आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

आइतबार, १३ असोज २०८१, ०६ : ३४
आइतबार, १३ असोज २०८१

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । 

प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान भएको उनले बताए । जिल्लाको गैँडाकोट नगरपालिका–२ बोटे टोलमा ८० घर डुबानमा परेका छन् । बस्ती डुबानमा परेपछि यहाँका बासिन्दालाई उद्धार गरी  महेन्द्र स्मारक आधारभूत विद्यालय र श्रीराम पार्टी प्यालेसमा राखिएको छ । 

गैँडाकोट–७ सिकारी टोलका १५ घर, वडा नं ९ को थुम्सीका १८ घर र वडा नं १० थापा गाउँका १५ घर डुबानमा परेका छन् । डुबानमा परेका घरका बासिन्दा आफन्तकहाँ आश्रय लिएर बसेका प्रजीअ पोख्रेलले बताए । नवलपुरको कावासोती नगरपालिका–१५ बाघखोरका ६० घर र कावासोती–१७ गोछडाटारका दुई सय १५ घर समेत डुबानमा परेका छन् । 

यसैगरी मध्यविन्दु नगरपालिका–२ सीतापुर र सेरीका दुई सय घर डुबानमा परेका छन् । मध्यविन्दु–६ भडराका दुई सय घर र वडा नं १५ का १८ घर डुबानमा परेका छन् । डुबानबाट एक हजार नौ सय ३७ जना प्रभावित भएको प्रजीअ पोख्रेलले बताए । नारायणी नदीको बाढीका कारण यी क्षेत्र डुबानमा परेका हुन् । डुबानमा परेका क्षेत्रमा उद्धारका लागि तीन सय दुई नेपाल प्रहरी, एक सय ४५ सशस्त्र प्रहरी र ८२ नेपाली सेना खटिएका थिए । 
 
बाढीका कारण कृषि बालीमा समेत ठूलो क्षति पुगेको छ । बाढीले नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सात सय हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुर्याएको छ । जिल्लाका विभिन्न स्थानमा गरेर करिब सात सय हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । 

बाढीबाट गैँडाकोट,  कावासोती, मध्यविन्दु, विनयी त्रिवेणीका विभिन्न क्षेत्रमा धानबालीमा क्षति पुर्याएको छ । नारायणी नदी तटीय क्षेत्रका बस्ती सेहरी, नन्दपुर, सीतापुर, भुताह, बगुवन, प्रसौनीलगायत क्षेत्रमा बाढीबाट बढी क्षति पुगेको छ । वर्षासँगै आएको बाढीले खेत पूरै डुबान भएकाले यी क्षेत्रमा धानबाली पूर्ण रूपमा नोक्सान हुने अवस्था रहेको प्रमुख तिवारीले बताए। बाढीले जिल्लाका माछापोखरीमा समेत ठूलो क्षति पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप