन्त्र नेपालको पक्षमा छ । नेपाल र चीन हिमाल र नदीले जोडिएका छन् । दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएका छन् ।’

चीनले पछिल्लो ७५ वर्षमा आफू विश्व शान्तिको निर्माता, वैश्विक विकासमा योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षकको रूपमा रहँदै दाबी गरेको छ ।

नेपालका सडकमा चिनियाँ विद्युतीय कारहरू दौडिरहेकामा आफूलाई खुसी लागेको बताउँदै उनले ‘भाइब्रेन्ट भिलेज’ परियोजनामार्फत नेपालमा गरिएको अर्ग्यानिक तरकारी कतारमा निर्यात गरिएको, सुनकोशी मरिन डाइभर्सन सुरुङ सफलतापूर्वक सम्पन्न भएबाट झन् खुसी बनाएको धारणा राखेका थिए ।

चीनले पछिल्लो ७५ वर्षमा आफू विश्व शान्तिको निर्माता, वैश्विक विकासमा योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षकको रूपमा रहँदै दाबी गरेको छ । चीन स्थापनाको ७५औँ वार्षिकोत्सवको अवसरमा सहयोग र पारस्परिक लाभमा केन्द्रित नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्न र मानवताका लागि साझा भविष्य निर्माण गर्न चीनले आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

  • नेपालसँग सम्बन्ध

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अहिलेको आधुनिक चीन निर्माणमा राष्ट्रपति सीको कुशल, दुरदर्शी नेतृत्वले काम गरेको उल्लेख गरे । चीन स्थापनाको ७५ औँ दिवसको उपलक्ष्यमा नेपाल–चीन युवा मैत्री संघ, फ्रेण्डसीप फर नेप्लिज जर्नालिस्ट र चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले पछिल्लो ७५ वर्षमा चीनले गरेको प्रगति त्यहाँका जनताको मेहनत र राष्ट्रपति सीको कुशल नेतृत्वको परिणाम भएको उल्लेख गरे ।

नेपाल–चीनबिच हजारौँ वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै उनले पछिल्लो कूटनीतिक सम्बन्ध झन् विस्तार र विश्वासिलो बन्दै गएको बताएका थिए । उनले भने, ‘नेपाल र चीनबिच सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको छ । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध हुनुपूर्व हजारौँ वर्षदेखि जनस्तरमा दुई देशबिच सम्बन्ध रहँदै आएको थियो । सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ ।’

सन् २०१७ मा बीआरआईको ढाँचाभित्र नेपाल छिरेको र दुई पक्षीय सहयोग बारेमा समझदारी भएको उल्लेख गर्दै उनले नेपाली जनताको समृद्धिको चाहना र विकासका लागि बीआरआईमा नेपाल जोडिएको प्रस्ट पारे । बीआरआईमार्फत गुणस्तरीय विकासका लागि नेपालले सहयोग लिनुपर्ने बताउँदै उनले बीआरआईलाई नेपाली जनताको अधिकतम हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे गहिरो चिन्तन मनन् गर्न आवश्यक रहेको बताए ।

७५औँ स्थापना दिवस मनाउने क्रममा चीनले विभिन्न सहरलाई बेहुलीजस्तै सिंगारेको छ । बेइजिङ सहरलाई रङ्गीन फूलमालाले सजाइएको छ । तियानमेन स्क्वायरमा थरीथरी फूलका विशाल टोकरी राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप