आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

श्रीलंकासामु निरीह बन्यो न्युजिल्यान्ड

चार घण्टामा दुई पटक आउट भए केन विलियम्सन
आइतबार, १३ असोज २०८१, १३ : ३७
आइतबार, १३ असोज २०८१

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा पनि श्रीलंका विजयी भएको छ । घरेलु टोली श्रीलंकाले दोस्रो टेस्टको चौथो दिन आइतबार न्युजिल्यान्डलाई एक इनिङ्स र एक सय ५४ रनको विशाल अन्तरले पराजित गरेको हो ।

जितसँगै श्रीलंकाले दुई टेस्टको शृङ्खला पनि २–० ले नै आफ्नो पक्षमा पारेको छ । यसअघि सम्पन्न पहिलो टेस्टमा पनि श्रीलंका ६३ रनले विजयी भएको थियो । दोस्रो टेस्टमा टस जिती ब्याटिङ गर्ने निर्णय लिएको श्रीलंकाले केवल पाँच विकेटको नोक्सानीमा ६ सय दुई रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो ।

पहिलो पालीमा श्रीलंकाली टोलीका तीन ब्याट्सम्यानले शतक र एक ब्याट्सम्यानले उत्कृष्ट अर्धशतक बनाएका थिए । श्रीलंकाले इनिङ्स समाप्तिको घोषणा गर्दा कामिन्दु मेन्डिस अविजित एक सय ८२ रन बनाउँदै क्रिजमा थिए ।

कामिन्दु मेन्डिस दोहोरो शतकभन्दा केवल १८ रनले पछाडि रहँदा श्रीलंकाले इनिङ्स समाप्तिको घोषणा गरेको थियो । उनले लामो समय क्रिजमा संघर्ष गरेर दुई सय ५० बलमा चार छक्का र १६ वटा चौका पनि हिर्काएका थिए । टेस्ट क्रिकेटमा कामिन्दु मेन्डिसले बनाएको यो पाँचौँ शतक हो ।

kamindu

अर्का ब्याट्सम्यान कुशल मेन्डिसले पनि अविजित एक सय ६ रन बनाएका थिए । उनले एक सय ४९ बलको सामना गरी तीन छक्का र ६ वटा चौका हिर्काएका थिए । टेस्ट क्रिकेटमा कुशल मेन्डिसले बनाएको यो १०औँ शतक हो । श्रीलंकाले चार सय दुई रनमा आफ्नो पाँचौँ विकेट गुमाएको थियो । त्यसपछि कामिन्दु मेन्डिस र कुशल मेन्डिसले टोलीका लागि दुई सय रनको साझेदारी गरेका थिए ।

श्रीलंकाका लागि विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डिमलले पनि शतक बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय १६ रन बनाएका थिए । उनले दुई सय आठ बलको सामना गरी १५ चौका पनि हिर्काएका थिए । उनले टेस्ट क्रिकेटमा बनाएको यो १६औँ शतक हो ।

यसैगरी, अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्युजले पनि टोलीको खातामा ८८ रन थपेका थिए । उनले एक सय ८५ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । ३७ वर्षीय म्याथ्युजले टेस्ट क्रिकेटमा बनाएको यो ४४औँ अर्धशतक हो ।

श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान दिमुथ करुनारत्नेले पनि ४६ रनको योगदान गरेका थिए । उनले एक सय नौ बलको सामना गरी चार चौका हिर्काए । अर्का ओपनर ब्याट्सम्यान पाथुम निसानका भने एक रन बनाउँदै पभेलियन फर्किएका थिए । 

घरेलु टोलीका लागि कप्तान धनञ्जय डा सिल्भाले पनि ४४ रनको योगदान गरेका थिए । उनले ८० बलमा एक छक्का र तीनवटा चौका प्रहार गरेका थिए । श्रीलंकाले अतिरिक्त रूपमा पनि १९ रन पाएको थियो । भ्रमणकारी टोली न्युजिल्यान्डका बलर ग्लेन फिलिप्सले तीन विकेट लिएका थिए । टिम साउथीले पनि एक विकेट हात पारेका थिए ।

अत्याशलाग्दो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली न्युजिल्यान्डले भने पहिलो पालीमा अत्यन्तै खराब प्रदर्शन गरेको थियो । न्युजिल्यान्डको टोली पहिलो पालीमा केवल ८८ रनमा अलआउट भएको थियो । न्युजिल्याडको टोली पहिलो पालीमा ३९.५ ओभरमै धराशायी भएको थियो ।

पहिलो पालीमा किवी टोलीका लागि तल्लो क्रमका ब्याट्सम्यान मिचेल सान्टनरले सर्वाधिक २९ रन बनाएका थिए । ड्यारेल मिचेलले १३ र रचिन रविन्द्रले १० रन बटुलेका थिए । किवी टोलीका अन्य ब्याट्सम्यानले त दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।

nishan peris

श्रीलंकाली टोलीका बलर प्रभात जयसूर्या एक्लैले ६ विकेट लिएका थिए । निशान पेइरिसले तीन र असिथा फर्नान्डोले एक विकेट हात पारेका थिए । पहिलो पालीमा ‘फलो अन’ मा परेपछि लगत्तै न्युजिल्यान्ड दोस्रो पाली खेल्न आएको थियो ।

दोस्रो पालीमा भने न्युजिल्यान्डले केही सुधारिएको प्रदर्शन गरेको थियो । दोस्रो पालीमा न्युजिल्यान्डले ८१.४ ओभरमा अलआउट हुनुअघि तीन सय ६० रन बनायो । दोस्रो पालीमा न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७८ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान डेभोन कनवेले पनि ६१ रन बटुलेका थिए ।

विकेटकिपर ब्याट्सम्यान टम ब्लन्डलले पनि टोलीका लागि ६० रनको योगदान गरे । तल्लो क्रमका ब्याट्सम्यान मिचेल सान्टनरले ६७ रन बनाए । अनुभवी ब्याट्सम्यान केन विलियम्सन ४६ रनमा पेभेलियन फर्किएका थिए ।

दोस्रो पालीमा श्रीलंकाका बलर निशान पेइरिस एक्लैले ६ विकेट लिए । प्रभात जयसूर्याले पनि तीन विकेट हात पारे । धनञ्जय डा सिल्भाले एक विकेट लिए ।

  • चार घण्टामा दुई पटक आउट भए केन विलियम्सन !

श्रीलंकाविरुद्धको दोस्रो टेस्ट क्रिकेट न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान केन विलियम्सनका लागि पनि निकै निराशाजनक रह्यो । विलियम्सन केवल चार घण्टाको बिचमा दुईपटक आउट भए । उनी न्युजिल्यान्डको पहिलो पालीमा सात रन बनाउँदै आउट भएका थिए ।

kane

पहिलो पालीमा उनी आउट हुँदा स्थानीय समय अनुसार, बिहानको १०ः२५ बजेको थियो । न्युजिल्यान्ड पहिलो पालीमा फलो अनमा पर्‍यो । त्यसपछि फेरि न्युजिल्यान्ड दोस्रो पाली खेल्न आयो । दोस्रो पालीमा विलियम्सन ४६ रन बनाउँदै आउट भए ।

दोस्रो पालीमा विलियम्सन आउट हुँदा श्रीलंकामा स्थानीय समय अनुसार, दिउँसोको १४ः१५ बजेको थियो । यसरी केन विलियम्सन श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा केवल चार घण्टाको बिचमा दुई पटक आउट हुने ब्याट्सम्यान बन्न पुगे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप