आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग

शनिबार, १२ असोज २०८१, २३ : ०९
शनिबार, १२ असोज २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अविरल वर्षाका कारण ज्यान गुमाएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, संकटमा परेका नागरिकको उद्धार, पुनर्स्थापना र घाइतेको निःशुल्क उपचार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । शनिबार सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

उनले भनेका छन् : ‘क्षतिको विवरण सङ्कलन गरी पीडित नागरिकलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा तीन तहकै सरकारको प्रभावकारी अग्रसरता हुनुपर्दछ। विपद्को यो घडीमा राप्रपा सरकार र आम जनसमुदायको साथमा छ । सबै मिलेर यो विपद्को सामना गरौँ ।’ 

अध्यक्ष लिङदेनले बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति हुन पुगेको घटनाबाट आफू अत्यन्तै दुः खी भएको बताएका छन् । उनले वर्षाको वितण्डाबाट ज्यान गुमाउन पुगेकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले वर्षाका कारण राजधानी छिर्ने सडक मात्रै होइन देशभरका दर्जनौँ सडक, पुल र राजमार्ग बन्द हुँदा सवारी आवागमनमा कठिनाइ उत्पन्न भएको बताउँदै कैयन् भौतिक संरचना क्षतिग्रस्त बन्न पुगेको बताएका छन् । उनले भनेका छन्– ‘नागरिकको निजी सम्पत्ति तहसनहस बन्न पुगेको छ । कैयन ठाऊॅमा किसानले भित्र्याउने बेलाको बाली पूर्णरुपमा नष्ट हुन पुगेको छ। अस्वभाविक वर्षा, बाढीपहिरो र डुबानबाट जनजीवन त्रसित र अस्तव्यस्त बन्न पुगेको छ ।’

अध्यक्ष लिङदेनले विपदसँग जुधिरहेका आम नागरिकको साथमा उभिन, राहत, उद्धार र पुनः स्थापनामा जुट्न देशभरका पार्टीका सदस्यहरुलाई आह्वान समेत गरेका छन् । साथै, प्रवासमा रहेका नेपालीहरु र पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसका सदस्यहरुलाई प्राकृतिक प्रकोपको यो विपत्तिमा साथ, सहयोग र हातेमालो गर्न समेत उनले  अपील गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप