विपद्बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुग्यो : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बिपद्बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको बताएका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भए पनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए ।
‘विपद न्यूनीकरण र विपद्को व्यवस्थापनमा दुईवटा चरण हुन्छ । एउटा विपद् पूर्वको सूचनाको विषय हो । पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो । त्यो सूचनालाई आगामी दिनमा थप व्यवस्थित गर्न जरुरी छ,’ गृहमन्त्री लेखकले भने, ‘अर्को विपद्को प्रतिकार्यको विषय हो । त्यसका लागि पूर्व तयारी नभएको होइन । सरकारले पूर्व तयारी गरेकाले नै क्षतिलाई न्यूनीकरण गर्नका लागि सहयोग पुगेको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ ।’
गृहमन्त्री लेखकले सरकारले आज चारवटा कुरामा जोड दिएर जाने बताए । ‘पहिलो खोजी उद्धारको विषय हो । हामीले मानिसहरुको खोजी गर्नु छ । दुःख र पीडामा रहेका मान्छेलाई उद्धार गर्नु छ । सँगसँगै राहत पनि अगाडि बढाउनु छ । घाइतेहरूको उपचार गर्नु छ । राजमार्ग चाँडोभन्दा चाँडो खोल्नुपर्ने छ । सरकार तत्काल यी चार कुरामा ध्यान दिएर अगाडि बढ्छ,’ उनले भने ।
बाढी र पहिरोबाट १४८ को मृत्यु, ५९ बेपत्ता र ६० जना घाइते रहेको गृहमन्त्री लेखकले बताए । ३ हजार ३ सय ३६ जनाको सकुशल उद्धार गरिएको उनको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले सक्दोसम्म उद्धार राहतमा काम गरिरहेको भन्दै सरकारका अन्य निकायले समन्वयात्मक रुपमा काम गरिरहेको उनले बताए ।
‘उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । चाँडो उद्धार गर्नुपर्नेको उद्धार भइरहेको छ,’ उनले भने, ‘बालबालिका, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, वृद्धिहरूलाई प्राथमिकता दिएर उद्धार गर्न निर्देशन गरिएको छ । हरेक जिल्लादेखि केन्द्रसम्म उद्धारका लागि हटलाइनको व्यवस्था गरिएको छ ।’
डुबानमा परेका उपत्यका लगायत देशका सम्पूर्ण स्थानमा खाद्यान्न, खानेपानी, अस्थायी बसोबास, प्राथमिक स्वास्थ्य तथा महामारी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन गरिएको गृहमन्त्री लेखकले बताए । नख्खु खोलामा केही मानिसका उद्धारबारे उठेको प्रश्नमा पनि गृहमन्त्री लेखकले प्रस्ट पार्नु भएको छ ।
‘नख्खु खोलामा प्रहरी पुग्दै नपुगेको होइन । सेनाको हेलिकप्टर पनि त्यहाँ पुर्याउने कोसिस भएको हो । भिजिबिलिटीका कारण सेनाको हेलिकप्टर जान सकेन । नेपाल प्रहरी र सशस्त्र प्रहरी गएका छन् । उद्धार गर्न गएका सशस्त्र प्रहरी बग्दा पौडेर उद्धार भएको छ । नख्खु खोलाको घटनामा उद्धार गर्न खोज्दा खोज्दै घटना भएका हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब विद्यार्थीले घरमा गरेको कामका आधारमा नम्बर पाउने
-
चाडपर्वले प्रकृति र संस्कृतिको संरक्षणमा भूमिका खेलेका छन् : राष्ट्रपति पौडेल
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
-
डोनाल्ड ट्रम्पको ह्वाइटहाउस प्रवेशअघि बाइडेनले गरे आफ्नो बचाउ
-
सरकारीस्तरमै जैविक विविधता दिवस मनाइँदै
-
मिथिलाञ्चलमा तिला सङ्क्रान्ति मनाइँदै