सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

बाढी, पहिरो, डुबानको समस्याको निदान समयमा नै खोज्न सरकारसँग माग

सोमबार, १४ असोज २०८१, ०७ : ३७
सोमबार, १४ असोज २०८१

काठमाडौँ । नेकपा मालेले बर्सेनि हुने बाढी, पहिरो, डुबानको समस्याको निदान समयमा नै खोज्न सरकारसँग माग गरेको छ । 

पार्टीका महासचिव सीपी मैनालीले अविलम्ब समुचित क्षतिपूर्ति उपलब्ध गराउन, बेपत्ताको प्रभावकारी खोजतलास गर्न, घाइतेको सम्पूर्ण उपचार व्यवस्था गर्न, विस्थापित जनताको गाँस–बासको प्रबन्ध गर्न र बाढी पहिरोबाट क्षतिग्रस्त बाटोघाटो, पुल–पुलेसाको मर्मत तथा पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन समेत सरकारसँग माग गरेका हुन् ।

मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ - ‘पटक–पटक सरकार बन्छन्, ढल्छन् । सरकार ढाल्न र बनाउन अभ्यस्त संसद्‍वादी दलहरू बर्सेनि बाढी, पहिरो, डुबानको समस्या आइपर्छ भन्ने किन हेक्का राख्दैनन् ? होइन भने किन समस्याको सही व्यवस्थापन र समाधानको नीति बनाउन सकिँदैन ? यस्ता प्राकृतिक विपत्तिहरू वर्षायाममा मात्र नभई वातावरणीय समस्याका कारण बढ्दै गएको बेमौसमी वर्षाका कारण आउने बाढी, पहिरो र डुबानले देशमा बर्सेनि जन–धनको ठुलो क्षति हुने र हजारौँको सङ्ख्यामा नागरिकहरू प्रभावित बन्दै जाने समस्याको निदान समयमै खोज्न सरकारको ध्यान जाओस् भनी नेकपा (माले) जोडदार माग गर्दछ ।’

सरकारको विपद् व्यवस्थापन एवम् उद्धार संयन्त्रको निरीह भूमिकाका कारण बाढी, पहिरो र डुबान प्रभावितहरू धेरैले ज्यान गुमाउन र बेपत्ता हुने स्थिति देखापरेको पार्टीको ठहर छ । ‘राज्य भनौँ वा सरकारलाई हरेक वर्ष वर्षायाममा हुने अधिक वर्षा र अरू समयमा पनि हुने बेमौसमी वर्षाबारे जानकारी भएकै विषय हो । सहरी क्षेत्रमा बग्ने विभिन्न स–साना खोला, खोल्सीहरूको क्षेत्रहरूको उचित व्यवस्थापनको सही नीति र कानुन सरकारले बनाउन र कार्यान्वयन गर्न नसक्दा उपत्यका लगायतका ठाउँहरूमा बाढी, पहिरो र डुबानका कारण नागरिकहरू प्रभावित र प्रताडित बनेका छन् । त्यसो त राज्य शक्तिको सम्पूर्ण श्रोत–साधन केन्द्रित राजधानी उपत्यकाभित्रै बाढीका कारण बाढी, पहिरो र डुबानको समस्या आउन नदिने उपाय र सावधानी अपनाउन जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ । 

पहाडी क्षेत्रहरूमा पनि यातायातको पहुँच पुर्‍याउन सडक विस्तार गर्ने काम जुन ढङ्गले भइरहेको छ, त्यसको भूगर्भीय अवस्थाको अध्ययन बिना गर्दा त्यहाँ बढी समस्या देखापरेको पार्टीको भनाई छ । सडक सञ्जाल निर्माणको नाममा जथाभाबी डाँडाहरूमा डोजर चलाउन नरोके यो क्रम बर्सेनि बढ्ने विज्ञप्तिमा भनिएको छ । 

पार्टीले प्रकोपमा परेर ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ । त्यस्तै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको स्थिति यथाशीघ्र पत्तो लागोस् तथा सबैलाई सकुशल फेला पार्न सकियोस् भन्ने कामना समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप