बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

प्राकृतिक विपद् : ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति

आइतबार, १३ असोज २०८१, २२ : ३८
आइतबार, १३ असोज २०८१

काठमाडौँ । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार रु दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिए ।

उनले भने, “हामीले प्रारम्भिक विवरणका आधारमा यो तथ्याङ्क उल्लेख गरेका हौँ । थप क्षति भएको हुन सक्छ । बाढीका कारण झन्डै एक हजार एक सय मेगावाट विद्युत् उत्पादन रोकिएको छ । कूल एक हजार १० मेगावाट जडित क्षमताको १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको छ ।”

तामाकोसी नदीको कटानका कारण खिप्ती लामोसाँघु प्रसारण लाइनको टावर बगाउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीमा जोड्न समस्या भएको त्यस अवसरमा जानकारी दिइयो । सोही प्रसारण लाइन भएर काठमाडौँका लागि बिजुली ल्याउनेगरिएको छ । यस्तै दोलखा, रामेछापका विभिन्न आयोजनाको आठ सय मेगावाट बराबरको बिजुली प्रवाह गर्ने टावरसमेत जोखिममा परेका छन् ।

मन्त्री खड्काले क्षति पुगेका आयोजनाको पुनः निर्माणका लागि तत्काल आवश्यक पहल गरिने जानकारी दिए । पहिलो चरणमा क्षतिको सम्पूर्ण विवरण सङ्कलन गर्ने, पुनः निर्माण र पुनः स्थापना कार्यलाई विशेष ध्यान दिइनेछ । यसका लागि सरकारका सबै संयन्त्र परिचालन गर्नेछौँ” उनले भने ।

यस्तै, प्रसारण लाइनतर्फ काबेली करिडोरअन्तर्गतको दमक गोदक एक सय ३२ केभी प्रसारण लाइन, खिप्ती लामो साँघु एक सय ३२ केभी, सोलु करिडोरमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकानुसार बाढी पहिरोका कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द भएको छ । सो आयोजनाको बाँधस्थलमा रहेको नियन्त्रण कक्ष भवनमा क्षति पुगेको छ ।

यस्तै, बालुवा थिग्र्याउने पोखरीलगायतका संरचनामा क्षति पुगी  विगत तीन दिनदेखि बन्द रहेको सो आयोजनाको सम्पूर्ण विवरण सङ्कलन गर्नसमेत हालसम्म समस्या रहेको उनले बताए । “काबेली करिडोरमा समस्या आउँदा इलाम र पाँचथरमा बिजुली प्रवाहका लागि समस्या भएको छ । झापाबाट वैकल्पिक व्यवस्था गरेर बिजुली उपलब्ध गराउने प्रयास भइरहेकाले आज अबेरसम्म सो कार्य सम्भव हुने विश्वास छ”, कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।

यस्तै, सिँचाइतर्फ रु एक अर्ब ३५ करोड बराबरको क्षति पुगेको छ । सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कफर ड्याम डुबानमा परेको छ । रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएकाले क्षतिको तत्काल अनुमान गर्न गाह्रो भएको जनाइएको छ । कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाका १० वटा शाखा नहरमा सामान्य क्षति हुँदा पाँच करोड बराबर क्षति भएको अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप