आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
विपद्

झ्याप्ले खोलाको दुःखद घटनामा जे देखियो

यसरी परे ३ जिल्लाका बस एउटै पहिरोमा (भिडियो)
आइतबार, १३ असोज २०८१

धादिङ । नाम झ्याप्ले खोला भए पनि सामान्य खहरे खोँच । काठमाडौँ र धादिङको सिमानास्थल, जहाँ शनिबार राति २ बजेको आसपास हृदयविदारक घटना घट्यो ।

पहिरो गएको स्थान छेउमै सडक किनारमा स्थानीय कमला ढकालको चिया–खाजाको टहरो पसल थियो । राति ९ बजे उनी सुत्ने बेलामा बिजुली बत्ती थिएन । पसलभन्दा अगाडि पहिरो गएर बाटो बन्द भएको थियो । बिहान ४ बजे बिउँझिदा उनको पसलमा पहिरोबाट आएको हिलो पानी थियो । बाहिर हेर्दा पहिरोले गाडीहरू पुरिएका थिए ।

पहिरोले गाडी पुरेको स्थानभन्दा १ सय मिटर अगाडि सुरुमा पहिरो गएको थियो । सो पहिरोका कारण काठमाडौँतर्फ आउने गाडी झ्याप्ले खोलाको घटना हुने ठाउँमा रोकिन बाध्य भए । बाहिर अँध्यारो थियो, मुसलधारे पानी परिरहेको थियो । राति २ बजे आसपास सडकमाथिबाट पहिरो खस्दा बुटवल, चितवन र गोरखाबाट आएका ३ वटा यात्रुवाहक बस पुरिए । ती सवारी साधनबाट आइतबार दिउँसो ३५ शव निकालिएको छ ।

सडकको भित्तामा अर्को एउटा कार पनि पुरिएको आशङ्का गरिएको छ, जसलाई सुरक्षाकर्मीले पहिरो पन्छाएर खोज्ने काम गरिरहेका छन् ।

आइतबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी झण्डै २ सय सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए । ३ वटा जेसीबी प्रयोग गरी पहिरो पन्छाउँदै बस र त्यसभित्र रहेका यात्रुको शव निकालिएको थियो ।

सुरक्षाकर्मीहरूले मृतकको पहिचानका लागि उनीहरूको साथमा परिचयपत्र भए–नभएको पनि खोजिरहेका थिए । दुवैतर्फ बाटो बन्द भएका कारण घटनास्थलमा सवारी चालकहरू र स्थानीयहरूको ठुलो भिड लागेको थियो ।

हराइरहेका यात्रीका आफन्त पनि घटनास्थल पुगिरहेका थिए । उनीहरूको नाम र फोन नम्बर टिप्न प्रहरीले ‘हेल्प डेस्क’को व्यवस्था गरेको थियो । 

  • सानो पहिरोले सडक थुन्दा ठुलो दुर्घटना

दुर्घटनास्थल भन्दा झण्डै १ सय मिटर अगाडि काठमाडौँतर्फ सानो पहिरोले सडक अवरोध गरेको थियो । स्थानीयका अनुसार राति ९ बजेतिर गएको सो पहिरोले बाटो बन्द भएको थियो । तत्काल जेसीबी ल्याएर त्यो पहिरो पन्छाइ बाटो खुलाएको भए त्यति ठुलो दुर्घटना नहुने स्थानीय कमला ढकालले बताइन् ।

सो पहिरोका कारण सिङ्गो राजमार्गका पूरै सवारी साधन ठप्प भए । पहिरो हटाउनका लागि राति प्रहरीलाई फोनबाट अनुरोध गरे पनि सुनुवाइ नभएको राजमार्गमा अलपत्र परेका सवारी चालकहरूले बताए ।

पहिरोमा परेको एउटा माइक्रो बसका चालकले घाइते अवस्थामा पानी माग्दासमेत पानी दिने अवस्था नभएको गुनासो गरे । जितपुर सिमराबाट गाडी लिएर काठमाडौँ आएका विजय भगत मालीले गाडीमा जिउँदै रहेका सवारी चालकले पानी माग्दा पनि नपाएको र घटना घटेको २४ घण्टा बितिसक्दा पनि खोज र उद्धारमा ढिलाइ गरेकोमा सरकारप्रति आक्रोश पोखे ।

पहिरो तत्काल पन्छिने नभएपछि बस पुरिएको ठाउँको सडक अलि फराकिलो भएकाले धेरै सवारी एकै ठाउँ आइपुगेका थिए । जहाँ पुरिएका बस बाहेक अन्य २ वटा ठुला डिलक्स बसमा पनि पहिरोले नराम्रोसँग क्षति पुर्‍याएको छ ।

चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ज १३४५ नम्बरको माइक्रो बसबाट १३ जना,  गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख २२७० नम्बरको बसबाट ८ जना र बुटवलबाट काठमाडौँ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट १४ जनाको शव निकालेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।

पोस्टमार्टमपछि सनाखत गरेर उनीहरूको शव आफन्तलाई बुझाउने तयारी छ ।

राजमार्गमा सवारी बन्द भएपछि त्यसआसपास खुलेका पसलहरूले अलपत्र परेका सवारी चालक तथा यात्रुसँग दोब्बर मूल्यमा खानेकुरा बेच्न थालेको गुनासो व्याप्त छ । सवारी चालक विजय भगत मालीले भने, ‘राजमार्ग बन्द भयो, सडकका पसलहरूले खाने कुराको दोब्बर पैसा लिन थालेका छन् । पैसा हुने मैले त दोब्बर तिरेर खाएँ, नहुने सवारी चालक र यात्रुले के खान्छन् ? कसले हेर्ने यो कुरा ?’

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले पहिरोले सवारी साधन पुरेको खबर पाएपछि शनिबार अपराह्नदेखि नै खोज तथा उद्धारको काम थालेको बताए । शनिबार १४ जनाको शव उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको र वर्षा तथा पहिरोले बाटो अवरोध गरेका कारण तत्काल उद्धार गर्न कठिनाइ भएको उनले उल्लेख गरे ।

पानी परेन भने आइतबार साँझसम्म एकतर्फी बाटो खुलाउन सकिन्छ कि भनेर प्रयत्न गरिरहेको उनले बताए ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया