सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
हिमालयन आर्ट फेस्टिभल २०२४

झन्डै ७० वर्ष पुरानादेखि आजका कलाको आलोक

सोमबार, १४ असोज २०८१, ०७ : ३०
सोमबार, १४ असोज २०८१

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘इ–आर्टस्’ नेपालको आयोजनामा ‘हिमालयन आर्ट फेस्टिभल २०२४’ भर्खरै (सेप्टेम्बर ८–१४ मा) सम्पन्न भयो । मूलतः नेपाली समसामयिक कलाको बिक्रीको अवसरका रूपमा यो कला प्रदर्शनी हरेक वर्ष हुने गर्र्छ । 

स्वभावतः आफ्नो सिर्जनाको बिक्रीमा कलाकारको आकर्षण धेरै हुनाले पनि धेरै कलाकार यो प्रदर्शनीमा भाग लिन इच्छुक देखिन्छन् । कलाको बिक्रीसँग सम्बन्धित यो कार्यक्रममा कलाबारे छलफल र विमर्श पनि हुने गर्छ । 

यसपल्टको प्रदर्शनीमा मूलतः नेपाली आधुनिक कलाका तीन पुस्ताका कलाकारलाई संलग्न गराइएको थियो । उनीहरूले कोरेका विभिन्न कालखण्डका कला प्रदर्शनी गरिएकाले विभिन्न कलागत शैली र प्रवृत्तिलाई नियाल्न सकिन्थ्यो । 

IMG_20240909_121204 (1)

आर्ट काउन्सिलको माथिल्लो तलामा नेपाली परम्परागत चित्र राखिएका थिए । केही परम्परागत पौभाचित्रलाई किन समावेश गरिएको हो भन्ने बुझिँदैन । तथापि पाका कलाकारलाई सम्मान गर्ने एउटा राम्रो संस्कारको थालनीलाई प्रशंसनीय मान्नुपर्छ । वयोवृद्ध भइसकेका एक कलाकारलाई सम्मान गर्ने क्रममा उनैका पुराना–नयाँ चित्रलाई पनि प्रदर्शन गर्ने गरिन्छ । यसपल्ट चाहिँ ८४ वर्ष पुगिसकेकी कलाकार शारदा चित्रकारलाई सम्मान गरिएको छ । 

यही मेसोमा हरेक वर्ष प्रदान गरिने प्रशान्त स्कलरसिप अवार्ड यसपालि ललित कला क्याम्पसका तर्फबाट श्रीमाला श्रेष्ठलाई, केयु आर्ट एन्ड डिजाइनका तर्फबाट आभास नेमकुललाई र सिर्जना कलेजका तर्फबाट रसिक राईलाई प्रदान गरियो । 

शारदाले १३–१४ वर्षको उमेरमा बनाएका जलरंगका चित्र पनि यसपालिको प्रदर्शनीमा राखिएका छन् । २०१२ सालतिर उनले कोरेको एउटा चित्रमा रुखका हाँगा र फेँदलाई संयोजन गरिएको छ । जुन प्रभाववादी शैलीमा चित्रण गरिएको नमुना चित्र हो ।

आर्ट काउन्सिल पस्नेबित्तिकै भुइँतलाको एक कक्षमा नेपाली आधुनिक कलाको सुरुका बिन्दुमा उदाएका कलाकारका काम देखिन्थ्यो । अर्को कक्षमा सम्मानित कलाकारका चित्र प्रदर्शन गरिएको थियो । भुइँतलादेखि चौथो तलासम्म पुग्दा नवयुवा कलाकारका कला देख्न सकिन्थ्यो । बिचबिचमा आधुनिक मूर्तिहरू पनि राखिएका थिए । 

१२० कलाकारका कलाकृतिलाई प्रदर्शनमा राखिरहँदा ती कला र कलाकारको अभिलेख भने गरिएको थिएन । सामान्यतया कलाकार र कलाकृतिको नाम, कला बनेको मिति, कलाको साइज आदिबारे थोरै विवरण कलासँगै राख्नैपर्ने हो । 

अझ कला र कलाकारका बारेमा विस्तृत रूपमा अभिलेख राख्न सके आम भावकलाई कला बुझ्न सहज हुने थियो । यस्तो प्रचलन र अभ्यास हामीले स्थापित गर्न सकेका छैनौँ । 

sharada (3)

  • शारदा चित्रकार

यसपालिको प्रदर्शनीको सबैभन्दा राम्रो पक्ष थियो, शारदा चित्रकार (जन्म सन् १९४१) का पुराना चित्रलाई स्थान दिनु । 

शारदाले १३–१४ वर्षको उमेरमा बनाएका जलरंगका चित्र पनि यसपालिको प्रदर्शनीमा राखिएका छन् । २०१२ सालतिर उनले कोरेको एउटा चित्रमा रुखका हाँगा र फेँदलाई संयोजन गरिएको छ । जुन प्रभाववादी शैलीमा चित्रण गरिएको नमुना चित्र हो । 

त्यतिबेलै शारदा दृश्यचित्रमा पारङ्गत देखिन्छिन् । उनका चित्र हेर्दा त्यतिबेलै नेपालमा प्रभाववादी दृश्यचित्र भित्रिसकेको स्पष्ट हुन आउँछ । जब कि सन् १९६० को उत्तराद्र्धदेखि मात्र यस्ता प्रभाववादी चित्र विहंगम रूपमा सिर्जना भएको कुरा हामी गर्ने गर्छौं । उनको यस चित्रले भने यसबारे पुनर्विचार गर्नुपर्नेतर्फ झकझकाएको छ । उनले २०११, ०१२ र ०१३ सालतिर यस्तायस्तै थुप्रै चित्र कोरेकी छन्, जसमा ‘शारदालक्ष्मी चित्रकार’ भन्ने हस्ताक्षर देखिन्छ । 

एउटी महिला त्यतिबेला कसरी कला क्षेत्रमा लागिन् भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । त्यसो त उनी नेपालका मूर्धन्य चित्रकार तेजबहादुर चित्रकारकी छोरी हुन् । घरमै पनि उनलाई चित्र कोर्ने सिक्ने वातावरण थियो । आफ्नै बुबाबाट प्रेरित भएर उनले जुद्धकला पाठशालामा कला विषय पढिन् । 

व्यक्तिचित्रदेखि प्रभाववादी जलरंगी चित्रहरू उनले जेजति बनाउन सकिन्, नेपाली कला इतिहासका लागि ती निकै महत्त्वपूर्ण छन् । जब कि उनका पिता प्रभाववादी चित्रकार होइनन्, उनी सामाजिक यथार्थवादी चित्रकार हुन् । 

शारदाभन्दा अलिकता अगाडिका कलाकार केशव दुवाडी र कालिदास श्रेष्ठ, जो जेजे स्कुल अफ् आर्ट मुम्बईमा पढेका हुन्, यी दुवैले जुद्धकला पाठशालामा कला पढाउँथे । यहीँ नै उनीहरूले यस्ता पारदर्शी जलरंगका प्रभाववादी चित्र सिकाउँथे वा शारदाले अलग्ग सिकेकी हुन् ? यसबारे थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

नेपाली आधुनिक कलाको इतिहासमा यस्ता प्रभाववादी चित्रहरूको एक अलग्ग महत्त्व छ । किनकि चित्रमा रूप–विग्रह यहीँबाट शुभारम्भ भएको थियो । कलाकारहरूले यहीँबाट भाव र विचारलाई, सोचलाई आफ्नै ढंगले चित्रण गर्न आफूखुसी प्रयोग गर्न थालेका थिए ।  

२०१० सालदेखि २०१३ सालसम्म उनले कोरेका चित्र (फलफूलका चित्र, व्यक्तिचित्र आदि)मा कलर स्किम र तुलिकाघात हेर्दा त्यतिबेलै जुद्धकला पाठशालामा प्रभाववादी कलाले प्रवेश पाइसकेको बुझिन्छ । 

यस्ता पुराना आधुनिक चित्रहरू सङ्कलन र प्रदर्शन गर्ने आधुनिक कला सङ्ग्रहालय हामीकहाँ छैन । कम्तीमा कहिलेकाहीँ प्रदर्शनी गरिँदा नयाँ भावकले पुराना कलाको अवलोकन गर्न पाउँछन् ।

यी चित्रले त्यतिबेला (झन्डै ७० वर्ष अगाडिको) कलालाई मात्र देखाउँदैन, कलाकोे इतिहास खोज्ने अनुसन्धानकर्ताका लागि विशेष उपयोगी हुन्छ । पश्चिमा प्रविधि नेपाली कलामा कसरी फ्युजन हुँदै अगाडि बढेका रहेछन् भन्ने जान्नका लागि यी चित्र ठोस प्रमाण हुन् । 

sharada (1)

  • अन्य कलाकारका कला

नेपालमा सन् १९६० मा आधुनिक कलाको उदय भयो । अनि सन् १९७० सम्म विश्वमा विभिन्न कालखण्डमा उदाएका आधुनिक कलाका शैली नेपालमा पनि एकैचोटि देखापरे । यथार्थवादी, प्रभाववादी, क्युबिजिम्, अमूर्त कला, अभिव्यञ्जनावादी, अतियथार्थवादी आदि कला कलाहरू नेपालमा त्यतिबेला देखापरेका थिए । 

त्यतिबेला अमूर्त कलाको खुबै बोलबाला थियो । लैनसिंह बाङ्देल, उत्तम नेपालीदेखि लक्ष्मण श्रेष्ठ, ठाकुरप्रसाद मैनाली, प्रमिला गिरी जम्मै अमूर्त कलाकै पक्षधर थिए । यी सबैका कला त यसपालिको प्रदर्शनीमा राखिएनन्, तर त्यतिबेलादेखि अमूर्त कलामा निरन्तर लागिरहने कलाकारमध्येका कृष्ण मानन्धर, विजय थापा र के के कर्माचार्यका नितान्त अमूर्त कला यसपालिको प्रदर्शनमा राखिएका थिए । 

विजय थापाको उज्याला राता, नीला र पहेँला रङहरूको संयोजन गरिएका चित्र क्युबिक फर्ममा देखिन्छन् । उनका कलाहरू कतै न कतै दृश्यचित्रकै अमूर्त रूपमा देखापरेका छन् । 

के के कर्माचार्यका चित्रमा समतल रङहरू खेलेका देखिन्छन् । यस्तै, कृष्ण मानन्धरका अमूर्त कलामा तेस्रो आयामिक धरातलमाथि मधुरा र धमिला मोटिफहरू जुरुक्कै उठेका देखिन्छन् । समग्र चित्रपट मिठासका साथ प्रस्तुत हुँदा उनका चित्रमा एउटा गति प्रवाहित भएको देखिन्छ ।

rabindra

वत्सगोपाल वैद्यले मिथको प्रयोग गर्दै विभिन्न रङको संयोजनसहित आराध्यदेव गणेशलाई विभिन्न पोजमा उतारेका छन् । देवी–देवतालाई एउटा बलियो पात्रका रूपमा प्रयोग गर्ने शशिविक्रम शाह, मनुजबाबु मिश्रपछि वैद्यकै नाम आउँछ । स–साना आठवटा गणेशका चित्रहरू यसपालि प्रदर्शन गरिएका थिए ।

शशिकला तिवारीका केही चित्र पनि प्रदर्शनीमा राखिएका थिए । हरियो, पहेँलो र शीतल रङमा उनले यसपालि मयुरका जोडीलाई चित्रपटमा उतारेका रहेछन् । ‘एफेक्सन’ नामक उनको चित्र लयात्मक र कवितात्मक देखिन्छ । 

यस्तै, राधेश्याम मुल्मीको ‘अस्तव्यस्त’ नामक चित्रमा मुुसा र कपहरूको मिठो संयोजन देखिन्छ । 

सन् १९७० देखि १९८० को दशकसम्म अमूर्त कलाकै जगजगी थियो । यसै लहरको अलि पछिका कलाकार किरण मानन्धर र रागिनी उपाध्यायका चित्र पनि यसपालिको प्रदर्शनीमा राखिएका थिए । मानन्धरको चित्रमा शक्तिशाली तुलिकाघातका साथ अर्ध–अमूर्त कला (देवी–देवताकै) देखिन्छ । यस्तै रागिनीका स्वैरकाल्पनिक चित्रहरूले भावकलाई अलौकिक संसारको भ्रमण गर्न उत्प्रेरित गर्छन् । 

उमाशंकर शाह र उनकी श्रीमती सीमा शाहका अति घतलाग्दा चित्रहरू पनि यो कला प्रदर्शनीमा राखिएका थिए । देवीदेवता अनि मठ–मन्दिरले क्यानभासको छेउदेखि टुप्पासम्म टम्म भर्नु यी दुवै कलाकारको निजी विशेषता हो । यिनीहरूले लोकगाथा अनि धर्मगाथाले भरिएका उहिलेका कथालाई आजको सन्दर्भमा जोडेर क्यानभासमा उतार्छन् । यथार्थ रूप अर्थात् ‘फिगरेटिभ फर्म’मा खण्डखण्डमा विभाजित भएर पात्रहरू बस्नु यी कलाकारका निजी पहिचान हुन् । 

प्रदर्शनमा राखिएका जीवनराज उपाध्यायका अमूर्त चित्र र त्रिकोणात्मक फ्रेम (झुन्डिएको अवस्था)मा भुवन थापाका मूर्तिले भावकलाई रोमाञ्चित तुलाउँथ्यो ।

यस्तै, एउटा अलग्ग प्याट्रनका साथ नवीन्द्र राजभण्डारीका अमूर्त चित्र पनि यस प्रदर्शनीमा देखिए । 

यस्तै, सुनिता राणा, प्रमिला बज्राचार्य हुँदै एरिना ताम्राकार र आशा डंगोलका कलाहरू आकर्षणका साथ देखा परे । नाटकीय ढंगबाट प्यारोडीका साथ आकृतिमूलक काम देखिन्छन् आशाका । 

ठुल्ठुला महिलाका अनुहारले क्यानभास पुरै ढाक्ने एरिनाका आकर्षक चित्र पनि देखिए । एरिना केही वर्षयता महिलाका अनुहारहरूलाई क्यानभासमा उतार्न अभ्यस्त देखिन्छिन् । 

यस्तै प्रकारले मनीषलाल श्रेष्ठ, सरिता डंगोल, कृष्णगोपाल श्रेष्ठ, संगी श्रेष्ठ, श्रीभक्त प्रजापति, विनोद प्रधान, पृथ्वी श्रेष्ठ, हितेश वैद्य, भाइराजा महर्जन, शौरगंगा दर्शनधारी, विद्यामान तामाङ, सोफिया महर्जन, एससी सुमन, कुन्तीश्री थापा, अनिल शाह, रोशन प्रधान, उद्धवराज रिमाल, सुन्दर लामा आदि अनेकौँ कलाकारका काम उत्कृष्ट रूपमा यसपालिको प्रदर्शनमा देखिए । सबैलाई सविस्तार भन्न यो सानो आलेखमा सम्भव भएन । 

IMG_20240909_123930 (1)

  • उत्तरआधुनिक कला

सन् २००० पछि अलग्ग कला शैलीले नेपालको कला क्षेत्रमा प्रवेश गर्‍यो । जसलाई मचाहिँ उत्तरआधुनिक कला भन्छु । यो कोणबाट हेर्दा रवीन्द्र श्रेष्ठ अनि मुकेश श्रेष्ठका कामहरू अति उत्कृट रूपमा देखापरे । मुकेशको ६ बाई चार फिटको विशाल क्यानभासमा मानव शरीरका चित्र अप्ठेरो पोजमा बटारिएर आकर्षक ढंगले समायोजन भएको देखिन्छ । 

मुकेशले आफ्नो कामको नाम राखेका थिए— दे कम, दे लभ, दे हर्ट एन्ड दे लिभ’ । यस्तो अचम्मको नाममा पे्रमिल जोडी र तीनवटा साँढेलाई संयोजन गरेको उनको काम साह्रै शक्तिशाली रूपमा देखा परेको छ । सामाजिक र राजनीतिक मुद्दा; संस्कृति, परम्परा र साझा मानवीय भावना आदिबाट उनको कामको सिर्जना भएको देखिन्छ । उनी भन्छन्, ‘मानवीय सम्बन्धले नै एकान्तपन अनि उदासीलाई मलम लगाउने काम गर्दो रहेछ । यही मानवीय सम्बन्धले करुणा, दया, हेरचाह, प्रेम आदिको वातावरण पहिले घरमा अनि वरिपरि वा चारैतिर बन्ने वा बनाउने काम गर्दो रहेछ ।’ 

समाजका कतिपयले मानवीय भावना र संवेदना बुझ्न नचाहेको देखेर उनलाई छटपटी हुन्छ । सोही छटपटी उनका चित्रमा देखिन्छन् । त्यसैले उनको चित्रमा स्वाभाविकता आउँदैन; बाङ्गा वा बाउँडिएका अनेक आकृतिहरूमार्फत उनले सम्बन्धको उकुसमुकुसलाई क्यानभासमा उतार्छन् । 

बेलायतका विश्वप्रसिद्ध कलाकार फ्रान्सिस बेकन अनि भारतका तैयव मेहताले यस्तै शैलीका काम गर्थे । यी विश्वप्रसिद्ध कलाकारले मुकेशलाई गहिरो प्रभाव पारेको देखिन्छ । उनको चित्रमा महिला फिगरले मानवीय भावनाको प्रतिनिधित्व गर्छन् भने साँढेले ‘भाइटालिटी स्ट्रेन्थ’ (जीवन शक्ति), ‘फाइटिङ पावर’ (लड्ने शक्ति)  आदिलाई प्रतिनिधित्व गरिरहेको हुन्छ । 

यस्तै रवीन्द्र श्रेष्ठको कलाको नाम हो, ‘बाइसाइकल ह्विल आर्ट वर्क’ । उनको यस काममा तीनवटा साइकलको चक्कालाई काठको फ्रेममा राखेर बाँधिएको छ । यो इन्स्टलेसन र कन्सेपचुअल काम हो । उनको कलागत अवधारणा यसरी बगेको देखिन्छ, २०औँ शताब्दीको सुरुतिर फ्रेन्च कलाकार मार्सेल डुचेम्पले साइकलका यस्तै चक्कालाई प्रयोग गरी कलामा गतिलाई प्रवेश गराएका थिए । रवीन्द्र भन्छन्, ‘डुचेम्पसँग आफू पनि गासिँदै घुम्ने कुरालाई यस काममा बन्द गरेको छु । यो चक्का घुम्दैन तर केही कुराहरूको याद चाहिँ घुमिरहन्छ भन्ने हो, जुन खुला आँखाले देखिँदैन । माया, ममता र घृणा देखिँदैन तर पनि अस्तित्वमा छ । दिमागभित्र धेरै कुरा घुमिरहन्छ तर हामी देख्दैनौँ ।’ 

हामीकहाँ नयाँ पुस्ताका अति राम्रो काम गर्ने अनेकौँ कलाकार छन् । जसमा यी कलाकार अब्बल भएर देखा परेका छन्— शुष्मा शाक्य, सुनिता महर्जन, अनिल शाही, लक्ष्मणबज्र लामा, सुरेश महर्जन, इसान परियार, सविता डंगोल, अनिशा महर्जन, कृष्ण लामा, कैलाश श्रेष्ठ, जगदशी मोक्तान, अम्साद सुनुवार, तिर्सना श्रेष्ठ, शैली विष्ट, पूजा दुवाल आदि । यिनीहरूका काम साह्रै घतलाग्दा किसिमले देखापरेका छन् । नितान्त नौलो शक्तिशाली कलाका रूपमा देखापरेका यस्ता काम नितान्त आजको कला हो, समसामयिक कला हो । 

(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप