सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

२४ घण्टे वर्षाले २५ ठाउँको रेकर्ड ब्रेक

आइतबार, १३ असोज २०८१, २२ : २३
आइतबार, १३ असोज २०८१

काठमाडौँ । नेपालमा २४ घण्टे वर्षाले २५ ठाउँको रेकर्ड ब्रेक गरेको छ । देशभरका १४ जिल्लामा विषम वर्षा भई २५ स्थानका वर्षा मापन केन्द्रहरूमा नयाँ रेकर्ड कायम भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १० देखि असोज १२ (२६–२८ सेप्टेम्बर २०२४) सम्म सक्रिय रहेको मनसुन प्रणालीका कारण नेपालका केही स्थानहरूमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार, यस अवधिमा काभ्रेपलान्चोकमा सबैभन्दा बढी वर्षा ३३१.६ मिलिलिटर वर्षा भएको छ । यसअघि २०१५ सेप्टेम्बर ३ मा २४ घण्टामा २७६.९ मिमि वर्षा भएको खोपासी वर्षा मापन केन्द्रले उल्लेख गरेको छ ।

यस्तै, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रमा शनिवार ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भएको छ । विमानस्थलमा २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन गरिएको छ । यसअघि सन् २००२ जुलाई २३ मा सर्वाधिक वर्षा १७७ मिमिको रेकर्ड कायम भएको थियो ।

काठमाडौँ उपत्यकाका ११ वटा मापन केन्द्रमा वर्षाको नयाँ रेकर्ड बनेको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार काठमाडौँ जिल्लाका विमानस्थलसहित पानीपोखरी, बुढानीलकण्ठ, जितपुरफेदी र नागार्जुनमा मापन केन्द्र छन् । ललितपुरका गोदावरी, खुमलटार, टिकाथली, खोकना र चापागाउँमा नयाँ रेकर्ड कायम भएको छ ।

भक्तपुर जिल्लाको नंखेल वर्षा मापन केन्द्रमा वर्षाको नयाँ रेकर्ड बनेको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा १७८ मिमिदेखि ३३१ मिमि वर्षा भएको छ । यसअघिको रेकर्डमा यस क्षेत्रमा १३६ मिमिदेखि २४९ मिमि वर्षाको रेकर्ड कायम थियो ।

यस्तै, तनहुँको खैरेनीटारमा पनि निकै लामो समयपछि विषम वर्षा भएको विभागले जनाएको छ । त्यहाँ सन् १९८३ मा २४१.९ मिमि वर्षा भएको थियो । त्यसयता शुक्रबार र शनिवार गरी २४ घण्टामा २५२.३ मिलिमिटर वर्षा भएको छ ।

सिन्धुपाल्चोकको बाहुनपाटीमा पनि सन् १९७८ यताकै सर्वाधिक वर्षा भएको छ । त्यहाँ पनि २४ घण्टामा १९०.६ मिलिमिटर वर्षा भएर नयाँ रेकर्ड कायम भएको छ । सो क्षेत्रमा सन् १९७८ मा १३७.५ मिलिमिटर वर्षा भएको थियो । यस्तै, नुवाकोट, चितवन, धादिङ, झापा, पाल्पा, सिन्धुपाल्चोक लगायतका स्थानमा २४ घण्टे वर्षाले नयाँ रेकर्ड कायम गरेको विभागले जनाएको छ ।

यी हुन् नयाँ रेकर्ड कायम भएका २५ वर्षा मापन केन्द्र 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप