सिड्नीमा गुन्जिए रामकृष्ण

सिड्नी । गायक रामकृष्ण ढकालले ‘रामकृष्ण ढकाल अस्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अस्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट गरेका छन् । शनिबार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरेका हुन् ।
‘बिहान उठ्ने बित्तिकै’ गीत गाउँदै स्टेजमा देखिएका गायक ढकालले आफ्नो चर्चित गीतहरू ‘बाचुन् जेलिलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले त छाडेर’’ लगायतका गीत प्रस्तुत गरेका थिए ।
उनले स्वरसम्राट नारायण गोपालका गीतहरू स्थानीय ब्यान्डसँग प्रस्तुत गर्दा उपस्थित दर्शकले प्रत्यक्ष नारायण गोपाल सुनेको प्रतिक्रिया दिए । अन्त्यमा उनले आफ्ना डान्सिङ नम्बर ‘ए माया जदौ’ गाउँदा उपस्थितले नाचेर साथ दिए । सन् २००९ देखि नै आफूले अस्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथो पटक रहेको गायक ढकालले बताए ।
‘अस्ट्रेलियामा मैले सधैँ माया पाउनु गरेको छु, यसलाई धन्यवाद भन्ने म सँग शब्द छैन । मैले यहाँ ट्रयाक र ब्यान्ड गरी दुई चरणमा आफ्ना गीत प्रस्तुत गरे । यस पटकको अस्ट्रेलिया टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा म निकै उत्साहित छु’, उनले भने ।
कार्यक्रममा उनले नेपालमा लगातार परिरहेको पानीका कारण आएको बाढीपहिरो र त्यसबाट परेको असरबाट आफू पनि अछुतो नरहेको बताए । ‘एउटा कलाकारको धर्म नै उसको कर्म हो । नेपालमा एकजना गीतकार हुनुहुन्छ र उहाँको परिवारलाई म आफ्नो परिवार मान्छु । उहाँको घरकै गेटमा पहिरो परेर थुनिनुभएको छ, उद्धार कार्य भइरहेको छ । तर, म एउटा कलाकारको धर्म निर्वाह गर्न यहाँ स्टेजमा छु’, उनले भने ।
पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा गायक ढकालले तीन घण्टा आफ्नो गीतमार्फत उपस्थितलाई बाँध्न सफल भए । आयोजक पाल्पा सर्भिसेसका अध्यक्ष दिनेश श्रेष्ठ गायक ढकाललाई प्रत्यक्ष सुन्दा सिड्नीवासी खुसी भएको बताए ।
गायक ढकालले यस पटकको दसैँ अस्ट्रेलियामै मनाउने भएकाले विभिन्न सहरमा आफू प्रस्तुत हुने बताए । उनले न्युक्यासल, एडिलेड लगायतका सहरमा आफ्नो प्रस्तुति तय भइसकेको जानकारी दिए । सोही कार्यक्रममा गायक ढकालले नेपाली सङ्गीतलाई विश्वभर चिनाउन गरेको योगदान र सङ्गीतमा दिएको निरन्तरताको कदर गर्दै आयोजक श्रेष्ठ, ए टू जेट क्लिनिङ सप्लाएर्स, क्लिनिङ् एण्ड हस्पिटालिटीका प्रमुख कृष्ण थापा र चलचित्र निर्माता सुभाष थापाले सम्मान गरेका थिए ।
उक्त अवसरमा गायक ढकालले आफ्नो गीत ‘जीवनको हिसाब’ वर्ल्ड प्रिमियर गरे । कार्यक्रममा उपस्थित दर्शकलाई आफ्नो भिडियोको पहिलो दर्शक बनाएका ढकालले गीतमा आर्थिक अभावका कारण जीविकोपार्जनका निम्ति परदेशिन बाध्य भएका नेपालीको कथा प्रस्तुत गरिएको बताए ।
सार्वजनिक गीतमा मनोज खड्काको शब्द र डेनी निरौलाको सङ्गीत रहेको छ । धनेन्द्र रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा दिलीप रायमाझी, सविना थपलिया, मनोज खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास