शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक विपत्ति

कोशी प्रदेशमा बाढी, पहिरो र डुबानमा परी १० जनाको मृत्यु, १० जना बेपत्ता

शनिबार, १२ असोज २०८१, २० : ०१
शनिबार, १२ असोज २०८१

विराटनगर । तीन दिनदेखिको अविरल वर्षाको कारण कोशी प्रदेशमा बाढी, पहिरो र डुबानबाट १० जनाको मृत्यु भएको छ । १० जना बेपत्ता भएका छन् । मृत्यु भएकामध्ये पहिरोले पुरिएर १ बालिकासहित ९ जनाको मृत्यु भएको छ । बाढीले बगाएर १ जनाको मृत्यु भएको छ ।

जसमा पाँचथरमा ५ जनाको मृत्यु भएको छ भने सोलुखुम्बुमा २ जना, धनकुटामा २ जना र इलाममा १ जनाको मृत्यु भएको छ। यस्तै पाँचथरमा ६ जना, झापामा ३ जना र मोरङमा १ जना भने अझै बेपत्ता छन् । 

शनिबार दिउँसोको पहिरोमा परेर सोलुखुम्बुको टाप्टिङमा दुई जनाको मृत्यु भएको छ । सोलु दुधकुण्ड नगरपालिका–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा घरमा रहेका उनका छोरी ३० वर्षीय कविता मगर र ४१ वर्षीय बुहारी रूपु मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि लैजान समेत कठिनाइ भइरहेको वडा अध्यक्ष होमबहादुर मगरले जानकारी दिए । घटनास्थल सदरमुकाम सल्लेरीदेखि १५ किलोमिटर उत्तरमा पर्छ ।

पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिँदा २४ वर्षीय सपना शेर्पा र उनकी ५ वर्षीय छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।

पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भई फुरुंगा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको हो । यस्तै फिदिम ८ भोटेगाउँका ८२ वर्षकी पश्चिमा शेर्पा र फिदिम २ मजिटेकी ३५ वर्षकी रञ्जना राईको पनि पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

फालेलुङ ५ की ३६ वर्षीय कमला राई, फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीय कमला दास, ५५ वर्षीय धनकुमार तुम्बापो, राजेश तुम्बापो र उनकी श्रीमती २१ वर्षीय सरस्वता तुम्बापो पहिरोमा बेपत्ता भएका छन् । प्रहरीका अनुसार मृतक विश्वकर्मा र बेपत्ता भएकाहरू फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने कर्मचारी हुन् । उनीहरू स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए ।

प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार रञ्जना र उनको छोरा पाहुन गएको बेला पहिरोमा परेका थिए । आमाको मृत्यु भएको छ भने छोरा विपिन घाइते भएकोले पाँचथर अस्पतालमा उपचार भइरहेको छ । आदिवासी जनजाति महासङ्घको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेको अवस्थामा माथिबाट झरेको पहिरोले उनीहरूलाई किचेको थियो ।

उता धनकुटाको पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ । पाख्रीबास–५ का सन्तोष तामाङको घरमाथिबाट पहिरो झर्दा पुरेर उनकी तामाङकी ३२ वर्षीय श्रीमती आशा तामाङ र सासू आमा ५० वर्षीय रामकुमारी तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा घाइते भएका छिमेकी २४ वर्षीय मिनमाया तामाङको उपचार भइरहेको प्रहरीले जनाइको छ ।

यसैगरी इलाममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। इलामको माई नगरपालिका–८ सेते खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो । खोलाले बगाएपछि घाइते अवस्थामा उद्धार गरिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

बाढीमा परेर झापामा ३ जना र मोरङमा १ जना बेपत्ता भएका रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ । मोरङको रतुवामाइ नगरपालिका ७ बस्दै आएका ७२ वर्षीय डुरोदेवी राजवंशी रतुवाखोला तर्ने क्रममा बेपत्ता भएकी हुन् ।

शुक्रवार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका १ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो ।

यसैगरी, गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हाम फालेर बेपत्ता भएका छन् । शुक्रवार अपराह्न करिब ४ बजे गौरीगञ्ज २ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कचनकवल गाउँपालिका १ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीय छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । अपराह्न करिब ४ः४० बजे सो घटनाबारे प्रहरीमा जानकारी आएको थियो । बेपत्ताको खोजी भइहरको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप