आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पहिरोले सडक बन्द हुँदा काठमाडौँमा अड्किए बागमतीका मुख्यमन्त्री

आइतबार, १३ असोज २०८१, १३ : ४२
आइतबार, १३ असोज २०८१

मकवानपुर । पहिरोले सडक अवरुद्ध बनेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा काठमाडौँमा रोकिएका छन् । बिहीबारदेखि निरन्तरको वर्षाका कारण सडक सञ्जाल ठप्प हुँदा मुख्यमन्त्री लामा काठमाडौँमा रोकिएका हुन् ।

शनिवार एक कार्यक्रममा सहभागी हुन नुवाकोट पुगेका मुख्यमन्त्री लामा साँझ काठमाडौँ फर्किएका थिए । काठमाडौँ फर्किएसँगै मुख्यमन्त्री लामाले जुमबाट मन्त्रिपरिषद् बैठक बसेर विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिको विवरण सङ्कलन गर्ने, बन्द सडकहरू सञ्चालनको व्यवस्था गर्ने लगायतका निर्णय गरेका थिए । 

उनी हेटौँडा आउने भनेपनि सडक सञ्जाल ठप्प हुँदा काठमाडौँमा नै रोकिएको सचिवालयको भनाइ छ । अहिले हेटौँडा–काठमाडौँ जोड्ने सबै सडकहरू पहिरो र बाढीले बन्द भएका छन् । 

मुख्यमन्त्री लामा सहित संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री श्याम खड्का, भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, स्वास्थ्य मन्त्री किरण थापा पनि काठमाडौँमै रोकिएका छन् । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल भने हेटौँडा रहेका छन् । युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन पीतृशोकका कारण गृह जिल्ला ललितपुरमा रहेका छन् ।

उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ छैमलेमा रोकिएकी छिन् । काठमाडौँको कार्यक्रम सकेर चित्लाङमा हुने मन्त्रालयको कार्यक्रममा सहभागी हुन आउँदै गर्दा छैमलेको पहिरोले मन्त्री तामाङलाई रोकेको हो । हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली सडकमा पहिरो खस्दा शक्रबारबाट मन्त्री तामाङसहित ५ जना छैमलेमा रोकिएका हुन् । 

यसैबिच आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने सिन्धुलीको दुम्जा रोकिएका छन् । सिन्धुलीको एक प्रहरी भवन उद्घाटनका लागि गएका मन्त्री लामिछाने शनिवार देखि दुम्जामा रोकिएका हुन् ।

मुख्यमन्त्री लामाले प्रदेशका मन्त्रीहरूलाई सडक सञ्जाल सञ्चालन नभएसम्म सम्बन्धित स्थानमा नै रहन आग्रह गरेका छन् । अधिकांश मन्त्रीहरू काठमाडौँ नै रहेको, केही हेटौँडामा र २ मन्त्री पहिरोमा रोकिएकाले  उनीहरूलाई सम्बन्धित स्थानमा नै रहन आग्रह गरेको उनले बताए । सकेको खण्डमा मन्त्रीहरुलाई काठमाडौँमै भेला भएर आवश्यक काम कारबाही गर्नेगरी मुख्यम्नत्रीले आग्रह गरेका छन् । 

विपद्‍बाट बागमती प्रदेशले धेरै ठुलो क्षति व्यहोर्नुपरेको मुख्यमन्त्री लामाले बताए । तत्काल हेटौँडा जान सक्ने अवस्था नरहेकोले  दुम्जामा रोकिएका मन्त्री लामिछानेलाई काठमाडौँ झिकाउन मुख्यमन्त्री लामाले हेलिकप्टर पठाउने तयारी गरेका छन् । उनले मन्त्री लामिछानेको टिम काठमाडौँ झिकाउन नेपाली सेनाको हेलिकप्टर पठाउन अनुरोध गरेका छन् । सेनाको हेलिकप्टर प्राप्त नभएको निजी हेलिकप्टर पठाएर मन्त्री लामिछानेलाई काठमाडौँ झिकाउने तयारी रहेको मुख्यमन्त्री लामाले बताए । मन्त्री लामिछाने विना विपद्का कुनै पनि निर्णय हुन नसकिने र प्रदेश सरकारले गर्ने निर्णयमा अर्थ र कानुन मन्त्रालय महत्त्वपूर्ण हुने भएकाले काठमाडौँ झिकाउने तयारी गरिएको मुख्यमन्त्री लामाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप