आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
विपद्

‘आपूर्ति ठप्प भए पनि खाद्यान्नमा छैन समस्या’

२ लाख क्विन्टल चामल सरकारी निकायमा मौज्दात, तत्काल अभाव नहुने
आइतबार, १३ असोज २०८१, १९ : ०६
आइतबार, १३ असोज २०८१

काठमाडौँ । अहिले काठमाडौँ जोड्ने सबैजसो राजमार्ग अवरुद्ध छन् । दसैँ नजिकै बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा अत्यावश्यक दैनिक उपभोग्य वस्तु आपूर्तिमा समस्या हुने हो कि भन्ने धेरैको आशंका छ । आपूर्तिमै समस्या आएपछि खाद्यान्न अभाव हुने, अत्यधिक मूल्य वृद्धि हुने तथा कालोबजारी बढ्ने जस्ता समस्या विगतमा देखिएकै हुन् । 

अहिले तरकारी आपूर्ति ठप्पप्रायः हुँदा सबैजसो तरकारीको मूल्य आकासिएको छ । आपूर्तिको परिमाण घटेकाले मूल्यवृद्धि भएको कालीमाटी तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले बताए ।

‘माग धेरै छ आपूर्ति थोरै छ । त्यसैले मूल्य पनि बढेको हो । बजारको नियम नै यस्तै हो ,’ निर्देशक श्रेष्ठले भने, ‘आइतबार काठमाडौँ भक्तपुर, ललितपुर, नुवाकोट जिल्लामा उत्पादन हुने तरकारी कालीमाटी आएको थियो ।’

श्रेष्ठका अनुसार शनिबार १५६.९३ मेट्रिक टन तरकारी आएको थियो । शुक्रबार ५७१.९१ मेट्रिक टन तरकारी आयो । त्यसअघि बिहीबार ९६४.१० मेट्रिक टन तरकारी आएको थियो । 

दैनिक आगमनको तुलनामा आइतबार भने तरकारी आपूर्ति ठुलो परिमाणले घटेको छ । आइतबार दिउँसोसम्म ३८ मेट्रिक  टन तरकारी मात्रै कालीमाटी आइपुगेको छ । तत्काल अवरुद्ध सडक मर्मत गरेर सरकारले आपूर्तिमा सहजीकरण गरिदिनुपर्ने निर्देशक श्रेष्ठको भनाइ छ । 

राजमार्गहरू ठप्प हुँदा खाद्यान्नको आपूर्ति पनि ठप्प छ । आपूर्ति नभए पनि तत्काललाई समस्या नहुने खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्य बताउँछन् । 

‘अहिले एक–दुई महिना आपूर्ति ठप्प भए पनि खाद्यान्नमा समस्या छैन । किनभने पहिला कोरोनाकालमा, नाकाबन्दीमा समस्या भएको थिएन,’ उनले भने, ‘व्यापारीहरुले ठुलो परिमाणमा स्टक राखेका हुन्छन् । चाडपर्वमा स्टक झन् बढी हुन्छ ।’ खाद्यान्न पर्याप्त मौज्दात रहेकाले केही दिनको आवागमन बन्दले कुनै फरक नपर्ने उनको भनाइ छ । 

सरकारी निकायले पनि खाद्यान्नको मौज्दातबारे चासो देखाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायसँग रिपोर्टिङ लिएको र पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको उनको सचिवालयले जानकारी दिएको छ । 

खाद्यान्नको भण्डारण गर्ने सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खाद्यान्न मौज्दात पर्याप्त रहेकाले तत्काल समस्या नहुने सरकारी निकायको भनाइ छ । कम्पनीका प्रवक्ता अम्बिका पौडेलका अनुसार तत्काललाई खाद्यान्नमा कुनै समस्या छैन । देशैभरका खाद्य भण्डारहरूमा पर्याप्त खाद्यान्न रहेको छ । 

‘चाडपर्वलाई पठाउनुपर्ने खाद्यान्न ढुवानी भइसकेको छ । अहिले राजमार्ग बन्द हुँदा हामीलाई समस्या छैन,’ पौडेलले भनिन् । 

  • कुन प्रदेशमा कति मौज्दात ?

प्रवक्ता पौडेलका अनुसार कोशी प्रदेशमा ७ हजार ४०७.४४ क्विन्टल चामल मौज्दात रहेको छ । यस्तै मधेसमा १० हजार ७३८.०४ क्विन्टल, बागमतीमा १४ हजार २६९ क्विन्टल, गण्डकीमा २ हजार २४९.६२ क्विन्टल, लुम्बिनीमा २३ हजार ८९०. ०१ चामल मौज्दात छ । 

यस्तै कर्णालीमा २८ हजार ३९७.८ र सुदूरपश्चिममा १४ हजार ३२०.५२ क्विन्टल मौज्दात रहेको छ । 

सातै प्रदेशमा गरी कुल १ लाख ४ हजार ४७३.१९ क्विन्टल चामल मौज्दात छ । बोलपत्रबाट सम्झौता भएको र आउने क्रममा रहेको ९० हजार ४३१ क्विन्टल बाँकी छ । यो विभिन्न खरिद केन्द्रहरूमा आउने क्रममा रहेको छ । 

खाद्य कम्पनीसँग मौज्दात रहेको र आउँदै गरेको गरी कुल १ लाख ९४ हजार ९०४.९७ क्विन्टल चामल रहेको छ । 

आयात भइसकेको चामल देशैभरका सबै जिल्लाका शाखाहरूमा पठाइसकेको कम्पनीकी प्रवक्ता पौडेलले बताइन् । आउन बाँकी पनि सिधै विभिन्न जिल्लाका शाखामा पठाउने व्यवस्था रहेकाले खाद्यान्न आपूर्तिमा समस्या नरहेको उनको भनाइ  छ । 

  • तत्काल सबै राजमार्ग मर्मत गरिने

आइतबार साँझसम्म काठमाडौँ जोड्ने ५ राजमार्ग सुरु हुने  सरकारले जनाएको छ । त्रिभुवन राजमार्ग,  पृथ्वी, अरनिको र कान्ति राजमार्ग आइतबारै सुरु गरिने सडक विभागका योजना महाशाखा प्रमुख तथा सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए । 

‘यी पाँच राजमार्गमा अहिले मर्मतको काम भइरहेको छ । त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग पूर्ण रूपमा अरनिको बाह्रबिसेसम्म कान्ति राजमार्गमा बागमती पुलमा बाहेक अरू स्थानमा सुरु हुन्छ,’ उनले भने । 

यस्तै देशैभरका सबै राजमार्ग मर्मत सम्भार गरी छिटोभन्दा छिटो यातायात सञ्चालनमा ल्याउने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप