सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

कामिन्दु मेन्डिस अर्थात् श्रीलंकाली ‘ब्राडम्यान’

सोमबार, १४ असोज २०८१, ०६ : ००
सोमबार, १४ असोज २०८१

काठमाडौँ । कुनै समय श्रीलंकाली क्रिकेट टोली सफलताको शिखरमा थियो । श्रीलंकाली क्रिकेटसँग खेल्न विश्व क्रिकेटका हस्तीहरू पनि हच्कन्थे । विश्व क्रिकेटमा श्रीलंकाली टोलीले एकपछि अर्को सफलताको शिखर चुमेको थियो । 

खेल मैदानमा विश्वभरका क्रिकेटर श्रीलंकाली शैलीलाई पछ्याउँथे । समग्रमा, त्यो कालखण्डमा विश्व क्रिकेटमा श्रीलंकाको नाम सम्मानपूर्वक लिइन्थ्यो । सन् २०१० को मध्यसम्म श्रीलंकाली टोलीमा अरविन्दा डी सिल्भा, माहेला जयाबद्र्धने, सनथ जयसूर्या, कुमार सांगाकाराजस्ता प्रभावशाली खेलाडीको बाहुल्य थियो । उनीहरू विश्वभरका जस्तोसुकै माहिर बलरलाई पनि तह लगाउने क्षमता राख्थे ।

तर, पछिल्लो समय श्रीलंकाली क्रिकेटको स्तर निकै खस्किएको छ । एकपछि अर्को निराशाजनक प्रदर्शनबाट आक्रोशित बनेका श्रीलंकाकै पूर्वक्रिकेटरहरु श्रीलंकाली क्रिकेटमा ब्यापक सुधारको खाँचो रहेको तथ्य औँल्याउँछन् । उनीहरू भन्छन्, ‘क्रिकेट खेल्ने श्रीलंकाको जुन शैली थियो, त्यो अहिलेका हाम्रा खेलाडीमा देखिँदैन ।’

kamindu 2

तर, पछिल्लो समय श्रीलंकाली क्रिकेटले फेरि पुरानै लयमा फर्कने संकेत दिएको छ । खासगरी कामिन्दु मेन्डिसजस्ता प्रतिभाशाली खेलाडीले आफ्ना अग्रजहरूको गौरवशाली विरासत थाम्ने संकेत दिएका छन् । हालै सम्पन्न न्युजिल्यान्डविरुद्धको टेस्ट शृङ्खलाबाट पनि यसको झल्को पाइन्छ । 

यतिबेला कामिन्दु मेन्डिसजस्ता युवा खेलाडीको उत्कृष्ट प्रदर्शनले विश्व क्रिकेटको ध्यान श्रीलंकातर्फ तानिएको छ । न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टपछि त उनी झनै चर्चित बनेका छन् । उनले आफूलाई विश्व क्रिकेटका सर्वकालीन महान् खेलाडी सर डन ब्राडम्यानको हाराहारीमा उभ्याएका छन् । 

कामिन्दु मेन्डिसले विश्व टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम खेल खेलेर एक हजार रन पुरा गर्ने खेलाडीका रूपमा ब्राडम्यानसँग बराबरी गरेका हुन् । ब्राडम्यानले सन् १९३० मा टेस्ट क्रिकेटको केवल १३ इनिङ्समा एक हजार रन पुरा गरेका थिए । कामिन्दु मेन्डिसले पनि १३ इनिङ्समै एक हजार रन पुरा गरेर आफूलाई ब्राडम्यानको हाराहारीमा उभ्याएका हुन् । 

kamindu 5

ब्राडम्यान र कामिन्दु यो सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा आसीन छन् । सबैभन्दा कम इनिङ्स खेलेर एक हजार टेस्ट रन बनाउने ब्याट्सम्यानको कीर्तिमान भने संयुक्त रूपमा इङ्ल्यान्डका हरबर्ट सुटक्लिफ र वेस्ट इन्डिजका इवर्टन विक्सको नाममा रहेको छ । उनीहरूले १२ इनिङ्समा एक हजार टेस्ट रन बनाएका थिए । 

तर, सोमबारदेखि २६औँ वर्षमा पाइला टेक्न लागेका कामिन्दु मेन्डिस पछिल्लो ७५ वर्षयता यस्तो कीर्तिमान बनाउने पहिलो ब्याट्सम्यान हुन् । उनले यस्तो कमाल न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा गरेका हुन् । त्यो खेलमा उनले अविजित एक सय ८२ रनको योगदान गरेका थिए ।  

कामिन्दु दोहोरो शतकभन्दा केवल १८ रनले पछाडि रहँदा श्रीलंकाले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । उनले लामो समय क्रिजमा संघर्ष गरेर दुई सय ५० बलमा चार छक्का र १६ वटा चौका पनि हिर्काएका थिए । टेस्ट क्रिकेटमा कामिन्दु मेन्डिसले बनाएको यो पाँचौँ शतक थियो ।

यसैगरी, कामिन्दु मेन्डिस आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको पाँच वर्षको इतिहासमा सबैभन्दा कम इनिङ्स खेल्दै एक हजार रन बनाउने खेलाडीको सूचीमा पनि दरिएका छन् । वर्ल्ड टेस्ट च्याम्पियनसिपको केवल आठ खेल (१३ इनिङ्स) मा उनले यस्तो कीर्तिमान बनाएका हुन् । 

kamindu 4

कामिन्दु मेन्डिसले सन् २०२२ को जुलाईमा अस्ट्रेलियाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ खेलमै उनले ६१ रन बनाएका थिए । त्यो खेलमा श्रीलंकाली टोली ३९ रनले विजयी भएको थियो ।

यसैगरी, कामिन्दु मेन्डिसले हालसम्म आठवटा टेस्ट खेलेका छन् र आफूले खेलेको हरेक टेस्टमा ५० वा त्योभन्दा बढी रन बनाएका छन् । उनी आफूले खेलेको हरेक टेस्टमा अर्धशतक वा त्योभन्दा बढी रन बनाउने विश्वकै एकमात्र क्रिकेटर पनि हुन् । उनले पाकिस्तानका ब्याट्सम्यान साउद सकिलको कीर्तिमान तोडेका हुन् । साउद सकिलले टेस्टमा ‘डेब्यू’ गरेयता लगातार सात खेलमा ५० वा त्योभन्दा बढी रन बनाएका थिए । 

उनले हालसम्म टेस्ट क्रिकेटमा आठ खेलको १३ इनिङ्समा दुईपटक अविजित रहँदै ९१.२७ को औसतमा कुल एक हजार चार रन बनाएका छन् । यस क्रममा उनले पाँच शतक र चारवटा अर्धशतक प्रहार गरेका छन् । 

यसैगरी, कामिन्दु मेन्डिस टेस्ट क्रिकेटमा सबैभन्दा कम इनिङ्स खेल्दै एक हजार रन बनाउने पहिलो एसियाली खेलाडी पनि हुन् । कामिन्दुले भारतका पूर्वखेलाडी विनोद काम्बलीलाई पछि पार्दै यो कीर्तिमान आफ्नो नाममा ल्याएका हुन् । काम्बलीले १४ इनिङ्समा एक हजार टेस्ट रन पुरा गरेका थिए । 

kamindu 3

कामिन्दु मेन्डिस टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा छिटो पाँचवटा शतक प्रहार गर्ने एसियाली ब्याट्सम्यान पनि बनेका छन् । उनी विश्व क्रिकेटमा सबैभन्दा छिटो पाँचवटा शतक बनाउने ब्याट्सम्यानको सूचिमा पनि तेस्रो स्थानमा उक्लिएका छन् । 

कामिन्दुसँगै ब्राडम्यान र जर्ज हेड्लीले पनि १३ इनिङ्समा पाँच शतक बनाएका थिए । वेस्ट इन्डिजका एवर्टन विक्सले भने सन् १९४८ मा १० इनिङ्समा पाँचवटा शतक बनाएका थिए । हबर्ट सटक्लिफले १२ इनिङ्समा पाँच शतक बनाएका थिए । सटक्लिफले सन् १९२५ मा यस्तो उपलब्धि हासिल गरेका थिए । 

यसैगरी, निल हार्वेले पनि १२ इनिङ्समा पाँचवटा टेस्ट शतक प्रहार गरेका थिए । उनले सन् १९५० मा यस्तो उपलब्धि हासिल गरेका हुन् । ब्राडम्यानले भने सन् १९३० मा यस्तो उपलब्धि हासिल गरेका थिए । यसको अर्थ ब्राडम्यानले यस्तो उपलब्धि हासिल गरेको ९४ वर्षपछि कामिन्दुले उनको बराबरी गरेका हुन् ।  

kamindu 1

कामिन्दुले अस्ट्रेलियाविरुद्ध आफ्नो ‘डेब्यू’ टेस्ट खेलेको २० महिनापछि मात्र दोस्रो टेस्ट खेल्ने अवसर पाएका थिए । उनले आफ्नो खेल जीवनको दोस्रो टेस्ट बंगलादेशविरुद्ध सिल्हटमा खेलेका थिए । उनले त्यो टेस्टको दुवै इनिङ्समा शतक बनाउँदै अभूतपूर्व क्षमताको परिचय दिएका थिए । त्यसलगत्तै खेलिएको चटगाउँ टेस्टमा पनि उनले अविजीत ९२ रनको इनिङ्स खेलेका थिए । 

यसैगरी, केही सयअघि म्यानचेस्टरमा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा पनि कामिन्दु मेन्डिसले शतक बनाएर गतिलो चर्चा बटुलेका थिए । त्यो शृंखलामा उनी श्रीलंकाको सबैभन्दा सफल ब्याट्सम्यानका रूपमा देखा परेका थिए । शृङ्खलामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि उनी तेस्रो स्थानमा थिए । उनले तीन टेस्टको त्यो शृङ्खलामा पाँच इनिङ्स खेल्दै ५३.४० को औसतले कुल दुई सय ६७ रन बनाएका थिए । 

विश्व टेस्ट क्रिकेटमा सन् २००० पछि लगातार आठ टेस्टमा तीन वा त्योभन्दा बढी शतक बनाउने खेलाडी पाँचजना मात्र छन् । मेन्डिसका अतिरिक्त ह्यारी ब्रुकले आठ टेस्टमा चार शतक तथा यशस्वी जैसवाल, मयंक अग्रवाल र चेतेश्वर पुजाराले आठ टेस्टमा तीन–तीन शतक बनाएका छन् । 

kamindu 6

कामिन्दु मेन्डिसले पाँचौँ वा त्योभन्दा तल्लो क्रममा ब्याटिङ गर्न आएर एकै वर्ष पाँचवटा शतक बनाएका हुन् । टेस्ट क्रिकेटमा पाँचौँ वा त्योभन्दा तल्लो क्रममा ब्याटिङ गर्न आएर एकै वर्ष पाँच वा त्योभन्दा बढी शतक बनाउने अन्य ब्याट्सम्यान जोनी बेयरस्टो (सन् २०२२ मा ६ शतक) र माइकल क्लार्क (सन् २०१२ मा पाँच शतक) हुन् । 

कामिन्दु मेन्डिसका अतिरिक्त हालसम्म तीनजना श्रीलंकाली ब्याट्सम्यानले मात्र एकै वर्ष पाँच वा त्योभन्दा बढी टेस्ट शतक बनाउन सकेका छन् । सन् २००९ मा तिलकरत्ने दिल्सानले ६ वटा टेस्ट शतक, सन् १९९७ मा अरविन्दा डा सिल्भाले सातवटा शतक र सन् २००९ मा माहेला जयाबद्र्धनेले पाँचवटा टेस्ट शतक बनाएका थिए ।

कामिन्दुले टेस्ट क्रिकेटमा एक हजार रन पुरा गर्दासम्म ९१.२७ को औसतले रन बनाएका छन् । कामिन्दुभन्दा बढी औसतमा खेलेर एक हजार रन बनाउने खेलाडी ब्राडम्यानमात्र हुन् । ब्राडम्यानले ९९.९४ को औसतमा खेल्दै एक हजार टेस्ट रन पुरा गरेका थिए । 

टेस्ट क्रिकेटको एउटै इनिङ्समा कामिन्दुको यो औसत (१३ इनिङ्ससम्म) चौथो उत्कृष्ट हो । उनीभन्दा राम्रो औसतमा हार्भी (१०६.५६ को औसत), ब्राडम्यान (९९.६७ को औसत) र सुनिल गावस्कर (९१.८० को औसत) मात्र रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप