आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण : पहिलो जितको खोजीमा रहेको नेपाल आज ओमानसँग भिड्दै

आइतबार, १३ असोज २०८१, १० : ०९
आइतबार, १३ असोज २०८१

काठमाडौँ । हाल क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको आफ्नो दोस्रो खेल आइतबार खेल्दै छ । नेपाली टोलीले आफ्नो दोस्रो खेलमा ओमानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ ।

क्यानडा भ्रमणका क्रममा नेपाली टोलीको प्रदर्शन निकै निराशाजनक देखिएको छ । नेपाली टोली लिग–२ शृङ्खला अन्तर्गत क्यानडामा आफूले खेलेका चारमध्ये एक खेलमा पनि विजयी हुन सकेन । ओमानविरुद्धको एक खेल वर्षाका कारण रद्द भएकाले नेपालले एक अङ्क हात पारेको थियो ।

त्यसपछि सुरु भएको त्रिकोणात्मक टी–२० अन्तर्गत शृङ्खलाको आफ्नो पहिलो खेलमा पनि नेपाली टोली आयोजक राष्ट्र क्यानडासँग १४ रनले पराजित हुन पुग्यो । पहिलो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९ ओभरमै अलआउट हुनुअघि एक सय नौ रनमात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३७, कुशल मल्ले १२, देव खनालले ११ र सन्दीप लामिछानेले १० रन बनाए ।

नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । त्यसअघि बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले तीन–तीन तथा रिजन ढकाल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए ।

क्यानडा भ्रमणमा नेपाली टोलीले हालसम्म एक जित पनि हात पार्न सकेको छैन । खासगरी नेपाली टोलीको ब्याटिङमा निकै समस्या देखिएको छ । लिग–२ को एकदिवसीय ढाँचा होस् वा मैत्रीपूर्ण टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपाली टोलीका माथिल्ला क्रमका ब्याट्सम्यानहरु निरीह बन्दै आएका छन् । त्यसैले आइतबार खेलिने ओमानविरुद्धको खेलमा नेपाली टोली पहिलो जितको खोजीमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप