आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश : एउटै निर्वाचन क्षेत्रमा ७२ करोड रुपैयाँभन्दा बढीका योजना

पूर्वमन्त्री प्रकाश देउवाको क्षेत्रमा १०३ सडकसहित १६४ योजना समावेश
आइतबार, १३ असोज २०८१, ०९ : ४५
आइतबार, १३ असोज २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि हालै ल्याएको बजेटमा एउटै प्रदेश सभा निर्वाचन क्षेत्रमा ७२ करोड रुपैयाँभन्दा बढीको योजना पारिएको छ ।

कैलाली क्षेत्र नं. ५ (२)मा धनगढीका १०३ वटा सडकसहित भौतिक संरचना निर्माण, सामाजिक क्षेत्र गरी १६४ वटा विकास योजनाका लागि ७२ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसबाट प्रकाश देउवा निर्वाचित भएका हुन् । उनी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री समेत हुन् ।

चालु आर्थिक वर्षका लागि भदौ ३१ गते प्रदेश सरकारले बजेट प्रस्तुत गरेको हो । प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिकाअनुसार प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालुतर्फ ४०.६५ प्रतिशत अर्थात् १२ अर्ब ५ करोड ७४ लाख र पुँजीगततर्फ ५९.३२ अर्थात् १ अर्ब ७६ करोड २४ लाख रुपैयाँ छुट्ट्याइएको छ ।

सांसद देउवाको क्षेत्रमा छुट्ट्याइएको बजेट  प्रदेश सरकारकै जम्मा पुँजीगत बजेटको ३ प्रतिशत हुन आउँछ । उनको निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाको अधिकांश भाग पर्दछ ।

प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदसँग ४ करोड र समानुपातिक सांसदसँग २ करोड बराबरको योजना मागेको थियो । तर कर्मचारी संयन्त्रमा समेत दरिलो प्रभाव पारेका देउवाले ठुलो रकमसहितको योजनामा बजेट पारेका हुन् ।

उनको निर्वाचन क्षेत्रमा निर्माणाधीन मुख्य सडकबाहेक धनगढीका अन्य सडकमा कम्तीमा २० लाख र बढीमा २ करोडसम्म बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्ष नै ठेक्कामा गएका धनगढीका १९ सडकमध्ये क्रमागत सडकमा मात्रै एक करोड तथा सोभन्दा बढी बजेट छुट्ट्याइएको छ । अधिकांश नयाँ सडकमा २० लाख, २५ लाख र ५० लाखसम्म बजेट विनियोजन गरिएको छ ।

करोडमाथि बजेट परेका सडक

विनियोजित बजेटमध्ये दर्जनौँ सडकमा एक/एक करोड रुपैयाँभन्दा बढी बजेट छ । धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडक अन्तर्गत यातायात चोकदेखि फाप्ला जाने सडक स्तरोन्नतिका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ ।

त्यस्तै, भगतचोकदेखि जुगेडा सडक स्तरोन्नतिका लागि १ करोड ५० लाख, वडा नंं ३ को नेशनल मार्ग सडक तथा नाली स्तरोन्नतिका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ ।

सांसद देउवाले सडक पूर्वाधारका साथै २ दर्जनभन्दा बढी धार्मिक क्षेत्रको भौतिक संरचना निर्माणका लागि पनि पर्याप्त बजेट विनियोजन गराएका छन् ।

धनगढी वडा नं. ३ स्थित सौराई होटलदेखि वीरेन्द्र चोकसम्मको सडक स्तरोन्नतिको लागि पनि १ करोड ५० लाख बजेट विनियोजन भएको छ । वडा नं. २ स्थित खप्तड टोल सडक स्तरोन्नतिमा १ करोड, वडा नं. २ स्थित त्रिवेणी सडकको शैलेश्वरी कलेज हुँदै हुलाकी सडकसम्मका लागि २ करोड बजेट विनियोजन गरिएको प्रदेश सरकारको वार्षिक कार्यक्रममा उल्लेख छ ।

यसैगरी वडा नं. २ कै रुवस सडकको तिनकुने चोकदेखि हुलाकी सडकसम्म स्तरोन्नतिका लागि १ करोड २० लाख, रुवस होटल बैयावेहडी सडकका लागि १ करोड २० लाख, पुरानो भन्सार सडकका लागि १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

धनगढी–४ को शिवपुरी चोकदेखि तुल्सीचोकसम्म सडक स्तरोन्नतिका लागि १ करोड २० लाख, सोही वडाको टेम्पल रिसोर्टदेखि शिवपुरी धाम हुँदै वडा नम्बर ४ को वडा कार्यालय जाने सडक कालोपत्रे गर्न १ करोड ९ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

धनगढीका कुन मन्दिरमा कति बजेट ?

Prakash Deuba2सांसद देउवाले सडक पूर्वाधारका साथै २ दर्जनभन्दा बढी धार्मिक क्षेत्रको भौतिक संरचना निर्माणका लागि पनि पर्याप्त बजेट विनियोजन गराएका छन् ।

धनगढी वडा नं. ३ बोराडाडीस्थित शिव मन्दिर घेरवार तथा हवन कुण्ड निर्माणका लागि ७ लाख, वडा नं. ७ स्थित शिव मन्दिर गौडीका लागि ७ लाख, वडा नं. १३ स्थित डिलाशैनी मन्दिरको परिसरभित्र ओम शान्तिको गीता पाठशाला भवन निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन भएको छ ।

वडा नंं १ स्थित श्रीकृष्ण बलराम मन्दिर निर्माणका लाागि १५ लाख, वडा नम्बर ५ जाईस्थित थारु देउथानमा संग्रहालय स्थापनाका लागि १५ लाख, वडा नं. १ पशुपति टोलस्थित मष्टा मन्दिरका लागि १० लाख, वडा नं. ४ स्थित शिवपुरी मन्दिरमा जागरण भवन निर्माणका लागि १५ लाख रुपैयाँ बजेट राखिएको छ ।

वडा नंं ५ स्थित भैरव महाकाली मन्दिर निर्माणका लागि १० लाख, वडा नं. १ स्थित नेपाली नुरेजामे मस्जिद संघ पूर्वाधार निर्माणका लागि १० लाख, वडा नं. २ स्थित भुवनेश्वरी मन्दिर पूर्वाधार निर्माणका लागि ५ लाख रुपैयाँ बजेट राखिएको छ ।

यसैगरी धनगढी– ११ स्थित श्री पिण्डेश्वर महादेव अर्धनारीश्वरी अर्चना बाबाधाम पूर्वाधार निर्माणका लागि ११ लाख, वडा नम्बर २ स्थित ग्वाँसी समैजी मन्दिर पूर्वाधार निर्माणका लागि ५ लाख, वडा नं. २ स्थित वनदेवी मन्दिर निर्माणका लागि ५ लाख, वडा नम्बर १२ स्थित छोयइलिंग करक्युवा गुम्बामा मूर्ति निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वडा नं. १४ स्थित मोहन्याल मन्दिर निर्माणका लागि ५ लाख, वडा नम्बर १८ स्थित राधाकृष्ण मन्दिर निर्माणका लागि १० लाख, वडा नम्बर १४ मा थारु देथान निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

धनगढीमै भुवनेश्वरी माताको मन्दिर निर्माणका लागि ७ लाख, सिद्धिविनायक गणेश मन्दिर निर्माणमा ७ लाख, नवदुर्गा मन्दिर बाजुरा टोल बी गाउँ मर्मत तथा निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै, धनगढी–१ मा शिवमन्दिर निर्माणका लागि १५ लाख, वडा नम्बर १२ मा दुर्गा मन्दिर भजन किर्तन भवन निर्माणका लागि ५ लाख, वडा नम्बर ३ मा चण्डेश्वरी भगवती मन्दिर परिसरमा भजन सत्सङका लागि ट्रष्ट निर्माण तथा मन्दिर निर्माण गर्न १० लाख, वडा नं. ५ स्थित गौरी महेश्वरी मन्दिर परिसरभित्र योगाहल निर्माण गर्न १० लाख रुपैयाँ बजेट राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप