आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
बाढी/पहिरो

काठमाडौँमा कहाँ-कहाँ छ सवारी अवरोध र पहिरो ?

आइतबार, १३ असोज २०८१, १० : १५
आइतबार, १३ असोज २०८१

काठमाडौँ । बिहीबारबाट परेको अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । 

काठमाडौँ जिल्लामा पनि बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । अवरुद्ध स्थानमा पहिरो पन्छाएर सवारी खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरीले बिहान ९ बजे दिएको जानकारी अनुसार कीर्तिपुर, स्वयम्भू, नागढुंगा, फर्पिङ, साँखु,बलम्बु, थानकोट, बालाजु क्षेत्रमा सवारी अवरोध भएकोमा केही स्थानमा खुलाइएको र बाँकीमा खुलाउने प्रयास जारी रहेको छ । 

प्रहरीका अनुसार बालाजुबाट मुड्खु जाने बाटोमा रुख ढलेर सवारी अवरोध भएकोमा आइतबार बिहान ८ बजेबाट रुख हटाएर सवारी सुचारु भएको छ । 

कीर्तिपुर सडक खण्डमा चोभार गेट नजिक बिच बाटोमा २५/३० वटा रुख ढलेर बाटो पूर्ण रूपमा अवरोध भएकाले  हटाउने पहल भइरहेको छ । 

स्वयम्भू इच्छङकुनारायण मन्दिर नजिक पहिरो गई घरहरू थिचिएर मानवीय क्षति समेत भएको छ । त्यहाँ उद्धार गर्न बाँकी रहेको प्रहरीले जनाएको छ साथै त्यस स्थानमा अवरुद्ध सवारी आजै सुचारु गर्ने तयारी रहेको प्रहरीले जनाएको छ । 

काठमाडाैँ र घादिङको सिमाना झ्याप्ले खोलामा पहिरो जाँदा सवारी साधनहरू पुरिएर सडक अवरोध भएको छ । झ्याप्ले खोलबाट  १४ वटा शव निकालेर टिचिङ अस्पताल पठाएको प्रहरीले जनाएको छ । उक्त स्थानमा आइतबार बिहान  नागमन्दिर नजिक पुनः पहिरो खस्दा बाटो अवरोध छ ।

त्यस्तै फर्पिङ क्षेत्रका बाँसबारी,हनुमाने बिष्णुखोला,लामागाऊँ, केराबारी, सल्लेरी डाँडा, छैमले माइतीखोला, भण्डारखर्क लगायतका स्थानमा पहिरोले सवारी पूर्ण रूपमा अवरोध कायमै रहेको प्रहरीले जनाएको छ । त्यस्तै बल्खुबाट फर्पिङ जाने बाटो दक्षिणकाली नगरपालिका चाल्नाखेल हवेली र बासबारीमा डोजर प्रयोग गरि बाटो खुलाउने पहल भइरहेको छ । साथै फर्पिङबाट हेटौडा निस्किने बाटो खुलाउन स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

काठमाडौँको उत्तरी क्षेत्र साँखु– शङ्खरापुरबाट मेलम्ची सिन्धुपाल्चोक जाने बाटो चौकी भञ्ज्याङ र नाङ्लेभारे दुवै तिरको बाटो अवरोध भएको छ । त्यहाँ गएको हटाउन लागिएको प्रहरीले जनाएको छ । 

थानकोट – थानकोट चन्द्रागिरी चितलङ् कुलेखानी हुदै हेटैडा जाने सडक खण्डमा पानीघाट देखी सेतोमाटो सम्म ठाँउ ठाँउमा पहिरो खसेकाले सवारी साधन आवतजावत हुन सकेको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप