आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाढी, पहिरोबाट ८ जना विद्यार्थीको मृत्यु, १२ जिल्लाका ५३ विद्यालयमा क्षति

आइतबार, १३ असोज २०८१, १९ : ०६
आइतबार, १३ असोज २०८१

काठमाडौँ । धेरै वर्षापछि आएको बाढी, पहिरोका कारण हालसम्म ८ जना विद्यार्थीको मृत्यु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार ६ जनाको मृत्यु भएको छ । बाँकी २ जना बुटवलको कालिका माविमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको हो । मन्त्रालयले ती दुई जना विद्यार्थीको मृत्युको विवरण भने अध्यावधिक गरेको छैन ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ६ जनाको विद्यार्थीको मृत्यु भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बात्सल्यदेवि माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको जनाए । उक्त विद्यालयको कक्षा ८ देखि ९ कक्षामा अध्ययनरत विद्यार्थीहरूको मृत्यु भएको बताए ।

बाढी, पहिरो तथा डुबानका कारण देशभरका १२ जिल्लाका ५६ वटा विद्यालयमा प्रभावित बनेका छन् । तीमध्ये ५३ विद्यालयमा क्षति पुगेको छ भने ३ विद्यालयमा विपद् प्रभावितका लागि प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ ।

रसुवाका तीन विद्यालय, सिन्धुलीका २ विद्यालय, तेह्रथुमको १ विद्यालय, मकवानपुरको ३ विद्यालय, हुम्लाको १ विद्यालय, जाजरकोटको १ विद्यालय, पाचँथरको  १ विद्यालय, मोरङको १ विद्यालय, तथा सिराहा, सर्लाही, सप्तरी र पर्साका ४२ विद्यालयमा क्षति पुगेको प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

मधेस प्रदेशका ४२ वटा विद्यालयमा क्षति पुगेको र त्यसबाट १० हजार ९०० विद्यार्थीको पठनपाठन प्रभावित भएको प्रवक्ता भट्टराईले बताए ।

सिन्धुलीबाट ५० जना शिक्षक तथा विद्यार्थीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । सिन्धुलीको कुशेश्वर दुम्जा गाउँपालिकामा रहेको महादेव गुरुकुल विद्यालयका ३३ जना शिक्षक तथा विद्यार्थीहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

त्यस्तै सिन्धुलीकै सुनकोशी गाउँपालिकास्थित पशुपति आधारभूत विद्यालयको भवन पहिरोले पुरिएको र १७ जना फरक क्षमता भएका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप