आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गौर कारागारमा पानी पसेपछि कैदी बन्दी छतमा

आइतबार, १३ असोज २०८१, १२ : ३७
आइतबार, १३ असोज २०८१

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित कारागारमा बाढी पसेपछि कैदी बन्दीलाई अन्यत्र व्यवस्थापन गरिएको छ। पुरुष कैदी बन्दीलाई कडा सुरक्षा घेराभित्र कारागारको छतमाथि राखिएको छ भने महिला कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारिएको छ।

बागमती नदी र लालबकैया नदीको पानी आज बिहानैदेखि गौरमा पसेर डुबान भएको छ । कारागारभित्र तीन फिटसम्म पानी ताल परेको छ । कारागारमा बस्ने अवस्था नभएको कारण चौतर्फी प्रहरी राखेर पुरुष कैदी बन्दीलाई छतमा राखिएको सिडिओ हिरालाल रेग्मीले बताएका छन्। उनीहरूको खानाको व्यवस्थापन समेत कारागारको छत माथि नै भइरहेको छ।

त्यस्तै १२ जना महिला कैदी लाई जिल्ला प्रहरी कार्यालय गौराको हिरासतमा राखिएको सिडिओ रेग्मीले जानकारी दिए। बिहीबारदेखिको अविरल वर्षासँगै रौतहटको पूर्व भेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दबाब बढ्दै गएको छ।

अहिले गौर बजारको मूल बाटोमा चौतर्फी पानी ताल परेको छ। गौर भन्सार एरियाको बाटोमा ४ फिटसम्म पानी जमेको छ भने नेपाल विद्युत् प्राधिकरण गौर शाखा जलमग्न भएको छ।

सदरमुकाम गौरका अधिकांश सडकहरू डुबेको छ भने कतिपय होचा घरहरूमा बाढी पसेको छ । बिपी चोकको सडक छेउका घर बाहेकका एरिया बाढीले डुबानमा परेका छन् । सिडिओ हिरालाल रेग्मीका अनुसार हाल सदरमुकाम गौर डुबानमा परेको छ, प्रायः सम्पूर्ण सरकारी कार्यालयहरूमा दुईदेखि तीन फिट सम्म पानी जमेर आज खुल्ने अवस्था छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप