नेपाली पत्रकारिता सामु चुनौतीका चाङ, यस्ता छन् विज्ञका सुझाव
काठमाडौँ । नेपाली पत्रकारिताका सामु चुनौतीका चाङ देखिएको विज्ञहरूले औँल्याएका छन् । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले ‘विकसित मिडिया परिदृश्य अवसर र चुनौतीहरू’ विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले विभिन्न सुझावसमेत दिएका छन् ।
एक सर्वेक्षण अनुसार ५६ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालको माध्यमबाटै सूचना पाउने गरेको देखिएको छ । पत्रकारिताका लागि यो एउटा चुनौतीको विषय हो । तीन दशकदेखि पत्रकारिता गर्दै आएका कारोबार दैनिकका पूर्वसम्पादक कुवेर चालिसे, विज्ञापन र ब्रान्डिङ क्षेत्रमा एक दशक लामो अनुभव सँगालेकी सानिया शाह र श्रीलंकाको एडफ्याक्टरर्स पीआर लंकाका गु्रप प्रमुख चन्ना फर्नान्डिसले मिडिया क्षेत्रको अवसर र चुनौतीका विषयमा प्रकाश पारेका थिए ।
व्यावसायिक मिडिया र आम जनताबिच भिन्नता छैन : कुवेर चालिसे
पूर्वसम्पादक कुवेर चालिसे इन्टरनेटको विकासले मिडियालाई सजिलो तुल्याए पनि चुनौतीसमेत बढाएको तर्क गर्दछन् । इन्टरनेटको विकाससँगै सोसल मिडिया पनि सूचनाको बलियो माध्यम बनेर स्थापित भएको उनको भनाइ छ । ‘लिगेसी मिडिया वा प्रिन्ट मिडियालाई इन्टरनेटको विकासले सजिलो बनाएको छ । पत्रकारहरूको जीवनलाई समेत सजिलो बनाएको छ,’ उनले भने, ‘तर, मिडियालाई यसले खतरामा पनि पारेको छ ।’
चालिसेका अनुसार पहिलेका पत्रकारहरू आफ्ना तीन वटा कुरामा धेरै गर्व गर्थे । उनले भने, ‘एउटा, तिनीहरूसँग प्लेटफर्म थियो । प्लेटफर्म अरू मानिसहरूसित थिएन । दोस्रो भनेको उनीहरूसँग सूचना र स्रोत थियो । तेस्रो भनेको, उनीहरूसँग पहुँच थियो र उनीहरूले लेख्न सक्थे ।’
अहिलेको सन्दर्भमा व्यावसायिक मिडिया र आम जनता, आम जनता र पत्रकारबिच कुनै फरक नरहेको उनको भनाइ छ । उनले भने, ‘जसले गर्दा अहिले पत्रकार र सञ्चारमाध्यमलाई निकै कठिन छ ।’
इन्टरनेटको विकाससँगै सामाजिक सञ्जाल पनि सूचनाको एउटा माध्यम बनेको चालिसेले बताए । ‘उदाहरणका लागि बाबुराम भट्टाईले ट्वीट गरे । अन्य सबै पत्रपत्रिका वा अनलाइनले उनले गरेको ट्वीटरको समाचार बनाए । बाबुराम भट्टराईले गरेको ट्वीटको समाचार बनाउनु आवश्यक हो ?,’ उनले प्रश्न गरे, ‘ट्वीट गरेको कुरालाई पाठकले त्यहीँबाट पढिहाल्छन् नि, हामीले त्यही ट्वीटको समाचार किन बनाउने ?’
अहिलेको अवस्थामा व्यावसायिक मिडिया वा लिगेसी मिडियामा कति विश्वसनीयता छ र हामी कहाँ उभिएका छौँ भन्नेबारे छलफल गर्ने, ठुला स्तरमा सर्वेक्षण गर्ने सही समय आएको चालिसेको तर्क छ ।
उनले भने, ‘त्रिभुवन विश्वविद्यालयले मिडिया मार्केटमा आउने नयाँ पिँढीलाई तयार पार्नुपर्छ । आज बजारमा हामीसँग जो मिडिया प्रोफेसनल छ, त्यो एक मिश्रित छ । त्यसमा आधा पत्रकारिता पढेका विद्यार्थी छन् भने पहिला पत्रकारिता नपढेका तर, गर्दै–सिक्दै आएर न्युजरूममा पुगेका हुन् ।’
सूचना विभागमा अहिले ४ हजारको हाराहारीमा न्यूज पोर्टल दर्ता भएको जिकिर गर्दै उनले अगाडि भने, ‘मेरो विचारमा तीमध्ये ८० प्रतिशत ब्लग हुन् । तिनीहरू न्यूज पोर्टल होइनन् । तिनीहरू मिडिया होइनन् तर तिनीहरू माध्यम हुन् । यहाँ हामीले माध्यम र मिडिया बुझ्नुपर्छ ।’
पत्रकारिता पढिरहेको विद्यार्थीलाई सैद्धान्तिक ज्ञान भए पनि समाचार लेख्न कठिन हुने चालिसेले बताए । ‘कक्षाकोठामा रहेको विद्यार्थी जब मेरो न्यूजरूममा आउँछ र म उसलाई समाचार लेख्न भन्छु, उसले लेख्न सक्दैन,’ उनले भने, ‘किनभने उनीहरूले सबै सिद्धान्त, सबै पढाइ जानेका हुन्छन् । तर, समाचार लेख्न सक्दैनन् । त्यसैले हामी न्यूजरूममा कक्षाकोठा र न्युजरूम फरक हुन्छ भन्छौँ ।’ यसलाई एउटा पुलका माध्यमबाट जोड्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘कक्षा कोठा र न्यूजरूम फरक हो भन्ने परम्परागत भनाइले आजको संसार सिर्जना गरेको छ ।’ विश्वविद्यालयबाट पास भएर बाहिर आएका सञ्चारकर्मी न्यूज रूममा आउन नसक्नु मुख्य समस्या रहेको उनको भनाइ छ ।
‘त्यसैले हामीले यसलाई कसरी जोड्ने भन्ने प्रमुख कुरा हो । यसका लागि हामीले व्यावहारिक रूपमा पाठ्यक्रम बनाउनुपर्छ,’ चालिसेले भने, ‘विश्वविद्यालयले बनाएको पाठ्यक्रम र पढाएको कुरा बाहिर गएरसमेत सिकाउनुपर्छ । त्यसैले हामीले प्रयोगसहितको सिकाइ गराउनुपर्छ ।’
कन्टेन्ट क्रिएशनमा कमजोर : सानिया शाह
ब्रान्डिङ क्षेत्रमा एक दशक लामो अनुभव सँगालेकी सान्या शाहले नेपालमा कन्टेन्ट क्रिएशनकै कारण सामाजिक सञ्जालमा कतिपयले फट्को मारेको बताइन् । कुनै पत्रकारिता पृष्ठभूमि वा मिडिया अध्ययन पृष्ठभूमिका नभए पनि कन्टेन्ट क्रिएशनकै कारण उनीहरूले दर्शकलाई विभिन्न पक्षको जानकारी दिने गरेको अवस्था मूलधारका मिडियाका लागि चुनौती बनेको शाहको भनाइ छ ।
‘उनीहरूले आवश्यकता देखे र सामग्रीहरू निर्माणतिर लागे । उनीहरू कुनै पत्रकारिता पढेका वा व्यवसायी व्यक्ति होइनन्,’ शाहले भनिन्, ‘उनीहरूले सामग्री निर्माण गरेर युट्युब, टिकटक जस्ता च्यानलहरूमा हाले, र निःशुल्क उपलब्ध गराए । उनीहरूले पत्रकार, संस्था, प्रकाशन तथा आधिकारिक पृष्ठहरूसँग प्रतिस्पर्धा गर्न थालेका छन् । दर्शकको ध्यान तानिरहेका छन् । जुन मिडिया हाउसहरूले गर्न सकिरहेका छैनन् ।’
त्यसैले अहिले पाठक, दर्शक तथा स्रोताको ध्यान ध्यान मिडियामा मात्रै केन्द्रित नरहेको शाहको भनाइ छ । पत्रकारहरूले समेत फराकिलो दायरालाई आत्मसात गर्नुपर्ने उनले प्रस्ट पारिन् । तथ्य–जाँच गरिएको सामग्रीमा आज पनि उच्च विश्वास हुने भन्दै उनले सामाजिक सञ्जालमा आउने सूचनामा सम्पादन नहुने, तथ्यजाँच नहुने भएकाले तिनलाई भरपर्दा सामग्री वा मिडिया भन्न नसकिने उनको भनाइ छ ।
‘लामो समयदेखि विज्ञापन सबै प्रकाशनहरूको आम्दानीको मुख्य स्रोत थियो,’ शाहले भनिन्, ‘अहिले विज्ञापन घट्दै गएको छ । किनभने कर्पोरेटहरू र विज्ञापनदाताहरू सामान्यतया अब विज्ञापन दिन सक्ने अवस्थामा छैनन् ।’
उनीहरूले अहिले आफ्नो विज्ञापन अखबार र म्यागजिनमा मात्रै सीमित नभएर फेसबुक, गुगलमार्फत समेत आफ्नो उत्पादनको प्रचार गर्दै आएको शाहको भनाइ छ ।
‘संस्थागत दृष्टिकोणबाट भन्नुपर्दा, मेरो आफ्नै अनुभव छ । म पनि मिडिया अध्ययनको विद्यार्थी हुँ । हामीले पढ्दा इतिहास, अर्थशास्त्र, उपभोक्ता मनोविज्ञान, दृश्य सञ्चार सबै मोड्युलहरू हाम्रो कलेज पाठ्यक्रमको अंश थिए,’ उनले भनिन्, ‘यद्यपि हामीले वास्तवमा मिडिया, पत्रकारिता, फिल्म, पीआर, मार्केटिङ र विज्ञापन पढिरहेका थियौँ । त्यसकारण यी सबै वरपरका विषयहरू विशेष गरी सामाजिक विज्ञानले समेत राम्रो स्टोरी तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्छन् । यो कुरा पत्रकारितामा अहिले हराइरहेको छ ।’
पत्रकारितामा भाषालाई मात्र कसैले आफ्नो शक्ति मान्छ भने अहिलेको जमानामा त्यो हराउन सक्ने शाहको भनाइ छ । ‘विचार राम्रो छ, अनुसन्धान राम्रो छ, विश्लेषणात्मक दिमाग बलियो छ भने त्यो तपाईंको शक्ति हो,’ उनले भनिन्, ‘भाषामात्रै तपाईंको शक्ति हो भने तपाईं समस्यामा हुनुहुन्छ । किनकि एक मानवको रूपमा एआईले तपाईंलाई हराउन सक्छ । तर, यदि विचारहरू तपाईंको शक्ति हुन् भने तपाईं आफ्नो जीवनमा लामो यात्रा गर्नुहुनेछ ।’
गुणस्तर आवश्यक : चन्ना फर्नान्डिस
श्रीलंकाको एडफ्याक्टरर्स पीआर लंकाका गु्रप प्रमुख चन्ना फर्नान्डिसले आर्थिक सङ्कटका कारण श्रीलंकामा कागज नभएर छापा माध्यमलाई चुनौती थपिएको चर्चा गरे । यही चुनौतीका बिच सबैलाई डिजिटल हुन बाध्य तुल्याएको उनको भनाइ छ ।
‘पत्रपत्रिका तथा रेडियो, टेलिभिजनका स्रोता–दर्शकको ध्यान अहिले अनलाइनतिर छ । मेरी आमा पनि समाचार हेर्नुहुन्छ । तर, अहिले उहाँ टिकटक चलाउनुहुन्छ र त्यहीँबाट समाचार थाहा पाउनुहुन्छ ।’ जुनसुकै माध्यममा काम गरे पनि गुणस्तरीय सामग्रीमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । अहिलेको सञ्चारमाध्यमलाई भिडियो, कम्युनिकेशनमात्र नभएर अन्य ज्ञान पनि हुन जरूरी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै
-
काठमाडौँ–१६ मा चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरूको तीव्र दौडधुप