आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
झ्याप्ले खोला पहिरो

‘समयमै सूचना नपाउँदा झ्याप्ले खोलामा ठुलो मानवीय क्षति’

सोही ठाउँमा २०५५ र ०५९ सालमा पनि गएको थियो ठुलो पहिरो
आइतबार, १३ असोज २०८१, १३ : ५८
आइतबार, १३ असोज २०८१

काठमाडौँ । धुनीवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा यात्रुबहाक सवारीसाधन पुरिएको सूचना समयमै नपाउँदा धेरै मानवीय क्षति भएको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने झ्याप्ले खोलामा आइतबार मध्याह्नसम्म लेदोसहितको पहिरोमा पुरिएको तीन वटा गाडी सुरक्षा निकायले फेला पारेका छन् । 

घटनास्थलमा खटिएका प्रहरीका अनुसार आइतबार मध्यान्नसम्म ३५ जनाको शव फेला परेको छ भने अन्यको खोजी कार्य जारी रहेको छ । 

अन्य बस पनि पुरिएको हुन सक्ने आशङ्का गरिएको छ । सो स्थानमा शुक्रबार बिहानदेखि वर्षा भएपनि पहिरो शनिबार बिहान ३ बजेतिर गएको स्थानीयबासीले जानकारी दिएका छन् । 

दुर्घटनास्थल राजधानी काठमाडौँको केन्द्रीय भागबाट करिब १५ किलोमिटर दूरीमा रहेको छ । तर समयमै सूचना प्रवाह नहुँदा ठुलो मानवीय क्षति भएको छ । दुर्घटनाबारे स्थानीयवासी, राज्य प्रशासन तथा सञ्चारमाध्यम समेत लामो समय बेखबर रहे । उसो त सूचना पाएपछि पनि उद्धारको कार्य छिटो हुन सकेन । 

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्काभेटर प्रयोग गरेर पहिलो पन्छाउने काम भइरहेको छ । 

पहिरोमा पुरिएका बाहेक अन्य ६–७ वटा सवारी साधनमा क्षति पुगेको छ । झ्याप्ले खोलामा यसअघि २०५५ र ०५९ सालमा पनि ठुलो पहिरो गएको थियो । त्यतिबेला समेत १० जनाको मृत्यु भएको स्थानीयको भनाइ छ । पहिरो गएको ठाउँ निर्माणाधीन नागढुंगा– नौबिसे सुरुङ मार्ग नजिकै पर्छ ।

 पहिरोमा बस पुरिएको थाहा पाएपछि धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, वाड नम्बर–९ वडाध्यक्ष माधव सिलवाल लगायत जनप्रतिनिधिहरू समेत आवश्यक समन्वयका लागि घटनास्थलमा खटिएका छन् । सूचना पाए लगत्तै उद्धारमा खटिएका धुनिवेशी–९ का वडा सदस्य बिक्रमजंग रानाले समयमै सूचना नपाउँदा ठुलो मानवीय क्षति भएको बताएका छन् ।

 अहिले पहिरो पन्छाएर शव निकाल्ने र शवलाई पोस्टमार्टमका लागि काठमाडौँ लैजाने काम भइरहेको उनले बताए ।  

घटनास्थलमा खटिएका उनले त्यहाँको अवस्थाबारे रातोपाटीलाई संक्षिप्तमा यसरी सुनाए: 

शुक्रबारदेखि बाटो अवरोध थियो । शनिबार बिहान करिब ३ बजेतिर ठुलो मात्रामा लेदोसहित बाढी आएछ । तर हामीले समयमै  सूचना पाउन सकेनौँ । स्थानीयले पनि कुनै खबर गरेनन् । समयमै सूचना सम्प्रेषण नहुँदा उद्धार तथा राहतमा ढिलाइ भयो । ठुलो मानवीय  क्षति भयो । इलाका प्रहरी कार्यालय कार्यालय खानीखोलाका प्रहरीले बिहान ९ बजेतिर मात्र घटना थाहा पाए । मैले साढे १० बजेतिर थाहा पाएँ । पहिरोले माथिल्लो बाटोदेखि तल्लो बाटोसम्म एउटै बनाएको छ । ०५५ र ०५९ सालमा गएको ठाउँमै यस पटक पहिरो गएको छ ।

Capture

पहिरोले तीन वटा गाडी पुरिएको हामीले फेला पायौँ । बुटवल, चितवनबाट आएको गाडी भेटिसकेको छ । अब गोरखाबाट आएको गाडी उत्खनन गरिरहेका छौँ । शव क्षत विक्षत भएकाले पहिचान गर्न सकिएको छैन । भेटिएको यात्रुहरू कुन गाडीको हो भन्ने नै थाहा छैन । यात्रुहरू घरपरिवारको सम्पर्कमा नआएको आफन्तहरूको सूचनाको आधारमा खोजी कार्यमा लागेका हौँ ।  बसमा सवार यात्रुहरूले कसैले म खानीखोला कटे भनेका रहेछन् । कसैले म सुरुङमार्गमा आइपुगे भनेका रहेछन् । यात्रुका परिवारले दिएको विवरण अनुसार गाडी जाममा पनि नभएको र करिब १० फिट बराबरको लेदोसहितको पहिरो भएका कारण पुरिएको आशङ्का लागेर खोजी कार्य गरेका हौँ । यात्रुहरूको आफन्तहरू अहिले यही आउनुभएको छ । सहज होस भनेर हामीले फेसबुकमार्फत लाइभ गरिराखेका छौँ । बिजुलीका पोल ढलेकाले बत्ती आपूर्ति बन्द भएको छ । इन्टरनेट कनेक्सन बन्द छन् । कोही थानकोटबाट झरेपछि सम्पर्क नभएको अवस्था छ । हिजो भेटिएका १४ जनाको शव बुटवलबाट आएको गाडीको हो । आज भेटिएकामध्ये १५ जनाको शव चितवनको गाडीको हो । गोरखाबाट आएको गाडी पनि निकालिँदै छ । नजिकैको होटलवालाले भागेर ज्यान बचाएका रहेछन् । सामान सबै पहिरोमा पुरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप