शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कोशीमा बाढी

सप्तकोशीको सङ्कट टरेको हो ?

ब्यारेजले धान्यो ६ लाख ६१ हजार क्युसेक बहाव
आइतबार, १३ असोज २०८१, १३ : २६
आइतबार, १३ असोज २०८१

विराटनगर । देशभर परेको अविरल वर्षाको कारण बाढी र पहिरोले शनिबार दिनभरमा सयौँ मानिसको ज्यान गयो । कैयौँ घाइते भए भने अझै दर्जनौँ व्यक्तिहरू बेपत्ता छन् । अर्बौँको भौतिक संरचना क्षतिग्रस्त भयो । 

जब साँझ पर्दै गयो, देशभरको ध्यान सप्तकोशी नदीमा केन्द्रित भयो । शनिबार बिहान ८ बजे ४ लाख १९ हजार क्युसेक मापन गरिएको सप्तकोशीमा पानीको बहाव बेलुका ९ बजेसम्ममा ६ लाख क्युसेक पुगिसकेको थियो । ६ लाख २१ हजार क्युसेक पुगेपछि त सप्तकोशीको ब्यारेज माथिबाटै पानी बग्न थाल्यो ।

सप्तकोशीमा निरन्तर बढ्दै गएको पानीको बहावले नेपालमा भन्दा धेरै भारत बिहारमा हल्लाखल्ला मच्चायो । त्यहाँ अघोषित कर्फ्युजस्तै लगाइएको थियो । कर्मचारी र विपद् व्यवस्थापनको टिमलाई उच्च सतकर्ता र तयारीमा रहन निर्देशन दिइयो । यो सब आम सर्वसाधारणले पनि चासोका साथ हेरिरहे ।

पानीको बहाव बढ्ने क्रम आइतबार (आज) बिहान ६ बजे उच्च तहमा पुग्यो । ५६ वर्षपछि कोशीमा रेकर्ड स्तरमा पानीको बहाव पुगेको थियो । बिहानको अपडेटअनुसार सप्तकोशीमा पानीको बहाव ६ लाख ६१ हजार ५ क्युसेक पुगेको थियो । तर, ६ बजेपछि भने कोसीमा पानी घट्न थालेको छ । 

अहिलेसम्म आइपुग्दा सप्तकोशीमा पानीको बहाव घटेर ५ लाख ९ हजार क्युसेकमा आइपुगेको छ । तर, अझै खतरा भने टरिनसकेको विज्ञहरू बताउँछन् । 

AKJ-Inaruwa-Sunsari-12Asoj-2

सप्तकोशीमा २०६५ भदौ २ गते पानीको बहाव १ लाख ६८ हजार क्युसेक मात्रै थियो । तर, सुनसरीको पश्चिम कुशाहाबाट तटबन्ध भत्काएर बस्तीमा पसेको कोशीले नेपाल र भारतका हजारौँ सर्वसाधरणलाई बिचल्ली बनाएको थियो । 

जलस्रोत विज्ञ डाठबहादुर खड्काले पानीको बहाव घट्दो क्रममा भए पनि खतरा नटर्ने बताउँछन् । ‘उच्च बहावको बेला नेपालको सप्तरी र सुनसरीतिर पानी सिपेच हुने अवस्था आउन सक्छ । त्यस्तो बेलामा विस्फोट हुन पनि सक्छ,’ उनले भने, ‘पानीको बहाव बढ्नु खतरा हो नै । तर, बहाव कम भएको बेला पनि नदीले आफ्नो ओरिजिनल बाटो समाउन बल गर्दा सिपेच हुने र त्यहाँबाट दुलो बन्ने अवस्था आयो भने जुनसुकै बेला बाँध भत्कने खतरा हुन्छ ।’

पानी सिपेच भएर विस्फोट हुने अवस्थालाई रोक्न नियमित रिपेयर र मनिटरिङ आवश्यक हुने उनले बताए । सप्तकोशीको ब्यारेज नै अस्थायी ढङ्गले बनाएको उनी बताउँछन् । ‘खतरा कसरी टर्छ । सङ्कट जतिखेरै पनि आउन सक्छ । ब्यारेज  त अस्थायी ढङ्गले बनाएको हो । स्थायी तरिकाले त चतरामा हाइड्याम बनाउने भारतको योजना हो,’ खड्काले भने । 

  • ब्यारेजको क्षमता कति हो ?

जलस्रोत विज्ञ तथा इन्जिनियर खड्काका अनुसार भारतको योजना चतरामा कोशी हाइड्याम बनाउने उद्देश्य थियो । त्यसबेला नेपाल र भारतबिच कुरा नमिलेपछि त्यसलाई रिभ्यू गरेर कोशीलाई कन्ट्रोल गर्नका लागि अस्थायी रूपमा तल सारिएको हो । 

‘यो ब्यारेज स्थायी रूपमा बनेको होइन । कोशीले बिहारलाई धेरै असर पारेको हुनाले त्यो ब्यारेज बनाएको हो । १ सय वर्षको अवधिको लागि सम्झौता भनिएको छ,’ उनले भने, ‘यसको डिजाइन, डीपीआर खोस्ला भन्ने कम्पनीले गरेको हो । यसको डिजाइन एकदमै राम्रो छ । ब्यारेजको डिजाइन र कन्ट्रक्सन राम्रो छ । गेटबाट पनि माथिबाट पानी जाँदा पनि थामिरहेको छ । यो नै यसको धेरै राम्रो पाटो हो । भारतले बनाएका यस्ता खालका प्रोजेक्टहरू एकदमै राम्रा हुन्छन् ।’

कोशी ब्यारेज भत्कन सक्ने अवस्थाबाट भने पार पाएको उनले बताए । ‘यो स्ट्रक्चर एकदमै बलियो बनेको छ । हाम्रो तिरका पुलहरू पानीले छुँदा नै बगे । तर, ब्यारेजको माथिबाट जाँदा पनि थामियो । यसलाई स्कोरिङ हुन दिइएको छैन । धेरै गहिराइसम्म जग बनाइएको पाइयो । त्यही भएर पानीको बहाव मात्रै होइन बालुवादेखि लेदोहरू पनि थामिरहेको छ । संरचनाको पार्टमा चाहिँ राम्रो देखियो,’ उनले भने । 

ब्यारेजको क्षमता ९ लाख क्युसेक पानीको बहाव धान्ने हो । तर, ६ लाखमै भरियो । त्यो हुनुमा माथिबाट आउने बालुवा तथा लेदो भरिनु मुख्य कारण रहेको खड्का बताउँछन् । ‘माथि पहाडबाट बगाएर ल्याएका ढुङ्गा, बालुवा र लेदो ल्याएर त्यहाँ थुप्रिने हो । त्यसकारण यसको क्षमतामा केही ह्रास त आउँछ नै । अध्ययनमा पनि यसको बेसलेभल बढेको देखाएको छ,’ उनले भने । 

  • कहिले कति मापन गरियो ?

सन् १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पानीको बहाव पुगेको थियो । सप्तकोशीमा पानीको बहाव बढेसँगै नेपालमा मात्रै होइन भारतमा पनि त्रास उत्पन्न हुन्छ । २०६५ साल भदौ २ गते सप्तकोशीको पानी कोशी ब्यारेजभन्दा १३ किलोमिटर उत्तर पश्चिम कुसाहामा तटबन्ध भत्काएर गाउँ पसेको थियो । 

त्यसबेला कोशीको बाढीबाट नेपालमा हजारौँ मानिस प्रभावित भएका थिए भने भारतमा लाखौँ मानिस प्रभावित भएका थिए । त्यसबेला पानीको बहाव १ लाख ६८ हजार क्युसेक थियो ।

Koshi Byarej (9)

सप्तकोशीमा यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो । २०८० साल साउन २९ गते पनि कोशी ब्यारेजका सबै ढोका खोलिएको थियो । २०८० साउनमा पानीको बहाव ४ लाख ५२ हजार क्युसेक पुगेको थियो । यही रेकर्ड ३४ वर्षयताकै उच्च थियो । सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानीको बहाव पुगेको थियो । 

सन् १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पानीको बहाव पुगेको इतिहास छ । जुन सबैभन्दा उच्च हो । यस्तै सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्युसेक पानीको बहाव पुगेको थियो । यस्तै २०७१ सालमा पनि सप्तकोशी नदीमा ३ लाख ४१ हजार ३ सय ९० क्युसेक पानी ब्यारेजबाट बगेको थियो । 

कोशी ब्यारेजको क्षमता ९ लाख क्युसेक पानीको बहाव धान्न सक्ने भए पनि ब्यारेज निर्माण भएयता बालुवा थुप्रिएको कारण कोशीमा पानीको बहाव ४ लाख क्युसेकभन्दा बढी भए खतरा मान्नुपर्ने विज्ञहरू बताउँछन् । पानीको बहाव बढेपछि स्परहरू क्षतिग्रस्त हुने र बाँध भत्किने खतरा हुने विज्ञको दाबी छ । 

सप्तकोशी नदीको बराह क्षेत्रमा गरिएको मापन बमोजिम नदीमा वार्षिक सालाखाला ४४ हजार २४३ दशमलव ११ अर्ब घनमिटर पानी बग्ने गर्दछ । सप्तकोशीमा एक लाख ५० हजार क्युसेक पानी ब्यारेजमा बग्न थालेपछि एउटा बत्ती बालिन्छ । २ लाख क्युसेक पुगेपछि अर्को र तीन लाख क्युसेक बग्न थालेपछि तेस्रो बत्ती बालिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप