शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

गुरुकुलमा थुनिएका ३३ जनाको उद्धार

शनिबार, १२ असोज २०८१, १९ : १६
शनिबार, १२ असोज २०८१

सिन्धुली । बाढीका कारण थुनिएका सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनाको उद्धार गरिएको छ । उनीहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । 

सुनकोशी नदीको बीच भागमा अलपत्र परेका गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र मन्दिरका दुई पुजारीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उनीहरु शुक्रबार रातिदेखि सुनकोशीको बाढीमा फसेका थिए । सुनकोशी नदीको बाढी र रोशी खोलाको बाढी मन्दिर रहेको क्षेत्रमा पसेपछि उनीहरु बीच भागमा थुनिएका थिए ।  

मन्दिरको चारैतिर बाढी पसेपछि सुरक्षित स्थानमा जान नसकेका गुरुकुलका सबैजनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए । मन्दिर परिसरमा थुनिएकाहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले शुक्रबारदेखि नै प्रयास गरेको उहाँले बताए । उनीहरुले उद्धार गर्न नसकेपछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर मगाउनुपरेको प्रजिअ शर्माले बताए । 

रोशी र सुनकोशी नदीको बाढीले सुनकोशी–५ मुल्कोट र गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार समेत डुबानमा परेका छन् । दुम्जाका पाँच घर बाढीले बगाएको छ । दुम्जा र नेपालथोक बीचको बिपी राजमार्गको केही भाग बाढीले बगाएको छ । अहिले सो क्षेत्रमा यातायात सेवा बन्द छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप