सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडा काठमाडौँ सडक सम्पर्क जोड्न मन्त्रीको नेतृत्वमा सडक मर्मत हुँदै

आइतबार, १३ असोज २०८१, २१ : ३५
आइतबार, १३ असोज २०८१

हेटौँडा ।  हेटौँडा र काठमाडौँबिच सडक सम्पर्क जोड्न बागमती प्रदेश सरकारले मन्त्रीको कमान्डमा सडक मर्मत गर्ने काम थालेको छ । आइतबार बिहानैबाट प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्के सहितको टोली सडक सञ्चालनका लागि खटिएको हो ।

सोमबारसम्ममा सडक खुलाउने उद्देश्यअनुसार ३ स्थानबाट पहिरो पन्छाउने तथा सडक मर्मतको काम थालिएको छ । काठमाडौँ, हेटौँडा र हुमानेबाट सडक खुलाउनु काम अघि बढाइएको मन्त्री मास्केले बताए । प्रदेश सरकारको शनिवार बसेको आकस्मिक बैठकले प्रदेशका अवरुद्ध सडकहरू सञ्चालनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई व्यवस्था गर्ने गरी निर्णय गरेको थियो ।

सो निर्णयसँगै मन्त्री मास्केसहित सचिव अमृत श्रेष्ठले फिल्डमा खटिएका थिए । त्यसो त मन्त्री मास्के शनिवार नै जेसीवीसहित सडक खुलाउन काठमाडौँबाट हेटौँडातर्फ खटिएका थिए । तर, वर्षा निरन्तर भइरहेकाले उनको प्रयत्न टौदहमा नै रोकियो ।

इन्जिनियर मन्त्री मास्के र सचिव श्रेष्ठले आइतबार ३ टोली बनाएर सडक सञ्चालनको तयारी अघि बढाएका थिए । मन्त्रालयले पहिलो प्राथमिकतामा हेटौँडा काठमाडौँ सम्पर्क स्थापित गर्ने गरी सडक मर्मतको काम थालेको मन्त्री मास्केले बताए । हेटौँडा काठमाडौँ जोड्ने सबै सडकहरू बन्द रहेकाले तत्काल कुलेखानी फाखेल फर्पिङ सडक सञ्चालन गर्ने गरी काम अघि बढाएको थियो ।

सोहीअनुसार मन्त्री मास्केले पूर्वाधार विकास कार्यालय ललितपुरलाई साथमा लिएर २ वटा जोसीवीसहित सडक खुलाउने काममा लागेका थिए । उनको टोली काठमाडौँ तर्फको सडक क्लियर गर्दै फर्पिङ आइपुगेको मन्त्री मास्केले बताए । सो टोली फर्पिङबाट हुमानेतर्फ अघि बढ्ने उनको भनाई छ ।

फर्पिङ हुमाने खण्डमा ग्राभेलहरू थुप्रिएको र त्यसलाई हटाएर सडक सञ्चालन गरिने उनले बताए । नागरिकको यात्रा सहज गर्न प्रदेश सरकारले निरन्तर प्रयत्नरत रहेको उनले बताए । विपद्को अवस्थामा सबैले मिलेर प्रतिकार्य गर्नुपर्ने भएकाले क्षतिको अवस्था अवलोकन, योजना निर्माण र कार्यान्वयन एकै पटक गर्ने गरी अघि बढेको मन्त्री मास्केले बताए ।

2

मन्त्री मास्केले विपद्को अवस्थामा सडक सञ्जालको अवरोध हटाउन मन्त्रालय मातहत क्यूआरटी गठन गरेका छन् । सो टिमलाई परिचालन गरी मन्त्री मास्के हेटौँडा काठमाडौँ सडक खुलाउने प्रयत्नमा रहेका छन् । क्यूआरटी  संयोजक पुष्करप्रसाद पोखरेलेको नेतृत्वमा हेटौँडा तर्फबाट पनि सडक खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

पोखरेलको टोली हेटौँडा हुँदै पहिरो पन्छाउँदै भिमफेदी पुगेको छ । सो टोलीले भैँसेको २ वटा ठुला पहिरो पन्छाएर भीमफेदीतर्फ अघि बढेको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक पोखरेलले बताए । माण्डु खोला क्रस भइसकेको र त्यसभन्दा अगाडि ठुलो पहिरो नरहेको भीमफेदीसम्म सहजै यात्रा गर्न सकिने उनले बताए ।

भीमफेदीबाट कुलेखानी तर्फको सडकको पहिरो शनिवार नै प्रहरीले पन्छाएको उनले बताए । सो खण्डमा खासै समस्या नरहेकाले आजै कुलेखानीसम्म सडक खुलाउने मन्त्रालयको योजना रहेको उनको भनाई छ । कुलेखानीबाट अघि हुमानेसम्मको खण्डमा भने केही पहिरो रहेकाले सोमबारसम्ममा सडक खुलाउने लक्ष्य रहेको उनले बताए ।

कुलेखानी जलाशयको बाँध खोल्दा सिमखोलाको पुलमा क्षति पुगेको र सडक नै बगाएकाले यातायात आवतजावत बन्द भएकाले त्यसको वैकल्पिक व्यवस्थाका लागि मन्त्रालयले योजना बनाउने उनले बताए । सो स्थानको क्षति अवलोकनका गरेको र वैकल्पिक रूपमा व्यवस्थाको काम गरिने उनले बताए । सो सडक खुलाउन पोखरेलको टिमले २ वटा स्काभेटर र २ वटा जेसीवी  प्रयोग गरेको उनको भनाई छ ।

फाखेल तर्फको बाटो खुलाउन मन्त्री मास्केले हुमानेबाट कुलेखानी खण्डमा अर्को टोली परिचालन गरेका छन् । इन्जिनियर दिपेन्द रैतालाई फिल्डमा खटाएर हुमानेबाट मकवानपुरतर्फ महालक्ष्मी खोलासम्म सडकको पहिरो पन्छाउने काम भइरहेको छ ।

इन्जिनियर रैताका अनुसार महालक्ष्मी खोलादेखि कुलेखानी कलङ्कीसम्मको सडकमा खासै समस्या छैन । सामान्य पहिरोहरू पन्छाएर सो खण्ड सञ्चालन गर्न सकिने उनको भनाई छ । सो खण्डको सडक निर्माणाधीन अवस्थामा रहेको उनले बताए । निर्माण व्यवसायी पीआर इन्फ्रा इस्ट्रक्चर कम्पनीको उपकरणको प्रयोग गरेर हुमानेबाट महालक्ष्मी खोलासम्मको सडक मर्मतको काम अघि बढाएको उनको भनाई छ ।

उनका अनुसार सो खण्डमा ६ स्थानमा पहिरो रहेकाले सोमबारसम्म क्लियर गर्ने गरी ३ वटा जेसीवी  प्रयोग गरेर काम भइरहेको छ । महालक्ष्मी खोलामा १५० मिटर सडक बगाएकाले त्यसलाई पुर्ने र मर्मत गर्ने काम गरिने उनले बताए । १२.५ किलोमिटर उक्त सडक खण्डको सडक निर्माणका लागि प्रदेश सरकारले ३८ करोड रुपैयाँ लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको छ ।

यता कुलेखानी सिस्नेरी दक्षिणकाली सडकमा पनि पहिरो पन्छाउने काम भइरहेको छ । सो खण्डको रामचन्द्र भन्ज्याङमा ठुलो पहिरो रहेको छ । सो सडक खुलाउन हाल २ वटा जेसीवी प्रयोग भइरहेको छ ।

सडक बन्द हुँदा इन्धन अभावका कारण पहिरो पन्छाउन कठिनाइ भएकाले मन्त्रालयले वैकल्पिक व्यवस्था गरेर इन्धन पुर्‍याएको थियो । सो खण्डको सडक खुलाउन सोमबार थप एक जेसीवी पठाउने तयारी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप