नेपालका युवा नेताहरू भारत भ्रमणमा
काठमाडौँ । नेपाली राजनीतिक दलका युवा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुन यतिखेर भारतमा छन् । भारत सरकारका लागि थिङ्क ट्याङ्कको रूपमा काम गरिरहेको अब्जर्भर रिसर्च फाउण्डेशन (ओआरएफ)को निमन्त्रणामा असोज ९ गते भारत पुगेका नेपालका विभिन्न दलका युवा नेताहरू नेपाल–भारत सम्बन्ध, भारतको कूटनीतिक अवस्थालगायतका विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।
भ्रमण टोलीमा नेपाली कांग्रेसका शान्ति विक (सांसद), योगेन्द्र चौधरी (केन्द्रीय सदस्य), नानीमैया शिवाकोटी (केन्द्रीय सदस्य), एमालेका नारायण आचार्य (सांसद), कल्पना कटुवाल (मेयर), लोसपा नेपालका महासचिव मनिष मिश्र, जनमत पार्टीका सांसद अनिता साह, माओवादीका हेमकुमार राई (केन्द्रीय सदस्य) सरल सहयात्री (प्रदेश सांसद), नेकपा एकीकृत समाजवादीका मोहन गौतम छन् ।
यो टिममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि एक जना सांसद सहभागी हुने तय भएको थियो । तर सो पार्टीका सभापति रवि लामिछानेको सहकारी काण्डसम्बन्धी विवाद बढेका कारण भ्रमण रद्द गरेको बताइएको छ ।
नेपाली युवा नेताहरू आइतबार अयोध्या पुगेका छन् । अयोध्यामा राम मन्दिर दर्शन गरेर आजै उनीहरू बैंग्लुरु पुग्नेछन् । त्यहाँ इन्डिया टेक ट्रान्सफर्मेसनसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको भ्रमणमा सहभागी एक नेताले बताए ।
उनीहरूले इन्डिया इन्स्टिच्युट अफ साइन्स, एनआईएस, अन्तरिक्ष अनुसन्धान केन्द्रको पनि अवलोकन गर्ने कार्यक्रम छ । उनीहरूले भारतीय विदेश मन्त्रालय, सूचना तथा प्रविधि मन्त्रालयका अधिकारीसँग पनि नेपाल–भारत सम्बन्धमा अन्तरक्रिया गरिसकेका छन् ।
नेपालका युवा नेताहरूले भारत सरकारका पूर्वमन्त्री एवं केन्द्रीय सांसद सञ्जय झासँग पनि नेपाल–भारत सम्बन्धबारे अन्तरक्रिया गरेका थिए ।