आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारी वर्षापछि रोकिएको अनेरास्ववियु क्रान्तिकारीको बन्द सत्र सुरु

समूह नेताहरूले निष्कर्ष सुनाउँदै
आइतबार, १३ असोज २०८१, १७ : ०३
आइतबार, १३ असोज २०८१

काठमाडौँ । भारी वर्षाका कारण स्थगित भएको अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्र आजबाट सुरु भएको छ । निर्धारित  समयभन्दा साढे तीन घण्टा ढिला गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सुरु भएको हो । १० वटा समूह बनाएर छलफल गरेकोमा अहिले मधेस प्रदेश समूहले रिपोर्ट पेस गरेको छ ।  उक्त समूहबाट उमेर हद राख्न आवश्यक नभएको सुझाव आएको छ ।

१० समूहमध्ये मधेसबाट रामपुकार यादव, बागमतीबाट मिलन लामा, कर्णालीबाट निराजन केसी, प्राविधिक धार तर्फबाट अनिस बलसाडी, विदेशी विश्वविद्यालयबाट राष्ट्रिय समिति शशाङ्क जैसी र सुदूरपश्चिम प्रदेशबाट तिलक माल नेता छानिएको उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । अन्य प्रदेशबाट नेता छानिन बाँकी रहेको उनले बताए ।

शुक्रवार अध्यक्ष पञ्चा सिंह नेतृत्वको केन्द्रीय समिति भंग गरी सात सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको थियो । सिंहले राजनीतिक प्रतिवेदन र महासचिव दिपेश पुनले मस्यौदा विधान पेस गरेका थिए । बन्द सत्रमा पेस भएको प्रतिवेदन र विधानमाथि शनिवार समूहगत छलफल गर्ने कार्यसूची थियो । तर अविरल वर्षापछि आएको बाढीले काठमाडौँ उपत्यका जलमग्न भएपछि निर्धारित कार्यक्रम स्थगित गरेको थियो ।

अत्यधिक वर्षाका कारण सम्मेलन केहि दिन लम्बिने प्रमुख रावलले जानकारी दिए । रावलका अनुसार समूहगत छलफलबाट आएको निष्कर्ष समूह नेताले बन्द सत्रमा पेस गरेपछि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । सोमबार मात्र प्रतिवेदन र विधान परिमार्जनसहित पारित हुने रावलले जानकारी दिए । त्यसपछ नेतृत्व छनोटका लागि निर्वाचनसम्बन्धी कार्यसूची अगाडि बढ्ने उनले जानकारी दिए ।

यस्तै भावी अध्यक्ष पदका लागि आकाङ्क्षी धेरै भएपछि सहमतिमै नेतृत्व छनोटको सम्भावना कम रहेको इन्चार्ज हिमाल शर्माले जानकारी दिए । शुक्रवार सहमतिमै नेतृत्व छनोटका लागि अनौपचारिक छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको उनले बताए ।

‘नेतृत्व छनोटको विषयमा पार्टी नेतृत्वले हस्तक्षेप गर्ने अवस्था छैनन् । अपजस लिने पक्षमा पनि कोही नेता देखिएका छन् । त्यसैले विधानअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व छनोट हुन्छ । सहमतिको सम्भावना देखिएको छैन’, रातोपाटीसँग शर्माले भने ।

नेतृत्वका लागि मैदानमा उत्रिएका रावलसहित पवन कार्की, जिपी मैनाली, मदन भूल लगायतका नेताहरूले पनि सहमतिको सम्भावना न्यून रहेको बताएका छन् । अध्यक्षका लागि चुनावी मैदानमा उपाध्यक्षहरू र महासचिव गरी १८ जनाले दाबी गरेका छन् । नेता उत्पादनको बलियो सङ्गठन भएकाले पनि विद्यार्थी सम्मेलनलाई महत्वका साथ हेरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप