सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

आइतबार, १३ असोज २०८१, २१ : ४८
आइतबार, १३ असोज २०८१

आज २०८१ असोज १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा झ्याप्ले खोला पहिरो पन्छाएपछि काठमाडौँको ‘लाइफलाइन’ दुईतर्फी खुल्यो, प्राकृतिक विपद्पछि बसेको सर्वदलीय बैठकले ग¥यो ९ बुँदे निर्णय, बाढीको चपेटापछि तङ्ग्रिँदै काठमाडौँ उपत्यका, सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद, सहकारी ठगी प्रकरणमा छविलालको बयान सकियो, रिसोर्ट बगाउँदा बेपत्ता भएका कर्णेल केसीको मृत्यु, सरकारलाई प्रश्न गर्नै छाडे सांसदले लगायत छन् ।

१. झ्याप्ले खोला पहिरो पन्छाएपछि काठमाडौँको ‘लाइफलाइन’ दुईतर्फी खुल्यो
त्रिभुवन राजपथलाई काठमाडौँको ‘लाइफलाइन’ मानिन्छ । देशको पूर्वीदेखि पश्चिमी भेगबाट काठमाडौँ आउने मुख्य सडक अविरण वर्षासँगै आएको पहिरोले शनिबारदेखि अवरुद्ध थियो । विभिन्न स्थानबाट काठमाडौँ आउँदै गरेका तीन वटा सवारी साधन पुरिने गरी धादिङको धुनिबेसी नगरपालिका–९, झ्याप्ले खोलामा पहिरो गएको थियो । पहिरो पन्छाउने क्रममा ती सवारी साधनका यात्रुको शव पनि निकालिएको थियो ।

२. प्राकृतिक विपद्पछि बसेको सर्वदलीय बैठकले ग¥यो ९ बुँदे निर्णय
देशका विभिन्न भागमा प्राकृतिक विपद्ले ठुलो जनधनको क्षति भएपछि आइतबार सरकारले सर्वदलीय बैठक राखेर छलफल गरेको छ । आइतबार बसेको बैठकले ९ बुँदे निर्णय गरेको छ, जसमा खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको छ । 


३. बाढीको चपेटापछि तङ्ग्रिँदै काठमाडौँ उपत्यका
अविरल वर्षापछि शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थान बाढी तथा डुबानले प्रभावित भए । नदी तटीय क्षेत्र बढी प्रभावित भए । वर्षा रोकिएसँगै आइतबार बाढी तथा डुबान पीडितले हिलो पन्छाउने तथा घरको सरसफाइ थालेका छन् । 

४. सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद
सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । सिधाकुराका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको छ ।

५. सहकारी ठगी प्रकरणमा छविलालको बयान सकियो
सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको उपस्थितिमा कास्की प्रहरीले उनीसँग बयान लिएको हो ।

६. रिसोर्ट बगाउँदा बेपत्ता भएका कर्णेल केसीको मृत्यु
पहिरोमा परेर बेपत्ता नेपाली सेनाका बहालवाला कर्णेल (सहायक रथी) मिलन केसीको मृत्यु भएको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसी सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा आएको पहिरोमा परेर बेपत्ता थिए । आइतबार उनको शव भेटिएको हो ।

७. सरकारलाई प्रश्न गर्नै छाडे सांसदले
पछिल्लो निर्वाचनपछि संसद् (प्रतिनिधिसभा)का चारवटा अधिवेशन सम्पन्न भइसकेका छन् । २०७९ पुसबाट सुरु भएको सदनको पहिलो अधिवेशनमा जम्मा ७६ वटा प्रश्न सोधिएका थिए । तीमध्ये ५६ प्रश्नको जवाफ मन्त्रीहरूले संसदमा टेबल गराएका थिए । रोचक के छ भने, सबै (७६) प्रश्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेका थिए ।

८. विमानस्थलमा हवाइ यात्रुको चाप
बाढी तथा पहिरोले सडक मार्ग अवरुद्ध भएपछि हवाई यात्रा एकमात्र विकल्प बनेको छ । परिणामस्वरुप आइतबार विमानस्थलमा यात्रुको चाप देखिएको छ ।

९. सप्तकोशीको सङ्कट टरेकै हो ?
अविरल वर्षापछि आएको बाढीले सप्तकोशीको बहाव दशकौँपछि उच्चस्तरमा पुगेको छ । आइतबार बिहान सप्तकोशीमा पानीको बहाव ६ लाख ६१ हजार ५ क्युसेक पुगेको थियो, जो ५६ वर्ष यताको उच्च हो । आइतबार जलसतह घट्दै गए पनि खतरा नघटेको विज्ञहरू बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप