आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
अमेरिकामा ओली, देशमा विपत्ति

मुलुक विपद्‍मा फसेका बेला भ्रमण छोट्ट्याएर किन फर्केनन् प्रधानमन्त्री ओली ?

आइतबार, १३ असोज २०८१, १५ : ३८
आइतबार, १३ असोज २०८१

काठमाडौँ । बिहीबार रातिदेखि परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरो तथा डुबानबाट देश आक्रान्त छ । शनिबार अपराह्नदेखि वर्षा रोकिए पनि बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार तथा राहतलाई तीव्रता दिन नसकेकोमा सरकारको आलोचना भइरहेको छ ।

मौसम विज्ञान विभागले शुक्रबारदेखि लगातार केही दिन वर्षा हुने र विपद् निम्तिनसक्ने पूर्वानुमान गरे पनि सो अनुसार सरकारले तयारी नगर्दा मुलुकले ठुलो जनधनको क्षति बेहोर्नुपरेको छ । यस्तो विपद्मा नागरिकको ज्यानधन जोगाउने तथा राहत र उद्धारमा सक्रियता देखाउने प्रमुख जिम्मेवारी सरकारको हो तर, यस्तो बेला सरकारी भूमिका प्रभावकारी हुन नसकेको भन्दै व्यापक आलोचना भइरहेको छ ।

अरु त अरु, काठमाडौँ उपत्यकाकै नख्खु खोलामा शनिबार बिहान टहरामाथि घण्टौँसम्म उद्धारको पखाइमा बसेका सर्वसाधारणलाई समेत सरकारले उद्धार गर्न सकेन । नख्खु खोलाको टहरोमाथि फसेकाहरूलाई सरकारी संयन्त्र प्रयोग गरेर उद्धार गर्न नसक्दा बाढीले बगाएको दृश्य सरकारका लागि लज्जास्पद बनेको छ ।

लगातारको वर्षाले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित बागमती प्रदेशका काभ्रे, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली लगायतका जिल्ला बाढीपहिरोबाट बढी प्रभावित बनेका छन् । यसबाहेक कोशी प्रदेशमा पनि बाढीपहिरोले जनधनको क्षति गरेको छ ।

प्राकृतिक विपत्ति रोक्न नसकिए पनि पूर्वतयारी प्रभावकारी बनाउन सकेमा जोखिम र क्षति कम गर्न सकिन्छ । तर, मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार सरकारले विपद् व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न चासो नदेखाएको पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन् ।

विपद्का बेला नागरिकको अभिभावक बनेर सरकारी संयन्त्रलाई प्रभावकारी परिचालन गर्नुपर्ने प्रमुख जिम्मेवारी बोकेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयं विदेश भ्रमणमा छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीले आफ्ना जनताले विपद्को सामना गरिरहँदा अमेरिकाबाटै सामाजिक सञ्जाल फेसबुकमा लेख्नबाहेक कुनै प्रभावकारी भूमिका निर्वाह  गरेको देखिएन ।

जबकि प्रधानमन्त्री ओलीको मुख्य कार्यक्रम बिहीबार नै सकिएको थियो । उनी देशमा आउने विपद्लाई मध्यनजर गर्दै शुक्रबार नै स्वदेश फर्कन सक्ने अवस्था भए पनि उनले राष्ट्र संघका सहायक कार्यक्रमलाई महत्त्व दिएर भ्रमण नछोट्ट्याएकोमा आलोचना भइरहेको छ ।

शनिबार देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट पीडित भएर हजारौँ नागरिकले सरकार खोजिरहेका बेला प्रधानमन्त्री ओलीले अमेरिकाबाटै फेसबुकमार्फत संयुक्त राष्ट्र संघको कार्यक्रम सकेरमात्र स्वदेश फर्कने सन्देश दिएका थिए । जतिबेला काठमाडौँसहित देशभरका नागरिक कतिबेला के हुने हो भन्ने त्रासमा बाँचिरहेका थिए ।

‘बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी साथीहरू कार्य क्षेत्रमा खटिरहनु भएको छ’, शनिबार अपराह्न प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पेजमा लेखे, ‘विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको छ । तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौँ र उहाँहरूलाई सबैले सहयोग गरौँ ।’

त्यतिमात्र होइन, बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्‍याउन मद्दत गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे ।

वर्षाले क्षति पुर्‍याउन सुरु गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल लगायतसँग उद्धारका विषयमा समन्वय गरिएको भन्दै उनले सोही योजना अनुसार सरकारले देशैभर हजारौँ उद्धारकर्मी तैनाथ गरेको जिकिर गरे । यद्यपि उनले आफू अमेरिकाको कार्यक्रम सकेरमात्र स्वदेश फर्कने जानकारी गराए ।

‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु । विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गरौँ’, प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका थिए ।

यसअघि शनिबार बिहान प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत आफू अमेरिकामा भए पनि लगातारको वर्षा र बाढीपहिरोका कारण आफ्नो मन नेपालमै भएको भनेर सहानुभूति बटुल्ने प्रयास गरेका थिए । तर उनले अमेरिका भ्रमण छोट्ट्याएर पीडामा परेका नेपालीहरूसँग दुःख साट्न तत्काल नेपाल फर्कन्छु भन्ने हिम्मत भने गरेनन् ।

‘यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरू सामाजिक सञ्जाल र मिडिया मार्फत सुनिरहेको, हेरिरहेको छु । नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ’, ओलीले भनेका थिए ।

तर, ओलीको उक्त स्टाटसमा धेरैले आलोचना गर्दै यस्तो बेला ‘कता हरायो सरकार ?’ भनेर प्रश्नसहितको कमेन्ट गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता रमेश सेन्चुरीले ओलीलाई कमेन्टसहित नख्खु खोलाको टहरामाथि उद्धारको पर्खाइमा बसेका चार जना नागरिकको तस्बिर राख्दै सोधे, ‘जनताको लागि सरकार खै ? संघीय राजधानी काठमाडौँको तस्बिर हो यो । घरको छानामा घण्टौँ उद्धारको आशमा बसेका यी नागरिकलाई अन्ततः हेर्दाहेर्दै बाढीले बगायो । राजधानी जस्तो ठाउँमा घण्टौँ कुर्दा उद्धार गर्न सक्दैन भने दुर–दराजको अवस्था कस्तो होला ? सरकार उदासीन बन्दा जनताले सरकारबाट के आशा गर्ने ?’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता रामकृष्ण ढकालले ओलीको स्ट्टसमा कमेन्ट गर्दै ‘सैनिक हेलिकप्टरको काम टुँडिखेलमा जात्रा देखाउने मात्रै हो कि काठमाडौँ कै घरको छतमा ४ घण्टासम्म उद्धार पर्खिएकाहरूको प्राण बचाउने पनि हो ?’ भनेर प्रश्न गरेका छन् ।

उनीसँगै नारायण न्यौपानेले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ‘अब त अति भयो पीएमज्यू’ भनेका छन् ।

‘२ तिहाइको सरकार ४ घण्टादेखि नख्खुमा फसेका जनताको उद्धार गर्न सक्दैन र जनता मर्नुपरेको छ भने गफ अति भयो पीएमज्यू, अब त नियत फेरिनु पर्‍यो । अब त अति भयो,’ उनले भनेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली पूर्वनिर्धारित कार्यक्रम अनुसार नै असोज १४ गते सोमबार अपराह्न ४ः४५ बजेमात्र स्वदेश फर्कने छन् ।

‘प्रधानमन्त्रीको समन्वय नै मुख्य कुरा हो’

त्यसो त प्रधानमन्त्री ओली केही घण्टाको भ्रमण छोट्ट्याएर नेपाल फर्कंदैमा विपत्ति रोकिने वा क्षति कम हुने भनेर बुझ्न नहुने राजनीतिक शास्त्रका प्राध्यापक लोकराज बराल बताउँछन् । ‘मानिसलाई आलोचना गर्ने अधिकार छ । कांग्रेसकै शेखर कोइरालाले बोलेको पनि मैले सुनेको थिएँ’, बराललले रातोपाटीसँग भने, ‘तर प्रधानमन्त्री कुदेर दुईचार घण्टा अघि आएर यहाँ केही भइहाल्ने स्थिति होइन ।’

बरालले प्रधानमन्त्रीले अमेरिकाबाट देशमा सम्बन्धित मन्त्रीहरूसँग समन्वय गरिरहेको आफूले सुनेको भन्दै  प्राकृतिक विपत्ति प्रधानमन्त्रीको वशको कुरा नभएको बताए । ‘सामाजिक सञ्जालमा जसलाई जे मन लाग्यो त्यही लेख्ने चलन छ, यो राम्रो होइन’, उनले भने, ‘सामाजिक सञ्जालका सबै कुरा राम्रा छन् भनेर बुझ्नुहुन्न ।’

बरालले प्रधानमन्त्री अमेरिकामा भए पनि यहाँको घटनामा चासो देखाएको भन्दै बरु मेट्रोलोजी विभागले अग्रिम सूचना गरेको अवस्थामा प्रधानमन्त्री जाँदै नगएको भए बेग्लै, तर गइसकेपछि केही घण्टा छिटो गर्दैमा विपत्तिलाई वशमा लिन सक्ने अवस्था नहुने बताए ।

‘बरु जानै हुँदैनथ्यो । गएपछि विभिन्न फोरममा भाग लिनै पर्‍यो । नेपालजस्तो मुलुकका लागि त्यो पनि एउटा अवसर हो’, उनले भने, ‘हिजो विध्वंश भयो । भोलि आउँदै हुनुहुन्छ ।’

पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी पनि घटनाप्रति प्रधानमन्त्रीले बेवास्ता गरेको भन्न नमिल्ने बताउँछन् । मेट्रोलोजीले दिएको सूचनालाई सरकारले नजरअन्दाज गरेको कुरालाई भन्ने स्वीकार गर्नुपर्ने लोहनीको भनाइ छ । ‘यो घटना भएपछि प्रधानमन्त्री देशबाहिर जानुभएको भए आलोचना गर्न मिल्थ्यो तर घटना हुनुभन्दा अघि नै उहाँ बाहिर भएको अवस्थामा उहाँले बेवास्ता गरेको भन्न मिल्दैन’, लोहनीले भने, ‘जे सूचना मेट्रोलोजी विभागले दिएको थियो, त्यसलाई सरकारले हलुका तरिकाले लियो । नजरअन्दाज गर्‍यो र आवश्यक सतर्कता नअपनाउँदा क्षति बढी हुनपुग्यो ।’ 

प्रधानमन्त्री अमेरिकामा भए पनि यहाँको संरचना र सिस्टमले प्रभावकारी काम नगरेको नेता लोहनीको भनाइ छ । ‘हाम्रो संरचना र सिस्टमले यो तरिकाको सङ्कटबारे कल्पना नै गरेको रहेनछ’, उनले भने । एउटा व्यक्तिभन्दा पनि राज्यसंयन्त्र र सिस्टमलाई प्रभावकारी बनाउनसक्नुपर्ने लोहनीको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप