सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सप्तकोसीमा पानीको बहाव घट्यो, पुलमा सवारी आवतजावत खुला

सोमबार, १४ असोज २०८१, ०१ : ३९
सोमबार, १४ असोज २०८१

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ ।

कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए । कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उनले बताए । 

प्रजिअ मंग्रातीले भने, 'कोसीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो । आइतबार बिहानबाट कोसीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ ।'

कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा गर्न आठ घण्टा लागेको थियो । सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको छ । कोशी नदीमा पानीको बहाव घट्ने क्रममा छ । कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार आइतबार साँझ ७ :३० बजे पानीको प्रवाह घटेर तीन लाख ४५ हजार चार सय १५ क्युसेकमा झरेको छ ।

पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिबार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप