आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काबेली करिडोर प्रसारण लाइनका चारवटा टावरमा क्षति, १८५ मेगावाट विद्युत् उत्पादन बन्द

आइतबार, १३ असोज २०८१, १८ : २९
आइतबार, १३ असोज २०८१

काठमाडौँ । इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्‍याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । 

टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रूपमा १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो । काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको  खण्डमा पर्ने ५०,५१,५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ । यी दुईवटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको छ । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रीड महाशाखाको टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षतिको जानकारी लिएको छ । महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताए । प्रमुख खड्काले  काठमाडौँबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञ समूह तथा पाँचथरमा रहेको सर्वे टोली सोमबारसम्ममा फिल्डमा पुग्ने र  अवलोकनपश्चात् प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप