आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
बाढीको वितण्डा

कोशीमा १७ जनाको मृत्यु, ८ जना बेपत्ता (विवरणसहित)

१३ जना घाइते, १९ घर भत्किए, १३ वटा पुल र कल्भर्ट बगायो
आइतबार, १३ असोज २०८१, १५ : ३०
आइतबार, १३ असोज २०८१

विराटनगर । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ८ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ जनाको मृत्यु भएको छ । 

यस्तै धनकुटास्थित तमोर नदीमा पहिचान नखुलेका २ जनाको शव भेटिएको छ । यस्तै बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

यस्तै अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पक्षी मरेका छन् । यस्तै पूर्ण रूपमा १९ वटा पक्की घर भत्किएका छन् भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ । 

१३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।

प्रहरीले दिएको तथ्याङ्क अनुसार ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवार सङ्ख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले परिन उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । बाढी, पहिरो र डुबानबाट भएको क्षतिको खोज, उद्धार र राहतका लागि प्रदेशभरमा १ हजार ९२ जना प्रहरी परिचालित भएका छन् । हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, सङ्खुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुङ्गामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ । 

मृत्यु हुनेमा को कहाँका ? 

शनिबार दिउँसोको पहिरोमा परेर सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिकामा ५ जनाको मृत्यु भएको थियो । सोलुदुधकुण्ड–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा घरमा रहेका उनका छोरी ३० वर्षीया कविता मगर र ४१ वर्षीया बुहारी रूपु मगरको मृत्यु भएको हो । पहिरोमा पुरिएर एक जना गम्भीर घाइते भएका छन् ।

यस्तै सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका ७ महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका–९ की २९ वर्षीया रीना तामाङको पनि पहिरोमा परेर मृत्यु भएको छ । स्थानीय डिमादावा शेर्पाको ढुङ्गा र माटोले बनेको घर पहिरोले बगाउँदा उनीहरूको मृत्यु भएको हो । घटनामा घाइते भएकी ६२ वर्षीया याङजी शेर्पाको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित वाङछु मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा शनिबार नै पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको थियो । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।

पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भई फुरुंगा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको पनि मृत्यु भएको हो । यस्तै फिदिम ८ भोटेगाउँका ८२ वर्षकी पश्चिमा शेर्पा र फिदिम २ मजिटेकी ३५ वर्षकी रञ्जना राईको पनि पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रञ्जनाका छोरा विपिन राईको घाइते अवस्थामा उद्धार गरिएको छ । उनको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै फालेलुङ ५ की ३६ वर्षीया कमला राई, फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ वर्षीया धनकुमार तुम्बापो, राजेश तुम्बापो र उनकी श्रीमती २१ वर्षीया सरस्वता तुम्बापो पहिरोमा बेपत्ता छन् । प्रहरीका अनुसार उनीहरु फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने कर्मचारी हुन् । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए ।

धनकुटाको पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ । पाख्रीबास–५ का सन्तोष तामाङको घरमाथिबाट पहिरो झर्दा पुरेर उनकी तामाङकी ३२ वर्षीया श्रीमती आशा तामाङ र सासूआमा ५० वर्षीया रामकुमारी तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा घाइते भएका छिमेकी २४ वर्षीया मिनमाया तामाङको उपचार भइरहेको प्रहरीले जनाइको छ ।

यसैगरी इलाममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–८ सेते खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो । खोलाले बगाएपछि घाइते अवस्थामा उद्धार गरिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट हाम फालेका गौरीगञ्ज २ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरियाको शव भेटिएको छ । उदयपुरको रौतामाई १ की १५ वर्षीया हिसिला तामाङको शनिबार खोलाले बगाएर मृत्यु भएको छ । उनलाई ओडारे खोलाले बगाउँदा मृत्यु भएको हो ।

झापाकै कचनकवल गाउँपालिका १ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । शनिबार अपराह्न घटनाबारे प्रहरीमा जानकारी आएको थियो । बेपत्ताको खोजी भइहरेको प्रहरीले जनाएको छ ।

बाढीमा परेर मोरङको रतुवामाइ नगरपालिका ७ बस्दै आएका ७२ वर्षीय डुरोदेवी राजवंशी रतुवाखोला तर्ने क्रममा बेपत्ता छन् । शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका १ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो ।

Capture

11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप