आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हवाई टिकटको अधिकतम मूल्य नलिने वायुसेवा सञ्चालक संघको निर्णय

आइतबार, १३ असोज २०८१, १८ : ०३
आइतबार, १३ असोज २०८१

काठमाडौँ । विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले उक्त निर्णय गरेको हो ।

सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिए । 

उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए । यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उनको भनाइ छ ।

हवाई भाडा महँगो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए ।

हवाई भाडादर बढी लिएको चर्को आलोचना भएपनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि  विपद्को अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरूलाई आग्रह गरेको जनाएको छ । “कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ”,  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने । 

हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने उनको भनाइ छ । “एयरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार उनीहरुले भाडा निर्धारण गर्ने चलन छ”, उनले भने ।

हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रूपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप