शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

सप्तकोसीमा पानी बढेको बढ्यै, ७ बजेको मापनअनुसार ५ लाख ७९ हजार क्युसेक

शनिबार, १२ असोज २०८१, १९ : ४८
शनिबार, १२ असोज २०८१

विराटनगर । सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम अझै रोकिएको छैन । साँझ ७ बजेको मापन अनुसार पानीको बहाव ५ लाख ७९ हजार ३९० क्युसेक पुगेको छ । यो सन् १९६८ भन्दा यताकै धेरै हो । 

सप्तकोसीमा पानीको बहाव बढ्दै जाँदा पुल माथिबाटै पानी बग्न थालेको छ । ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ । ब्यारेज क्षेत्रमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक मापन गरिएको थियो । भारतीय पक्षले कोसीमा बाढीको बहाव प्रतिसेकेन्ड ६ लाख ८१ हजार ६ सय ३९ क्युसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ ।

सप्तकोसी नदीको पानीको बहाव बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको छ । पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको सङ्केत दिइएको छ ।

आज बिहान साढे ८ बजेको मापनअनुसार कोसीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेन्ड थियो भने बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय १० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । पानीको बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसपासका बासिन्दाहरू त्रसित छन् । त्यहाँको तटबन्धमा कटान भइरहेको छ । भारतीय पक्षले ७ लाख क्युसेक बहाव पुग्ने अनुमान गर्दै सतर्क रहन आफ्ना जनतालाई सूचित गरेको छ ।

बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिवार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो । यदि विभागले जारी गरे अनुरूपकै स्थितिको जलसतह पुगेमा त्यसले नसोचेको ठुलो क्षति निम्त्याउने खतरा हुने बताइएको छ । 

बिहारले आफ्ना जिल्ला प्रशासनहरूलाई पनि सतर्क रहन र आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिएको छ । विशेषगरी, तटबन्धनजिक बसोबास गर्ने नागरिकहरूलाई सूचित गर्न र उचित कदम चाल्न भनिएको छ । साथै, बाढी प्रभावित क्षेत्रहरूमा नियमित गस्ती गर्न पनि निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप