आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

आइतबार, १३ असोज २०८१, ०८ : १९
आइतबार, १३ असोज २०८१

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मृत्यु हुनेमा सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका–९ की २९ वर्षीया रीना तामाङ रहेका छन् । स्थानीय डिमादावा शेर्पाको ढुङ्गा र माटोले बनेको घर पहिरोले बगाउँदा ल्हामु, उनका छोरा फुर्वा र रीनाको मृत्यु भएको हो । सोही घटनामा ६२ वर्षीया याङजी शेर्पा घाइते भएकी छिन् । उनको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित वाङछु मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पहिरोले घर बगाउँदा सोलुदूकुण्ड नगरपालिका–१० चैलुङकी ३३ वर्षीया कविता मगर र सोही ठाउँकी २४ वर्षीया रुपु मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए । लगातार परेको वर्षाका कारण चैलुङका टेकबहादुर मगरको ढुङ्गा माटोले बनेको काठको छानो भएको एकतले घर पहिरोले बगाउँदा कविता र रुपुको मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप