आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बिपी राजमार्गको सिन्धुली खण्ड सञ्चालनमा

आइतबार, १३ असोज २०८१, १८ : २१
आइतबार, १३ असोज २०८१

हेटौंडा । बिपी राजमार्ग अन्तर्गत सिन्धुली तर्फको सडक सुचारु भएको छ । निरन्तरको वर्षाका कारण सडक भासिएर अवरुद्ध बनेको राजमार्ग अन्तर्गतको नेपालथोक–खुर्कोट–सिन्धुली सडक मर्मत गरी सञ्चालन गरिएको हो ।

सुरक्षा निकायको सक्रियतामा सो सडकमा भएका पहिरोहरू पन्छाएर सञ्चालनमा ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी लिलानाथ शर्माका अनुसार सिन्धुली तर्फको पहिरो हटाएर  सडक सञ्चालनमा ल्याएको छ । सिन्धुलीको सिमाना नेपालथोकसम्म भएका अवरोधहरू हटाएर सडक सञ्चालनमा ल्याइएको उनले बताए ।

सुनकोसी नदीको कटानले बिपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ कान ढुंग्री नजिक आइतबार बिहान भासिएको सडक नेपाली सेनाले डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याएको हो । नेपाली सेनाको भवानीदल बक्स गणका कर्णेल बद्री कुँवरको नेतृत्वमा डाइभर्सन निर्माण गरेका गरिएको थियो ।

सडक भासिएपछि उक्त खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ भने मुल्कोट–खुर्कोट सडक नेपाली सेनाले डाइभर्सन निर्माण गरेर वैकल्पिक रूपमा सञ्चलनमा ल्याइएको प्रजिअ शर्माले बताए । सडक सञ्चालनमा ल्याएर अलपत्र परेका नागरिकहरूलाई सिन्धुलीतर्फ फर्काइएको उनले बताए ।  

‘अहिले खुर्कोटदेखि नेपालथोकसम्मको बाटो क्लियर गरेका छौँ । सिन्धुलीतर्फ समस्या छैन । नेपालथोकबाट धुलिखेलसम्मको खण्ड काभ्रेको पर्दछ । उताबाट पनि मर्मत तथा पहिरो पन्छाउने काम भइरहेको हुनुपर्छ । सडक सञ्चालन पश्चात् यात्रुहरूलाई सिन्धुलीतर्फ फर्काइएको छ,’ उनले भने ।

भवानीदल बक्स गणका कर्णेल बद्री कुँवरका अनुसार सुनकोशी र रोशी खोलाको किनारमा बढी सडक क्षति भएको थियो । सुरक्षा निकायको पहलमा सडक सञ्चालनमा ल्याएको हो । सडक विभाग र स्थानीय तहको समन्वयमा ५ वटा मेसिन प्रयोग गरेर सडक सञ्चालन ल्याइएको उनले बताए ।

सुरक्षा निकायको संयुक्त टोलीले पहिरो पन्छाउने, भासिएका सडकहरू डाइभर्सन गरेर पुर्ने लगायतको काम गरेको उनको भनाई छ । नेपालथोकबाट अगाडि काभ्रे तर्फको क्षेत्रमा सडक थप बिग्रिएको र खुल्न केही समय लाग्ने उनले बताए । सडक सञ्चालनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ६० र नेपाली सेनाका २५ जना जनशक्ति परिचालन गरिएको कर्णेल कँवरले बताए ।

‘खुर्कोटदेखि नेपालथोकसम्म ठाउँ–ठाउँमा पहिरो खसेको थियो । १०÷१२ स्थानमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको छ । २ स्थानको पहिरो निकै ठुलो थियो । कमेरोफाटको पहिरो र भासिएको सडक पन्छाउन २ वटा जेसिबी प्रयोग गरेका थियौँ । खुर्कोटतर्फ एउटा जेसिबी प्रयोग गरिएको थियो । अधिकांश काम मेसिनको प्रयोगबाट गरिएको थियो,’ उनले भने

उनका अनुसार सिन्धुलीबाट बर्दिबाससम्मको यात्रामा कुनै बाधा छैन । हाल खुर्कोटमा केही बिरामी र सुत्केरीहरूलाई काठमाडौँ पठाउने तयारी भइरहेको उनले बताए । सेनाको एमआइ हेलिकप्टरबाट ६÷७ जना बिरामी, एक महिनाको सुत्केरी र बच्चालाई काठमाडौँ पठाउने तयारी रहेको उनले बताए । हेलिकप्टर आवश्यक नरहेकालाई सिन्धुली फर्काइएको र सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको उनको भनाई छ । हाल खुर्कोटमा २५ जनाको संख्यामा उद्धार गर्नुपर्ने व्यक्तिहरू रहेको उनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप