शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक विपत्ति

विपत्ति ब्रिफिङ : उपत्यकामै बाढीको बितण्डा, देशभर कहाँ के भयो ?

सडकदेखि पुलसम्म क्षति
शनिबार, १२ असोज २०८१, १९ : २५
शनिबार, १२ असोज २०८१

काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण जनधनको ठुलो क्षति भएको छ । केन्द्रीय राजधानी काठमाडौँ उपत्यकामै पनि बाढी तथा पहिरोका कारण ३४ जनाले ज्यान गुमाएका छन् । यस्तै १५ जना घाइते र २१ जना बेपत्ता भएका छन् । 

काठमाडौँ उपत्यकाको बागमतीसहित सहायक खोलाहरुमा बाढी आउँदा नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको हो । बाढीले भौतिक संरचनामा समेत क्षति भएको छ ।  यस्तै हनुमन्ते खोलाले एउटा ग्यास बुलेट नै बगाएको थियो भने जसका कारण च्याल क्षेत्रमा दिनभर अर्को तनावको अवस्था सिर्जना भएको थियो । बुलेटबाट ग्यास चुहिएकाले जोखिम बढेपनि निरन्तरको वर्षा र पानीमा बुलेट भएका कारण थप घटना हुन पाएन । 

प्रहरीका अनुसार  बाढी पहिरो र डुबानका घटनाहरुबाट देशभर हालसम्म कुल ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  यस्तै ७२ जना बेपत्ता र ३६ जना घाइते भएका छन्। त्यसैगरी सडक, पुल, सार्वजनिक सम्पत्ति र व्यक्तिका निजी घर तथा आवासहरुमा क्षति पुगेको छ। 

विपद्को दुःखद घडीमा गृह मन्त्रालयले विज्ञप्तिमार्फत मृतकहरुप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रतिकूल मौसमका कारण हेलिकप्टरमार्फत उद्धार गर्ने कार्यमा भएको कठिनाईका बावजुद काठमाडौँ उपत्यका तथा देशका विभिन्न स्थानबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका जनशक्ति, स्थानीय स्वयंसेवक तथा गैरसरकारी संस्था समेतको सहयोगमा जोखिममा रहेका मानिसहरुको उद्धार कार्य भइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जल तथा मौसम विज्ञान विभागले आश्विन १० गतेदेखि आश्विन १३ गतेसम्म चार दिन भारी एवम् अति भारी मनसुनी वर्षा हुने पूर्वानुमान गरेको थियो । जस अनुसार गृह मन्त्रालय, मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत आश्विन १० गते आम सर्वसाधारणलाई सतर्क रहन, अति जरूरी अवस्थामा मात्र यात्रा गर्न, खोज तथा उद्धार र प्रतिकार्यको लागि सुरक्षा निकाय एवम् स्वयंसेवकहरुलाई तयारी अवस्थामा रहन सूचित गरेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ । 

साथै सम्भावित सडक दुर्घटनालाई न्यूनीकरण गर्न आश्विन ११ गतेदेखि सडकको अवस्था सहज नभएसम्म काठमाण्डौ उपत्यकाबाट बाहिरिने रात्रीकालीन सवारी साधनलाई रोक लगाइएको मन्त्रालयले जनाएको छ । यस्तै विभिन्न सडकखण्डहरुको अवस्था अद्यावधिक गरी जानकारी गराउनुका साथै स्थानीय प्रशासनबाट मौसमको अवस्थालाई मध्यनजर गरी अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न अनुरोध समेत गरिएको मन्त्रालयले जनाएको छ । 

आज बिहान गृहमन्त्री रमेश लेखकको उपस्थितिमा विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको वैठक बसी आश्विन १० गते यता विपद्को घटनाबाट भएको क्षतिको समीक्षा गर्दै प्रभावितहरुको खोज तथा उद्धार र राहतमा सबै सुरक्षा निकायहरु समन्वयात्मक रुपमा परिचालित हुन, खोज तथा उद्धारमा नेपाली सेनाको हेलिकप्टर लगायत केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरमा उपलब्ध सबै उपकरण र साधन प्रयोग गर्न, अवरुद्ध सडक अविलम्ब सञ्चालनमा ल्याउन, घाईतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन र प्रभावितहरुको पुनर्स्थापनाका लागि योजना बनाई कार्यान्वयन गर्न निर्देशन गरिएको मन्त्रालयले जनाएको छ । 

यस्तै केन्द्रीय सुरक्षा समितिको बैठक बसी गृहमन्त्रीबाट विपद्मा परेकाहरुको तत्काल खोज तथा उद्धार गर्न र राहत कार्यमा उच्च प्राथमिकताका साथ परिचालन हुन सबै सुरक्षा निकायहरुलाई निर्देशन भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । 

जल तथा मौसम विभागले आश्विन १३ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको हुनाले सबैलाई सतर्कता अपनाउन, जोखिमयुक्त अवस्थामा रहेकालाई सुरक्षित स्थानमा जान, सम्भावित जोखिममा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग र समन्वय गर्न, विपद्को घटना घटेमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ । 

निःशुल्क उपचारको व्यवस्था 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई वर्षा र बाढीबाट भएको विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई  निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ । 

शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै प्रादेशिक स्वास्थ्य, आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न आग्रह गरेका हुन् । 

देशभर २० हजार सुरक्षाकर्मी परिचालन
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विपदबाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भएको छ ।

पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।

सरकारको थप निर्णय
सरकारले सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।  शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।

अविरल परेको वर्षाका कारण विपद्मा परेका नागरिकलाई उद्धार र राहतमा सरकारले प्राथमिकतामा राखेको उनले बताए । साथै प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले विपद्मा परेर घाइतेहरू भएकाहरूलाई निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

मन्त्री गुरुङका अनुसार बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेको उपचार र निधन भएकाहरूलाई दिनुपर्ने राहत रकम नियम अनुसार प्रदान गर्ने निर्णय गरेको छ । 

त्यस्तै तत्काल र अविलम्ब अवरुद्ध सडक खोल्न भौतिक मन्त्रालयले पहल गर्ने तथा अवरुद्ध टेलिफोन र विद्युत् नियमित गर्न सम्बन्धित मन्त्रालयले पहल गर्ने निर्णय भएको मन्त्री गुरुङको भनाइ छ ।

सडक अवरुद्ध

 अविरल वर्षासँगैको पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध बनेका छन् । 

नेपाल प्रहरीका अनुसार उपत्यका प्रवेश गर्ने सडकहरु नै अवरुद्ध बनेका छन् ।  यस्तै कोशी प्रदेशमा ५, बागमतीमा २१, गण्डकीमा ४, लुम्बिनीमा ३ र कर्णालीमा १ राजमार्ग तथा सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

यस्तै अवरुद्ध भएका ५ वटा सडक भने खुलाइएको छ भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन् ।  सडकमा पहिरो खस्ता प्रमुख राजमार्ग पृथ्वीराज मार्गसहित प्रभावित बनेका छन् ।  यस्तै बाढीले कतिपय पुलहरु समेत बगाएको खबर छ । 

प्रशारणलाइन अवरुद्ध
काठमाडौँलाई‌ विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध भएको छ । तामाकोशी नदीले खिम्ती–लामासाँघु प्रसारण लाइनको ७ नं टावर बगाएको हो।  


यो १३२ केभीको प्रसारण लाइन हो । यसबाट विद्युत् आपूर्ति‌ बन्द भएपछि काठमाडौं उपत्यका प्रभावित बनेको छ। यो लाइन नबन्दासम्म काठमाडौँलाई बिजुली अपुग हुनेछ। यसले गर्दा विभिन्न स्थानमा पालो गरेर आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

त्यस्तै ढल्केबर-पथलैया प्रसारण लाइन पनि अवरुद्ध भएको छ। यसले गर्दा ढल्केबर पश्चिममा बिजुली आपूर्ति प्रभावित भएको छ।

सप्तकोशीमा अलर्ट
सप्ताकोशी नदीको बहाव बढ्दो क्रममा रहेपछि रेड अलर्ट जारी गरिएको छ । बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएका छन् । 

अहिलेको जलसतहको स्तर एकदमै खतरनाक भएको उल्लेख गरिएको छ । हाल त्यहाँको पानीको बहाव ५ लाख ६० हजार क्यूसेक मापन गरिएको छ । यसैबीच शनिबार साँझदेखि वर्षा केही कम हुँदै गएको छ भने केहीबाहेक अधिकांश नदीहरुमा बाढी पनि घट्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप