आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
कांग्रेस राजनीति

देउवा–शेखर गठजोडले झस्किएको इतरसमूह

आइतबार, १३ असोज २०८१, १० : १८
आइतबार, १३ असोज २०८१
  • विषय प्रवेश

कांग्रेस सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन एक वर्ष पर सार्लान् कि समयमै सम्पन्न गर्लान् ? यो चासोको विषय बनेको छ । 

के उनी विधान संशोधन गरेर फेरि सभापति बन्लान् ? या, इमानदारीपूर्वक निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गराएर अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्लान् ? नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबिच यस्ता प्रश्न उठिरहेका रहेका छन् । 

अर्को कुरा, आउँदो महाधिवेशनमा सभापति देउवाले कसलाई साथ लिएर हिँड्दै छन् भन्ने कुराले महत्त्व राख्नेछ । उनी आफू इच्छुक नभए पनि पत्नी आरजु राणालाई पार्टीभित्रको व्यवस्थापनलाई मध्यनजर गरेर अर्को पक्षसँग सहकार्य गर्नेछन् । अहिले उनको कसैप्रति स्पष्ट समर्थन नदेखिए पनि वरिष्ठ नेता डा. शेखर कोइराला वा पार्टी महामन्त्री गगन थापामध्ये एक जनालाई साथमा लिएर जाने देखिन्छ ।

अझ स्पष्ट भाषामा भन्नुपर्दा १४औँ महाधिवेशनका आफ्ना प्रतिस्प्रर्धी डा. शेखर कोइरालालाई साथमा लिएर जानेमा उनी विश्वस्त देखिन्छन् । किनभने, शेखर कोइरालाको नेतृत्वमा उनलाई पत्नी आरजु राणा लगायत आफ्ना टिमका सिनियर नेता अटाउन सजिलो हुनेछ । देउवाले गगन थापालाई साथमा लिएर गए भने पत्नी आरजु राणाको त व्यवस्थापन होला, तर उनीसँग रहेका सिनियर नेताहरूको व्यवस्थापन भने निकै कठिन हुनेछ । देउवा टिमका सिनियर नेताहरू शेखर समूहमा आउने र देउवा एक्लिने सम्भावना उत्तिकै छ । 

देउवालाई जान्ने–बुझ्नेहरू भन्छन्, सभापतिका लागि पार्टीमा जति धेरै दाबेदार भए, देउवालाई उति फाइदा हुन्छ । किनकि ती हरेक दाबेदारलाई खेलाइखेलाई उनले राजनीतिमा आफ्नो आगामी स्वार्थ स्थापित गर्न सक्नेछन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा देउवा पुनः पार्टी सभापतिका लागि उम्मेदवार बन्न नपाउने विधानमा व्यवस्था छ । विधान अनुसार लगातार दुई कार्यकालभन्दा बढी सभापति बन्न पाइँदैन । ७८ वर्षीया देउवाको कार्यकाल २०८२ मंसिरसम्म मात्र हो । देउवालाई जान्ने–बुझ्नेहरू भन्छन्, सभापतिका लागि पार्टीमा जति धेरै दाबेदार भए, देउवालाई उति फाइदा हुन्छ । किनकि ती हरेक दाबेदारलाई खेलाइखेलाई उनले राजनीतिमा आफ्नो आगामी स्वार्थ स्थापित गर्न सक्नेछन् । 

ओलीले धोकाधडी गरेनन् भने सर्तबमोजिम चुनाव गराउने सरकारमा देउवा प्रधानमन्त्री भइहाल्नेछन् । पार्टीभित्र पनि अब यो मामिलामा कुनै विवाद देखिँदैन । सभापति नहुने भएपछि राजनीतिमा अब देउवाको चाहना या स्वार्थ के होला त ? यसको एउटै जवाफ हुन्छ— पार्टी र सत्ता राजनीतिमा पत्नी आरजु राणाको उचित व्यवस्थापन । 

  • सत्ताका चतुर खेलाडी देउवा 

सभापति देउवा झट्ट हेर्दा चतुर राजनीतिज्ञजस्ता देखिँदैनन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल या एमाले अध्यक्ष केपी ओलीजस्ता भाषणबाज पनि होइनन् । हरेक दिनजसो टेलिभिजन या युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिँड्ने र विरोधीमाथि आरोप वा प्रत्यारोप गर्ने खालका ‘मुखाले’ नेता पनि होइनन् । 

सामान्य, सोझा र सरलजस्ता देखिने देउवा राजनीतिक चातुर्य र कूटनीतिमा भने माहिर छन् । प्रतिकूल परिस्थितिलाई पनि आफ्नो अनकूल बनाउन सक्ने अद्भुत कला उनीमा देखिन्छ र त उनी बारम्बार सत्ता राजनीतिमा हाबी हुँदै आएका छन् । 

१४औँ महाधिवेशनमा कृष्ण सिटौलालाई आफ्नो पक्षमा ल्याए । आफ्नैविरुद्ध खडा भएका रामचन्द्र पौडेल र डा. शशांक कोइरालाको समेत समर्थ हासिल गरे । आफूलाई चुनौती दिने इतरसमूह का प्रकाशमान सिंहदेखि विमलेन्द्र निधिसम्मलाई उनले आफ्नै पक्षमा ल्याए । 

पार्टी सभापति भएपछि देउवाले इतरपक्षलाई या सन्तुलनमा ल्याउने या यसका नेतालाई ‘मिल्न नदिने’ चातुर्य देखाउँदै आएका छन् । देउवाले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने सार्वजनिक रूपमा घोषणा गरेयता देउवा र डा. शेखर कोइरालाको दूरी घटेको छ । सभापतिका प्रबल दाबेदार शेखर पनि देउवाको साथ र समर्थनको अपेक्षा गरिरहेका छन् । 

सभापति देउवाले पनि शेखरप्रति उदार भाव दशाईरहेका छन् भन्ने उदाहरण हो, कोइराला समूहबाट धनराज गुरुङलाई कानुनमन्त्री र डिकबहादुर लिम्बुलाई खेलकुदमन्त्री बनाइनु । यही निकटताका कारण देउवा र र शेखर सार्वजनिक समारोहमा एक साथ सहभागी हुन थालेका छन्, जुन केही समय अघिसम्म असम्भव मानिन्थ्यो । पार्टी केन्द्रीय कार्यालयमा शेखरको बेग्लै कार्यकक्षको व्यवस्था मिलाइएको छ । देउवा र शेखरबिच केही समययता खासै तिक्तता देखिँदैन । 

सभापति नहुने भएपछि राजनीतिमा अब देउवाको चाहना या स्वार्थ के होला त ? यसको एउटै जवाफ हुन्छ— पार्टी र सत्ता राजनीतिमा पत्नी आरजु राणाको उचित व्यवस्थापन ।

शेखरसँग देउवाको यस्तो निकटताको सोझो असर महामन्त्री गगन थापालाई पर्ने नै भयो । शेखरको सहयोगमा आफू सभापति बन्ने ताकमा रहेका महामन्त्री थापाले देउवा–शेखर निकटतापछि नै आक्रोशका स्वर उराल्न थालेको देखिन्छ । संसददेखि सार्वजनिक समारोहमा महामन्त्री थापाले कांग्रेस–एमाले गठबन्धनको सरकार र आफ्नै नेतृत्वविरुद्ध कटाक्ष गर्न थाले । उनी आक्रामक देखिए ।

आफूविरुद्ध आक्रामक भएका महामन्त्री थापालाई थुमथुम्याउन अचेल सभापति देउवाको निकै जोडबल देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने संलग्न भएको सहकारी ठगी प्रकरणबारे सार्वजनिक रूपमा बोल्दै देउवाले ‘हाम्रा महामन्त्रीले भनेको ठिकै रहेछ, रवि त चलाख रहेछन्’सम्म भने । यसैगरी महामन्त्री थापाले भने अनुसार नै पार्टीले धेरै महत्त्वपूर्ण निर्णय गरेको छ । महामन्त्री थापालाई फकाउने, आक्रामक बन्न नदिने देउवाको दाउ हो । 

सभापतिका अर्का दाबेदार डा. शशांक कोइरालालाई पनि सभापति देउवाले उपेक्षा गर्ने कुरै आएन । १४औँ महाधिवेशनमा आफूलाई साथ दिएका शशांकलाई पनि देउवाले आफू निकट नै राखेका छन् । गएको महाधिवेशनताका देउवाले ‘यो पार्टी बीपीले बनाएको हो, मैले छाड्नुपर्दा बीपीकै छोरालाई छाड्ने हो’ भनेका थिए । यही वाक्यको हवाला दिँदै हालै एक दैनिक पत्रिकाको अन्तर्वार्तामा शशांक स्वयंले देउवाको उत्तराधिकारी आफू नै भएको दाबी गरेका छन् । 

शेखरदेखि गगन हुँदै शशांकसम्मलाई फकाउँदै र उनीहरूबिचको स्वार्थमा खेल्दै सभापति देउवाले पार्टी र सत्ता राजनीतिमा आफ्नो वर्चस्वलाई निरन्रता दिने चातुर्य देखाएकै हुन् । 

देउवाले यस्तो चातुर्य देखाइरहेकै बेला नेपाली कांग्रेसका नेतात्रय प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले हालै भेटवार्ता गरेर कांग्रेसमा नयाँ तरंग ल्याएका छन् । शशांकले आयोजना गरेको सो भेटवार्ता १५औँ महाधिवेशनमै केन्द्रित थियो । 

आगामी महाधिवेशनमा सभापतिका प्रबल दाबेदार एवं कांग्रेसका महान् दिवंगत तीन नेता बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरूबिचको यो भेटवार्तालाई अर्थपूर्ण मानिएको छ । १४औँ महाधिवेशनमा प्रकाशमान र विमलेन्द्र पहिलो चरणमा सभापतिमा खडा भएका थिए, तर कसैले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा यी दुवै नेताले शेरबहादुर देउवालाई समर्थन गरेका थिए । शशांकले पनि उतिबेला देउवालाई नै समर्थन गरेका थिए । 

अब देउवा सभापतिमा खडा नहुने भएकाले सभापतिका आकांक्षी यी तीन नेताले के गर्लान् भन्ने कुतूहलता छ । सभापति देउवाले ‘बिपीका छोरालाई छाडछु’ भनेको सन्दर्भमा बीपीका छोरा शशांकले आफ्ना प्रतिस्पर्धी नेतालाई घरमै डाकेर वार्ता गरेपछि कतै देउवाले शशांकलाई नै सभापति बनाउने त हैनन् ? भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । 

अर्कोतिर कोइराला परिवारभित्र पनि यसपालि कोइराला परिवारबाटै सभापति बनाउने लबिङ प्रारम्भ भएको छ । देउवा अघिका सभापति सुशील कोइरालापछि कांग्रेस नेतृत्वबाट कोइराला परिवार च्युत भएकाले त्यसको पुनस्र्थापनाको पहल पनि गिरिजाप्रसाद कोइरालाकी पुत्री एवं नेतृ सुजाता कोइरालाबाट भएको छ । कोइराला परिवारका शेखर, शशांक र सुजाताबिच यसबारे समझदारी भएको एकथरीको दाबी छ । 
कोइराला परिवार वृत्तका केही नेताले बताए अनुसार सभापति देउवा प्रधानमन्त्री भएपछि सुजातालाई सरकारमा प्रतिनिधित्व गराउने, १५औँ महाधिवेशनमा शशांकलाई सभापति बनाउने र २०८४ को चुनावपछि शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने सहमति कोइराला कोटरीमा भएको चर्चा छ । 

  • देउवापछि आरजु शक्तिशाली 

१४औँ महाधिवेशनपछि बनेको देउवा टिम १५औँ मा आएर विघटन हुनेछ । टिमभित्र देउवाको उत्तराधिकारी को भन्नेमा ठुलो विवाद चलिरहेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले आफूलाई टिमको नेता दाबी गरे पनि सभापति देउवाले उनलाई विश्वास गर्न छाडेपछि उनी उक्लिएका छन् । देउवा टिममा बलियो नेताका रूपमा रहेका बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणपछि अर्को बलियो पात्रको खोजी भइरहेको थियो, तर देउवा पत्नी आरजु राणालाई सरकारमा परराष्ट्रमन्त्री बनाउनु, खाँण मूलराजनीतिबाट बाहिरिनु, खड्का टिममा एक्लिनुजस्ता पछिल्ला घटना क्रमले देउवा टिममा आरजुको उदय भएको मान्न सकिन्छ । 
अहिले आएर नेपाली कांग्रेसमा कसैले चाहेर या नचाहेर डा. आरजु राणाको सशक्त हस्तक्षेप भइसकेको छ । पार्टीमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि उनको ‘ड्यासिङ पर्सनालिटी’ बनेको छ । अहिलेको सत्ता गठबन्धन निर्माणमा परोक्ष वा अपरोक्ष रूपमा राणाको भूमिका महत्त्वपूर्ण रहेको तथ्य स्पष्टै छ । 

परराष्ट्रमन्त्रीका रूपमा राणाको भूमिका हालसम्म सफल नै देखिन्छ । खोट लगाउनुपर्ने कुनै ठाउँ देखिँदैन । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको सहभागिता, नेपालका प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका प्रतिनिधिसँग भेटघाट र यसमा परराष्ट्रमन्त्री राणाको ‘फर्ममेन्स’लाई सकारात्मक रूपमै लिनुपर्छ । अर्थात् राष्ट्रिय या अन्तर्राष्ट्रिय भूमिकामा राणाले आफूलाई सक्रिय, सक्षम र ‘बोल्ड’ साबित गरिसकेकी छिन्, भलै कतिपय कोणबाट आलोचना वा कटाक्ष हुने गरेकै किन नहोस् । 

सभापति देउवा पत्नी आरजु राणाको राजनीतिक यात्राको सम्भावनालाई अझ शिखरमा पुर्‍याउन चाहन्छन् । पार्टीमा राणाको सम्मानजनक हैसियत र व्यवस्थापन होस्, सत्ता राजनीतिमा अहिलेझैँ उन्नतिका पाइलामा कुनै अवरोध खडा नहोस् र देशकै प्रथम महिला प्रधानमन्त्री बन्नेसम्मको सफलता उनले हासिल गरून् भन्ने सभापति देउवाको चाहना हुन सक्छ । यो अनुचित पनि त होइन । 

एक वर्षपछि हुने कांग्रेस महाधिवेशनमा सभापतिका अनेकौँ दाबेदारहरूको रस्साकस्सीलाई उपयोग गर्दै पत्नी राणालाई कांग्रेस नेतृत्वमा गहन जिम्मेवारीका साथ पदाधिकारी तहसम्म लैजानु नै देउवाको अबको रणनीति हुन सक्छ । यसकै लागि उनले कांग्रेसका सबै गुट र समूहबिच खेल्ने तौर–तरिका अपनाएको देखिन्छ । यो चातुर्यमा उनी कति सफल होलान्, त्यो त आगामी दिनमा देखिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव लम्साल
शिव लम्साल
लेखकबाट थप